प्रसूतिमा मनोस्वास्थ्य ओपीडी र न्यु बर्न स्क्रिनिङ सेवाको स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

प्रसूतिमा मनोस्वास्थ्य ओपीडी र न्यु बर्न स्क्रिनिङ सेवाको स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ ।

अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

आजबाट सुरु भएको सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनिवार्य रूपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरुवात गर्नु राम्रो पक्ष रहेको बताए ।

‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने,‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्त्वपूर्ण छ ।’ प्रसुति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरू सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको बताउँदै मन्त्री पौडेलले यो शुरुवात त्यसैको एक कडी भएको उल्लेख गरे ।

अस्पतालले २० शय्या आइसीयू थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास गरे । मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरेका छन् ।

मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी वहिरंग सेवाको समेत उद्घाटन गरे । उनले भने, ‘मातृशिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौँ । सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ । म यस क्षेत्रमा क्रियाशील सबैलाई सहकार्यका लागि आग्रह गर्दछु ।’

नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि सेवा सुरु गरिएको छ । अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुहरूमा यो परीक्षण गरिसकेको छ । नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ । उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ ।

उक्त परीक्षणबाट हाल छ वटा वंशाणुगत रोगहरू पहिचान गर्न सकिने र भविष्यमा थप साधन स्रोत थपेर अरू रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य छ । परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार सुरु गरिनेछ ।

Logo