तरुल, चाकु, लड्डु र फुलौरा खाँदाका फाइदाहरु

तरुल, चाकु, लड्डु र फुलौरा खाँदाका फाइदाहरु

केन्द्रबिन्दु
0
Shares

आज माघे संक्रान्ति अर्थात माघ महिनाको पहिलो दिन । माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।

आजको दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिएको हो । सुर्यको उदय दक्षिणबाट उत्तरतिर सर्ने भएकोले उत्तरनारायण सुरु हुन्छ । आजको दिनबाट जाडो घट्दै जाने र गर्मी बढदै जाने मान्यता छ ।

माघे संक्रान्ति नेपालभरी विभिन्न पवित्र मठ मन्दिरमा रहेको नदीहरुमा स्नान गरी पूजाआजा गरेर घिउ, चाकु, तिलको लड्डु, उसिनेको तरुल आदि खाने चलन छ । जाडो महिनामा पर्ने यो पर्वमा स्नान गरी यि खानेकुरा खाएमा शरिरमा गर्मीको मात्रा बढेर तागत बढ्ने र शरिरमा तेल लगाउँदा शरिरमा छाला सम्बन्धी अन्य रोगहरु नष्ट हुने विश्वास गरिन्छ ।

यसको पछाडि वैज्ञानिक आधार पनि छ । जाडोको मौसममा शरिरमा गर्मीको आवश्यकता पर्छ । माघे संक्रान्तिमा खाइने खानेकुरामा प्रशस्त मात्रामा पौष्ट्रिक तत्व पाइने भएकाले स्वास्थ्यको हिसाबले पनि निकै राम्रो मानिन्छ ।

चाकु

माघे संक्रान्तिमा खाइने मुख्य परिकार हो चाकु । चाकुमा सुक्रोज ५९.७ प्रतिशत, ग्लुकोज २१.८ प्रतिशत, खनिज २६ प्रतिशत तथा जल अंश ८.८६ प्रतिशत हुन्छ । यसका साथै चाकुमा क्याल्सियम, फोस्फोरस र आइरन जस्ता तत्व प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरिरमा गर्मी पैदा गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउछ । चाकु खाँदा जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । यसको सेवनले भोक लाग्नुको साथै शरिरमा रगत पनि बढाउँछ । यसको अतिरिक्त कब्जियत, पेटको दुखाई, सुजन र खानेनलीमा पोल्ने आदिबाट छुटकारा मिल्छ ।

तिलको लड्डु

चिसो मौसममा जाडोले धेरै प्रकारको समस्या निम्ताउछ । जाडोमा एसिडिटीले सताउँछ । माघे संक्रान्तिमा खाइने तिलको लड्डु जति स्वादिष्ट हुन्छ त्यति नै हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ । तिलमा सख्खर मिसाएर बनाइन्छ । जाडोको मौसममा विभिन्न समस्याले सताउने भएकोले तिलको लड्डु खानु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसमा फाइबर धेरै मात्रामा पाइन्छ । जसले गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ । साथै पेटको लागि पनि राम्रो मानिन्छ । सख्खरमा पर्याप्त मात्रामा फाइबर पाइछ ।

तिलमा चिल्लो प्रचुर मात्रामा पाइन्छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स र कार्बाेहाइड्रेट जस्ता तत्व पाइन्छ । यसका साथै सेसमिन एन्टिअक्सिडेन्ट हुन्छ जुन केही रोगहरु निको पार्न मद्दत गर्छ । तिलमा सख्खर मिसाएर बनाइन्छ जसले गर्दा यसको फाइदा दोब्बर हुन्छ । तिलको लड्डुको सेवनले रगत शुद्धिकरण गर्नुको साथै ब्लड प्रेसर पनि नियन्त्रण गर्छ ।

फापरको फुलौरा

त्यस्तै माघे संक्रान्तिमा खाइने अर्को परिकार हो फापरको फुलौरा । फापरमा म्याग्नेसियम, क्याल्सियम, ट्रिप्टोफेन, फोस्फोरस, फाइबर, भिटामिन बी र एन्टी अक्सिडेन्ट पाइन्छ । जुन शरिरको लागि एकदमै जरुरी हुन्छ । जसले गर्दा कब्जियत, ग्याष्ट्रिक जस्ता समस्याबाट छुटकारा मिल्छ । पाचन प्रक्रिया पनि बलियो हुन्छ ।

तरुल

तरुल कन्दमुल रेसादार खाद्यपदार्थ हो । त्यसकारण यसका प्रशस्त फाइबर पाइन्छ । जाडोमा यसको सेवन एकदमै लाभदायक मानिन्छ । यसमा प्रोटिन, मिनिरल, कार्बोहाइड्रेट र विभिन्न प्रकारको भिटामिन पाइन्छ । माटोमूनि फल्ने भएकोले यसमा ग्लुकोजको मात्रा पनि हुन्छ । छाला तथा स्वास प्रश्वास सम्बन्धी समस्यामा तरुलको सेवनले फाइदा गर्छ । यसमा भिटामिन बी प्रशस्त मात्रामा पाइने भएकाले मुटु सम्बन्धी समस्याबाट पनि जोगाउँछ । यसमा भएको कार्बोहाइड्रेटले गर्दा शरिरमा ऊर्जा दिन्छ त्यसैले यसलाई शक्तिवद्र्धक खानेकुराको रुपमा लिइन्छ । । यसका साथै तरुलमा पाइने एन्टी अक्सिडेन्टले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्छ ।

खिचडी

माघे संक्रान्तिमा खाइने अर्को परिकार हो खिचडी । मासको दाल, घिउ र चामल मिसाएर बनाइएको यो परिकार निकै स्वादिलो हुन्छ । खिचडीले शरिरमा गर्मीको मात्रा बढेर तागत दिने भएकोले यसको सेवन स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक मानिन्छ । यसका प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।

Logo