यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

केन्द्रबिन्दु
0
Shares

उमा केसी/रोल्पा । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् ।

पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयवस्तु अध्यापन गराउन निकै धक लाग्थ्यो नेपाल राष्ट्रिय माविका स्वास्थ्य शिक्षक महेन्द्रराज रोकाले भने, “अधिकांश कक्षामा स्वास्थ्य अध्ययनका लागि त्यस्ता विषय विद्यार्थीलाई नै जिम्मा दिइन्थ्यो” शिक्षक रोकाले भने ।

“विद्यालयलाई किशोरीमैत्री बनाएसँगै त्यस्ता विषयको पठनपाठन पनि सहज भएको छ’’ रोकाले भने । ‘अझै पनि जति खुलेर छलफल हुनुपर्ने हो त्यसो हुन नसकेको उनको भनाइ छ ।

किशोरी शिक्षा सञ्चालन भएपछि यौन तथा प्रजनन स्वास्थ्यका साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको किशोरी समूह सहजकर्ता युवती थापाको भनाइ छ । ‘‘किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको ज्ञान हुनुको साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको छ’’ थापाले भनिन् ।

समाजमा हुने बालविवाह, घरेलु तथा लैङ्गिक हिंसाका घटना न्यूनीकरणमा समेत यस्ता समूहले राम्रो भूमिका खेलेका उनको भनाई छ । सोही विद्यालयको कक्षा ६ र ७ मा अध्ययन गर्ने छ जना विद्यार्थीले गतवर्ष बालविवाह गरेको बताउँदै किशोरी शिक्षा कार्यक्रमपछि बालविवाहको दर पनि कम भएको बताईन् ।

स्वास्थ्य चौकीमा आउने किशोरीले आफ्ना स्वास्थ्य समस्या निर्धक्कसँग राख्न थालेको स्वास्थ्य चौकी खुमेलका अहेब विवेक बुढामगरको भनाइ छ । ‘‘विगतमा यौन तथा प्रजनन स्वास्थ्य समस्या हुने किशोरी स्वास्थ्य चौकी आउँदैनथे’’ अहेब बुढाले भने । अहिले दैनिक एक, दुईजना किशोरी प्रजनन स्वास्थ्यबारे जानकारी लिन स्वास्थ्य संस्थामा आउने गरेको बुढाको भनाइ छ ।

‘‘किशोरी खुलेर स्वास्थ्य समस्या राख्न थालेपछि उपचारमा समेत सहजता भएको छ’’ अहेब बुढाले भने । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोष (युनिसेफ) को सहयोगमा जिल्लाका विभिन्न स्थानमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाका दुबिडाँडा, डुब्रिङ, खुङ्ग्री, खुमेल, रांँकोट,राँसी, कोटगाउँ र लिवाङमा किशोरी शिक्षा सञ्चालन भएको युनिसेफका रोल्पा प्रतिनिधि खगेन्द्र भट्टले जानकारी दिए ।

कार्यक्रम सञ्चालन भएका क्षेत्रका किशोरीमा यौन तथा प्रजनन स्वस्थ्य अवस्था सुधारात्मक रहेको भट्टको भनाइ छ । जिल्लामा किशोरीमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावमा ठूलो मात्रामा बालविवाह हुने गरेको छ ।

जिल्लामा अघिल्लो आवको सात महिनामा गरिएको गर्भवती जाँच गराउने ४७८ जना २० वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका वरिष्ठ अनमी नैना डाँगीले जानकारी दिए । सोही अवधिमा भएका गर्भपतनमध्ये २६ वटा २० वर्षमुनिका किशोरी रहेका छन् ।

अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि बृद्धि भईरहेको उनको भनाई छ । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने किशोरीको सङ्ख्या ५५३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि प्रहरी समक्ष उजुरी गर्नेको सङ्ख्या भने नाम मात्रको छ । प्रहरी कार्यालयमा वर्षमा १,२ वटा मात्रै उजुरी आउने गरेको बताइन्छ । रासस

Logo