तपाईले नियमित दाँत माझ्नुहुन्छ ? नत्र यस्ता गम्भिर समस्या देखापर्छन्

तपाईले नियमित दाँत माझ्नुहुन्छ ? नत्र यस्ता गम्भिर समस्या देखापर्छन्

केन्द्रबिन्दु
0
Shares

अध्ययन भन्छ, दिनमा बिहान र बेलुका गरि कम्तिमा पनि २ पटक दाँत माझ्नुपर्छ । दैनिक खाना खाइसकेपछि दाँत सफा गर्नुपर्ने भएपनि, ब्यस्त दैनिकी र अल्छिपनाले गर्दा त्यसो हुन सकेको छैन् ।

तर हामीलाई थाहा छैन् की दाँत सफा गर्दा वा नगर्दाको असर समग्र स्वास्थ्यमा परिरहेको हुन्छ ।

दाँतको नियमित सफाइले स्वास्थ्यका धेरै जोखिमबाट जोगाउँछ । दाँत सफा नगर्दा हामीले दाँत बिगारिरहेका मात्र हुँदैनौं स्वास्थ्य सम्बन्धी धेरै जोखिम लिइरहेका हुन्छौं ।

गिजासम्बन्धी रोग र दाँत बिग्रने

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र नभएर गिजा सम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । कुनै कुनै केसमा त किराले दाँत प्वाल पार्नेमात्र होइन दाँतलाई जरासम्म जोड्ने हाडसमेत नष्ट हुन्छ ।

ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ, अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ र इन्फेक्सन हुन्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ । 

मधुमेह

दाँतको नियमित सफाइ नगर्दा मधुमेहजस्तो गम्भीर दीर्घकालीन अवस्था उत्पन्न हुनसक्छ । जर्नल अफ अमेरिकन डेन्टल एसोसिएसनमा प्रकाशित एउटा अध्ययनले गिजासम्बन्धी रोग र मधुमेहबीच सम्बन्ध रहेको पत्ता लगाएको छ।अध्ययनले एउटा भएका कारणले अर्को हुने भनेर ठोकुवा नै गरेको छैन । तर गिजासम्बन्धी रोगबाट ग्रस्त व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने उक्त अध्ययनले देखाएको छ । यसैले पनि दाँत र गिजामात्र होइन, मधुमेहबाट जोगिन पनि दाँत र मुखको नियमित सफाइ महत्वपूर्ण छ।

मुटुसम्बन्धी रोग

मुख र दाँत सफा नगर्दा मुटुसम्बन्धी रोग लाग्छ भन्यो भने तपाईं पत्याउनु हुन्नहोला । तर यो सत्य हो । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र दाँत सफा नगर्नुबीच सम्बन्ध छ । दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया हाम्रो शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न सक्छ, जस्तो कि रोग प्रतिरोधी प्रणाली कमजोर हुन सक्छ । मुख र दाँत सफा नहुनुको परिणामस्वरुप मुटुसम्बन्धी रोग, मस्तिष्कघात र अल्जाइमर्स डिजिज लाग्न सक्छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु मुटुसम्बन्धी रोगबाट हुन्छ भने पाँचौं नम्बरमा अल्जाइमर्स पर्छ । त्यसैले यस्ता रोगबाट जोगिन पनि दाँत सफा गर्नु आवश्यक छ ।

दुर्गन्धित सास

दाँत सफा नगर्दा हामीले दाँतमा फोहोर थुपारेर ब्याक्टेरिया उत्पन्न हुने र दाँत सड्ने उपयुक्त वातावरण बनाइराखेका हुन्छौं । हामीले हरेकपल्ट भोजन गर्दा खानेकुराका ससाना टुक्रा दाँतमा अड्किन्छन् । दाँत सफा नगर्दा केही समयपछि कुहिन्छन् र केही समयपछि कडा भएर क्यालकुलस बन्छन्, यो फोहर हामीले ब्रस गर्दा सफा हुँदैन र डेन्टिस्टकोमा नै पुग्नुपर्छ।यसरी दाँतमा जम्मा हुने फोहले हाम्रो सास दुर्गन्धित बनाउँछ । दाँत सफा गर्नाले दुर्गन्धित सासबाट पनि छुट्कारा पाइन्छ।

गिजा सुन्निने

दाँत सफा नगर्दा लाग्ने दाँत र मुखसम्बन्धी रोगअघि गिजामा विभिन्न समस्या देखिन्छन् । गिजा दुख्ने, सुन्निने र रगत आउनेजस्ता समस्या सुरु हुन्छन् ।
दाँत, गिजा र मुखका टिस्युको स्याहार गर्नु हाम्रो समग्र स्वास्थ्य ठिक राख्नका लागि धेरै महत्वपूर्ण हुन्छ । गिजासम्बन्धी समस्या जिन्जिभाइटिस सुरु भयो भने यसले निकै दुःख दिन्छ र यसबाट मुक्त भएर पूर्ण स्वस्थ्य हुन निकै कठिन हुन्छ ।

इनामेल खिइने र दाँत पहेंलो हुने

हाम्रो दाँतको बाहिरी तह इनामेल दाँत जोगाउन महत्वपूर्ण भूमिका रहन्छ । दाँत सफा नगर्दा दाँतमा जम्मा हुने भोजनका कण कुहिएर फोहर जम्मा हुन्छ र ब्याक्टेरिया उत्पन्न हुन्छ । यसले इनामेल खियाउँछ र जति इनामेल खिइँदै जान्छ, त्यति नै दाँत पनि बिग्रँदै जान्छ । उपचार पनि कठिन हुँदै जान्छ ।
दाँत सफा नगर्दा हामीले खाएका खानेकुरा र पेय (चिया, कफी, वाइन, मदिरा, चिनी मिसाइएका पेयलगायत) का ससाना कण दाँतमा टाँसिन्छन् । यसले हाम्रा सेता दाँत पहेंला हुन्छन् । खैनी, धुमपान गर्दा सूर्तिमा हुने निकोटिनले पनि दाँत पहेंलो बनाउँछ ।

मस्तिष्कघात

दाँत सफा नगर्दा उत्पन्न हुने प्लेक रक्त प्रवाहमा प्रवेश गरेपछि रक्त नलीमा समेत प्लेक जम्मा हुन्छ । यसले मस्तिष्क र मुटुमा रक्त प्रवाहमा अवरोध गर्छ । फलस्वरुप मस्तिष्कघात र हृदयघात हुनसक्छ।

समय नपुगी बच्चा जन्मने

दाँत सफा गर्नु गर्भवतीका लागि अझ बढी महत्वपूर्ण छ । किनभने गर्भवतीले दाँत सफा नगर्दाको असर गर्भमा समेत पर्छ । दाँत सफा नगर्नुको असर गर्भको बच्चाको वजन थोरै हुने, समय नै नपुगी जन्मने र हुनुपर्नेजस्तो शारीरिक विकास हुँदैन । स्वास्थ्य खवर

Logo