खवरदार ! फस्नु होला सिभिल हस्पिटलमा

खवरदार ! फस्नु होला सिभिल हस्पिटलमा

केन्द्रबिन्दु
0
Shares

एस. के. बैश्य

सिभिल हस्पिटल (बानेश्वर) लाई यदी तपाईंले सरकारी अस्पताल भनेर सस्तोमा उपचार हुन्छ भन्ने सोच्नु भएको छ भने तपाईं फस्ने पक्का छ । किनभने यस अस्पतालमा निजी अस्पतालकोभन्दा बढी शुल्क निर्धारण गरिएको छ । साथै विरामीलाई अनावश्यक रुपमा औषधि खरिदगर्न लगाएर मारमा पारिन्छ पनि ।

सिभिल हस्पिटलमा भर्खरै प्रसुति सेवा लिएकी सिन्धुली ढुंग्रेबासकी जुनु पोखरेल, २३ ले चार दिनमा ७० हजारभन्दा बढी अस्पतालले खर्च गराएको वताईन् । बिल देखाउँदै उनले भनिन्– ‘अप्रेसन चार्ज मात्रै २२ हजार ५ सय लाग्यो ।’ त्यसैगरी अप्रेसन गर्न आवश्यक सामाग्री र औषधीहरुको पनि छुट्टै बिल देखाइन् उनले । ‘इमरजेन्सी’ अप्रेसन नगराएको पनि उनले स्पष्ट पारिन् । (सम्पूर्ण प्रमाण्हरु केन्द्रबिन्दु डटकमसँग सुरक्षित छ) ।

त्यसैगरी भक्तपुर गठ्ठाघरमा पसल गरेर बसेका सुमित खड्काले पनि छोरी जन्मिएकोवेला सिभिल हस्पिटललाई ७० हजारभन्दा बढी रकम बुझाएको बताए । उनका अनुसार प्रसुुतीको क्रममा अस्पतालले आवश्यकताभन्दा बढी औषधी तथा सामाग्री खरिद गर्न लगाउँछ । जुनुले भनिन् –‘सरकारी भनेर उपचार गर्न आउनेहरु सवै फसिरहेका छन् ।’

सवैभन्दा महंगो सिभिल
यस विषयमा परोपकार प्र्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा सम्पर्क गर्दा त्यहाँकी उपप्रशासक रानु थापाले भनिन् ‘नर्मल वा अप्रेसन जे गरेपनि यहाँ निशुल्क हुन्छ ।’ उनले प्रसुतीको लागि आउने महिलाकोलागी आवश्यक पर्ने औषधीहरुको ब्यवस्थाा पनि अस्पतालले निशुल्क रुपमा गर्ने गरेको बताईन् । साधारण बेडमा बसेको चर्जा नलाग्ने तर क्याविनको बेडमा बसेको भने निश्चित चार्ज लाग्ने गरेको उपप्रशासक रानुले जानकारी गराइन् ।

थापाथलीको प्रसुती अस्पताल अपवाद हो । तर नामी अस्पतालभन्दा सिभिल हस्पिटल निकै महंगो देखिएको छ ।

सिभिल हस्पिटलले प्रसुती अप्रेसनकोलागी डाक्टरको चार्ज मात्र २२ हजार पाँच सय शुल्क असुल्छ भने शिक्षण अस्पताल महाराजगञ्जले ११ हजार ५ सय मात्र शुल्क तोकेको छ । यसै विषयमा शिक्षण अस्पताल महराजगञ्जमा सम्पर्क राख्दा त्यहाँका ‘सिनियर मेडिकल अफिसर’ कुमार केसीले नर्मल प्रसुती हुँदा प्रसुती गर्ने बेलामा आवश्यक पर्ने चिजबस्तु सहित ४ हजार र अपरेशन गरेर प्रसुती गराउँदा ११ हजार ५ सय खर्च लाग्ने बताए । ११ हजार ५ सय बुझाएपछि सामाग्री खरिदकोलागी थप रकम बुझाउन नपर्ने पनि केसीले प्रष्ट पारे ।

त्यसैगरी प्रदर्शनी मार्गमा रहेको निजी अस्पताल ‘काठमाण्डौँ मोडेल अस्पताल’भन्दा पनि सिभिल अस्पताल नै महंगो रहेको छ । मोडेल अस्पतालका ‘एडमिसन डिसचार्ज’ शाखाकी रेणु ढंगेलका अनुसार नर्मल प्रसुती हुँदा आवश्यक पर्ने सामाग्री तथा बेड चार्ज सहित ७ हजार ५ सय र अपरेशन गरेर प्रसुती गराउँदा २२ हजार खर्च लाग्ने छ ।

यसै विषयमा हामीले सिभिल अस्पतालमा सम्पर्क राख्दा त्यहाँकी प्रशासनन शाखाकी अधिकृत रञ्जना नेपालले अप्रेसन चार्ज २२ हजार ५ सय लाग्ने स्वीकारिन् । भनिन् – ‘रुटिङ नभएको दिनमा मात्र २२ हजार ५ सय हो ।’ उनलाई हामीले सोध्यौ, रुटिङ चाहिं कहिले हो ? उनका अनुसार मंगलबार र शुक्रबार मात्र रुटिङ हो । अर्थात ७ दिनमा ५ दिन महंगो र दुई दिन चाहिं सस्तो अर्थात १५ हजारमा हुने उनले जानकारी दिइन् । सिभिल हस्पिटलमा मंगलबार र शुक्रबार मात्र नियमित रुपमा प्रसुतीको लागी चिकित्सकहरु खटिएका हुन्छन् ।

सिभिल हस्पिटल सञ्चालनको लागि बोर्ड सदस्यहरु प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव लोक दर्शन रेग्मी, न्याय कानुन तथा संसदीय ब्यवस्था मन्त्रालयका सचिव कमल शाही घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा.किरण रेग्मी, समान्य प्रशासन मन्त्रालयका सचिव शंकर प्रसाद कोईराला, अर्थ मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र कार्यकारी निर्देशक डा. दिर्घराज आरसी रहेका छन् ।

सिभिल हस्पिटलको बोर्डमा सरकारकै मूख्यसचिव देखि सचिवहरुको भिडभाड रहेको छ । यस अस्पतालको भवन चीन सरकारले वनाइदिएको हो । तैपनि किन विरामीहरु माथि लुटपाट ? यस सम्बन्धमा सिभिल हस्पिटल प्रशासनको जवाफ छ, ‘यो महंगो होइन ।’ तर तुलनात्मक रुपमा हेर्दा यो अस्पताल निजीभन्दा महंगो देखिएको छ । सरकारी अस्पताल भनेर विरामी आइरिने तर निजीभन्दा महंगो शुल्क बुझाउनु पर्ने भएकाले सेवाग्राही फसेका फसै हुन्छन् ।

Logo