१७ जिल्लामा डेंगुको संक्रमण, बिरामीे संख्या २१० पुग्यो

१७ जिल्लामा डेंगुको संक्रमण, बिरामीे संख्या २१० पुग्यो

केन्द्रबिन्दु
0
Shares

एस.के. बैश्य । काठमाडौं, २२ असोज ।

गत साउन यता तराई तथा पहाडका विभिन्न जिल्लामा डेंगुको संक्रमणसँगै बिरामीको संख्या बढ्दै गएको छ । तराई ८ तथा पहाडका ९ गरी १७ जिल्लामा डेंगु रोगको संकक्रण देखा परेको डेंगु रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगु संक्रमणबाट प्रभावित हुने पहाडी जिल्लाहरू धादिङ, गुल्मी, गोरखा, बागलुङ्ग, काठमाडौं, अछाम, दाङ्ग, कास्की र भक्तपुर गरी ९ वटा हुन । त्यसैगरी रुपन्देही, सर्लाही, महोत्तरी, बारा, नवलपरासी, कपिलवस्तु, चितवन र रुपन्देही गरी तराईका ८ वटा जिल्लामा संक्रमित पाइएका छन् ।

सबैभन्दा बढी प्रभावित बिरामी सर्लाही तथा महोत्तरीमा देखापरेका छन् भने सबैभन्दा कम बिरामी काठमाडौं तथा भक्तपुरमा छन् ।

सर्लाहीमा १ सय ७, महोत्तरीमा ४८, धदिङमा २५, चितवनमा १२, दाङ्गमा ४, बारामा २, नवलपरासीमा २ तथा झापा, कास्की, अछाम, गोरखा, कपिलवस्तु, गुल्मी, बागलङ्ग, रुपन्देही, काठमाडौं, भक्तपुरमा १-१ गरी जम्मा २ सय १० जनामा संक्रमण देखिएको डेंगु रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले बताए । निरीक्षक प्याकुरेलले अक्टुबर ६ सम्म उपलब्ध तथ्यांक उपलब्ध गराएका हुन् ।

डेंगु प्रभावित अधिकांश जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयले सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेको छ । सो अभियानअन्र्तगत खाल्डाखुल्डी पुर्ने, पानी जम्ने ठाउँमा लामखुट्टे बढी मात्रामा हुने हुनाले त्यस्तो ठाउँको खोजतलास गरी लामखुट्टे नष्ट गर्ने लगातय चेतनामूलक कार्यक्रम संचालन भइरहेको महाशाखाले जनाएको छ ।

वर्षा मौसमको अन्त्यतिर तराई तथा पहाडका जिल्लाहरूमा डेंगुको प्रकोप बढ्ने गर्छ । डेंगुकै कारण गत वर्ष २ जनाको ज्यान गएको थियो भने यस वर्ष अहिलेसम्म कसैको ज्यान नगएको महाशाखाले जनाएको छ ।

के हो डेंगु रोग ? कसरी सर्छ ?

डेंगु भाइरसद्वारा लाग्ने संक्रामक रोग हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेंगु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेगु भाइरस १, २, ३, ४ भनिन्छ । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरू हुन्छन् । त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ । एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगु सर्छ । यो लामखुट्टेको टोकाइबाट डेंगुबाहेक चिकनगुनिया, जिका लगायतका संक्रमण हुने गर्छ ।

यस्तो लामखुट्टेले जम्मा भएको पानीमा अण्डा पार्छ । र त्यहीँबाट निस्केको लामखुट्टेले टोकेमा मानिसलाई डेंगु सर्ने गर्छ । डेंगु एक व्यक्तिबाट अर्का व्यक्तिमा सजिलै सर्ने हुँदा विशेष सजगता अपनाउन जरुरी छ । ।

लक्षण तथा चिन्हहरू

डेंगु भाइरस संक्रमणपश्चात् कतिपयमा कुनै लक्षण तथा चिन्ह नै नदेखिने पनि हुन सक्दछ । लक्षण तथा चिह्न देखिएकामा पनि कसैलाई साधारण ज्वरो मात्र आउने गर्दछ भने कसैलाई रगत नजम्ने जटिलता हुन्छ । कसैको चाहिँ यस्तो स्थितिमा पुगेर मृत्युसमेत हुने गर्दछ । विश्व स्वास्थ्य संगठनले डेंगु संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ ।

साधारण प्रकारको डेंगु ज्वरोमा अत्यधिक १०३–४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, छालामा रगत जमेका राता खटिराहरू देखिने गर्दछन् । कसै–कसैमा थप जटिलताहरू उत्पन्न हुन सक्दछन् । जसमा विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ । प्लेटलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो ।

अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आफै रगत बग्न थाल्दछ । जस्तो– नाक, गिजा आदि । पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, कालो दिसा हुने, पिसाबको मात्रा कम हुने, श्वास फेर्न गाह्रो हुने हुन्छन् । डेंगु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्यधिक ज्वरो आउँछ । त्यसपछिका चौथो र ५औँ दिन अति नै संवेदनशील दिनहरू हुन् । क्रमशः रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन जान्छ, जसमा बिरामीका अंगहरूले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ तर यसपछिका छैठौंदेखि दशौं दिनभित्रमा पुनः साधारण जीवन प्रक्रियातर्फ फर्किन थाल्दछ ।

डेंगुका मुख्य लक्षण

–२ देखि ७ दिन सम्म धेरै ज्वरो आउने

–आँखाको गेडी, जोर्नी तथा ढाड दुख्ने

–टाउको दुख्ने

–बिमिरा आउने

–जीउ गल्ने

–शरीरका विभिन्न ठाउँबाट रगत बग्ने

डेंगुबाट बच्ने उपाय

– थोरै र सफा पानी जम्न सक्ने भाँडाहरू, जस्तो ः गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन ।

– गमलाहरूमा रहेको पानीलाई हप्ताको दुईपटक परिवर्तन गर्नुपर्दछ ।

– पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ । दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरू प्रयोग गर्नुपर्दछ ।

– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ । उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ ।

– घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ । घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्दछ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ ।

 

Logo