स्ट्रेस म्यानेजमेन्ट टिप्स : यसरी गरौं तनाव नियन्त्रण

स्ट्रेस म्यानेजमेन्ट टिप्स : यसरी गरौं तनाव नियन्त्रण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ भदौ ।

धेरै रिस उठ्नु, आवेगमा आउनु, तनावग्रस्त हुनु आफैंमा यस्तो भावनात्मक समस्या हो, जसले हाम्रा इन्द्रीयहरूमाथि नकारात्मक असर पुर्याउँछ ।

आफ्नो रिसलाई काबुमा राख्नु भने जति सजिलो छैन । आफ्नै इन्द्रीयमाथि नियन्त्रण राख्न नसक्दा यति कमजोर हुन्छौ, रिसले हामीलाई जित्छ । रिस हाम्रो इन्द्रियमाथि हावी हुन्छ । नतिजा, जस्तोसुकै हर्कत गर्न हामी पछि पर्दैनौं ।

हामी भन्छौं, रिसाउनु हुन्न । शान्त रहनुपर्छ । तर, कसरी ?

आफैंमाथि ध्यान केन्द्रित गर्नुहोस्
जब रिस उठ्छ, चिन्ता हुन्छ वा मन दुःखी हुन्छ, त्यसबेला आफ्नो ध्यान आफ्नै शरीरमाथि लगाउनुहोस् । त्यस्तो अवस्थामा तपाईंको शारीरिक प्रतिक्रिया के हुन्छ ?
रिस उठेको बेला हामी झगडा गर्न उक्सन्छौं । शरीरमा यस्तो हार्मोन उत्सर्जन हुन्छ, जसले मुटुको धड्कन तीव्र बनाउँछ, श्वासप्रश्वासको गति तीव्र बनाउँछ । मांसपेशीमा तनाव पैदा गर्छ र रक्तनलीलाई कसिलो बनाउँछ ।

आफैंलाई तनावमा धकेल्ने हरेक चिजबाट टाढै रहनुहोस् र शरीरले कस्तो अनुभव गरिरहेको छ त्यसमा ध्यान लगाउनुहोस् ।

तर, आफ्नो अनुभवलाई आँकलन नगरौं, केवल स्वीकार गरौं । उदाहरणका लागि, यदि तपार्इं कुनै कुरालाई लिएर आवेगमा आउनुभयो भने, तपाईंको मुटु तीव्र गतिमा धड्किन थाल्छ, अनुहार रातोपिरो हुन्छ । यी सारा अनुभवलाई स्वीकार गर्नुहोस् । तर, यसलाई ‘सही’ वा ‘गलत’को तराजुमा तौलनु हुँदैन ।

तपाईं जे गरिरहनुभएको छ, त्यसलाई त्यहीँ छाड्नुहोस्

स्वयमलाई शान्त राख्ने एउटा काइदा के हो भने तपाईं जे गरिरहनुभएको छ त्यो छाडिदिनुहोस् । एकछिन ब्रेक लिनुहोस् । र, त्यस्तो स्थानमा जानुहोस् वा त्यस्तो काममा मोडिनुहोस् जसले तपार्इंलाई पूर्ववत् अवस्थाबाट टाढा लान्छ । त्यहाँ तपाईंले आफ्नो ध्यान अन्यत्रै मोड्न सक्नुहुनेछ ।

हल आफैंभित्र खोज्नुपर्छ
अतः आफ्नो रिस नियन्त्रण गर्न बाहिरी उपायहरू खोजेर हुँदैन, त्यसको हल आफैंभित्र खोज्नुपर्छ । जब रिस उठ्छ, त्यतिबेला गहिरो एवं लामो सास लिने गर्नुस् । र, आफ्नो सम्पूर्ण ध्यान श्वासप्रश्वासको गतिमा केन्द्रित गर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको राम्ररी प्रवाह हुन पाउँछ र मन एवं मस्तिष्कमा आराम मिल्छ ।

आफूलाई सासको लयमा ध्यान केन्द्रित गर्ने गर्नोस् । जब सास भित्र लिनुहुन्छ, सुन्दर प्रकाशको परिकल्पना गर्नुहोस् ।

आफ्नो मांसपेशीलाई आराम दिनुहोस्
जब कुनै तनाव वा भावनात्मक प्रतिक्रिया उत्पन्न हुन्छ, तब तपाईको मांसपेशीमा पनि तनाव पैदा हुन्छ । आफ्नै शरीरमा पीडा अनुभव गर्नुहुनेछ । त्यसैले शरीरलाई तनावमुक्त गर्नका लागि मांसपेशीलाई आरामपूर्ण अवस्थामा राख्नुहोस् । यसका लागि शान्त स्थान चाहिन्छ । (एजेन्सीको सहयोगमा)

 

Logo