व्रत बस्दा ग्यास्ट्रिक हुनसक्छ, यस्तो छ उपचार विधि 

व्रत बस्दा ग्यास्ट्रिक हुनसक्छ, यस्तो छ उपचार विधि 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ साउन ।

साउन महिनामा व्रत बस्ने गरिन्छ । यसलाई आडम्बर वा लहडको रूपमा बुझ्नु हुँदैन । व्रतको आफ्नै विशिष्ट महत्व छ, त्यो पनि साउनमा । त्यसो त अन्य समय पनि व्रत बस्नु राम्रो हो । यसको आफ्नै आध्यात्मिक महत्व छ । सामाजिक एवं सांस्कृतिक महत्व छ । आत्मिक महत्व र शारीरिक महत्व पनि छ । 

के हुन्छ व्रत बस्दा ? व्रत बस्नु भनेको खाना नखाई वा भोकै बस्नु भन्ने होइन । व्रत बस्नु विधिपूर्वक गरिने त्यस्तो क्रिया हो, जसले शरीर र मनलाई एकसाथ विश्राम दिन्छ । 
हामी हरेक दिन, हरेक घण्टामा केही न केही खाइरहेका हुन्छौं । यसले गर्दा हाम्रा भित्री अंगहरू चलायमान हुन्छन् । खाएको कुरा पाचन प्रणाली हुँदै विकारयुक्त कुरा शरीर बाहिर निस्कन्छ र पोषण तत्व हाम्रा कोशिकाहरूमा पुग्छ । 

स्वास्थ्य विज्ञानले स्विकारेको छ, व्रत बस्नु स्वास्थ्यका लागि एकदमै उपयोगी हो । किन ? किनभने, यसले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ, जो वर्षौदेखि चलायमान छ । त्यस्तै शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । व्रतले शरीरलाई मात्र लाभ मिल्ने होइन, मनलाई पनि यसले शान्त तुल्याउँछ । यद्यपि, त्यो व्रत एकदमै समर्पण भावले, विधिपूर्वक र प्रसन्नचित्तले गरेको हुनुपर्छ । यस किसिमको व्रतले हाम्रो शरीर र मस्तिष्कलाई बेग्लै ताजगी दिन्छ । बेग्लै ऊर्जा दिन्छ । 

कसरी बस्ने व्रत ? व्रतको अनेक प्रकार छन् । कुनै व्रत निराहार हुन्छ, जसमा दिनभर पानी समेत सेवन गरिँदैन । कुनै व्रतमा अन्न खाइँदैन । ताजा फलफूल, जुस आदि सेवन गरिन्छ । व्रत बस्दा मन प्रसन्न हुनुपर्छ । तनावग्रस्त अवस्थामा व्रत बस्नुको कुनै फाइदा छैन । साथै व्रत बसेको बेला शारीरिक गतिविधि कम गर्नुपर्छ । एकदमै आराम साथ बस्नुपर्छ । तर, यस्तो अवस्थामा व्रत नबस्ने व्रत बस्नु आफैँमा राम्रो हो । तर, कतिपय अवस्था हुन्छ, जतिबेला व्रत बस्नु प्रत्युत्पादक हुनसक्छ । जस्तो, औषधी सेवन गरिरहेका गम्भीर प्रकृतिका रोगी, गर्भवती, मधुमेहका रोगी आदिले व्रत बस्नु हुन्न । यदि कुनै किसिमको शारीरिक समस्या छ भने चिकित्सकको परामर्शमा मात्र व्रत बस्नुपर्छ । 

साउनमै किन ? त्यसो त व्रत बस्नका लागि यही दिन भन्ने छैन । आफूलाई अनुकुल हुने कुनै पनि समयमा व्रत बस्न सकिन्छ । धार्मिक हिसाबले भने कतिपय दिनलाई व्रतका लागि छुट्याइएको छ । त्यसको पनि खास महत्व छ । त्यस्ता दिनमा व्रत बस्नु अझ लाभदायक हुन्छ । खासगरी पृथ्वी एवं ग्रह, उपग्रहहरूको अवस्थितिको आधारमा ती दिनहरू तय गरिएका हुन् । यो ज्योतिषीय गणना अनुसार तय भएको हो । 

साउन महिनामा व्रत बस्नुको वैज्ञानिक कारण छ । यतिबेला हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । संक्रमणको भय पनि उच्च हुन्छ । साथै, ग्रह–उपग्रहको अवस्थितिको कारण प्राणीहरूमा उत्तेजना, आवेग बढ्ने गर्छ । ती सबैलाई नियन्त्रण गर्दै स्वस्थ्य शरीर र शान्त मनका लागि व्रत उपयोगी हुन्छ । यसबेला भगवान शिवको आराधना गरी व्रत बसिन्छ । 

साउन महिनामा उपवास बस्दा ग्यास्ट्रिकको समस्या भए, निम्न उपाय अपनाउन सकिन्छ ।   

–  ग्यास्ट्रिकले गर्दा पेटमा समस्या छ भने त्यस्तो बेला एक–दुई दाना स्टबेरी खानु पर्छ । 

– एक चम्चा बेकिङ सोडालाई एक गिलास पानीमा मिसाउने, त्यसमा थोरै नुन र कागती राखेर सेवन गर्ने । 

– ग्यास्ट्रिकबाट छुटकारा पाउन घिउकुमारी पनि प्रयोग गर्न सकिन्छ । 

– यस्तो अवस्थामा सुकमेल, जीरा, दालचिनी, लसुन र अदुवाको सेवन पनि प्रभावकारी हुनसक्छ । 

– पुदिना वा दालचिनीको फ्लेवरयुक्त चियाले पनि पेटको समस्या ठिक हुन्छ ।    

– कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियामा सघाउ पुर्याउँछ ।

        (एजेन्सीको सहयोगमा)

Logo