अक्सफोर्डको अध्ययनले भन्छ-डेल्टा भेरियन्टविरुद्ध खोपको प्रभाव फितलो छ

अक्सफोर्डको अध्ययनले भन्छ-डेल्टा भेरियन्टविरुद्ध खोपको प्रभाव फितलो छ

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोपको प्रभावकारिता तीन महिनामा कम हुने देखिएको छ। 

यी दुई खोपका दुवै डोजलाई जितेर संक्रमण हुने भाइरस पछिल्ला भेरियन्टभन्दा पनि खतरनाक हुने बेलायतमा गरिएको एक जनस्वास्थ्य अध्ययनको निष्कर्ष छ। 

अक्सफोर्ड विश्वविद्यालयले गरेको उक्त अध्ययनका अनुसार बेलायतका ३० लाखभन्दा बढी मानिसबाट नमुना संकलन गरेर परीक्षण गर्दा फाइजर र एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाएको ९० दिनमा यी दुई खोपको प्रभावकारिता क्रमशः ७५ प्रतिशत र ६१ प्रतिशतमा झरेको पाइयो। 

यसअघि फाइजर र एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाएपछिको प्रभावकारिता क्रमशः ८५ प्रतिशत र ६८ प्रतिशत रहेको पाइएको थियो। प्रभावकारितामा यस किसिमको गिरावट ३५ वर्ष र सोभन्दा बढी उमेर भएका मानिसमा बढीजसो देखियो। 

डेल्टा भेरियन्टको घातकतामाथि प्रकाश पार्दै उक्त अध्ययनले खोपका दुवै डोज लगाएर संक्रमित भएका र खोप नलगाई संक्रमित भएकामा भाइरसको मात्रा (भाइरल लोड) बराबर भएको पत्ता लगाएको छ। बेलायतमा ‘अल्फा’ भेरियन्ट हावी हुँदा यस्तो अवस्था नरहेको पनि अध्ययनको निष्कर्ष छ। 

अक्सफोर्डको अध्ययनको निष्कर्ष अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले गरेको अध्ययनको निष्कर्षसँग मिल्दोजुल्दो छ। समयसँगै खोपको प्रभावकारिता घट्नेबारे तथ्याङ्कका आधारमा डेल्टा भेरियन्टको संक्रमण बढेसँगै अमेरिकाले दुवै डोज खोप पाएका आफ्ना नागरिकलाई तेस्रो (बुस्टर) डोज अर्को महिनादेखि दिने बताएको छ।

डेल्टा भेरियन्टको संक्रमण बढेसँगै इजरायलले फाइजर खोपको तेस्रो डोज आफ्ना नागरिकलाई दिन थालिसकेको छ। युरोपेली राष्टहरूले वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई तेस्रो डोज दिने अपेक्षा पनि गरिएको छ। 

समयसँगै आफ्नो खोपको प्रभावकारिता कम हुँदै जाने फाइजरले बताइसकेको छ। एस्ट्राजेनेकाले भने आफ्नो खोप कति समयसम्म प्रभावकारी हुन्छ र बुस्टर डोज आवश्यक छकि छैन भन्नेबारे अध्ययन भइरहेको जनाएको छ। 
(रोयटर्सबाट अनूदित)  

Logo