डोल्पावासी स्वास्थ्य परीक्षण गर्छन् तर औषधि पाउँदैनन्, निजी मेडिकलको हालिमुहाली

डोल्पावासी स्वास्थ्य परीक्षण गर्छन् तर औषधि पाउँदैनन्, निजी मेडिकलको हालिमुहाली

केन्द्रबिन्दु
0
Shares

हरेक जिल्लाका स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधिहरू निःशुल्क पाइने व्यवस्था छ। डोल्पाका स्वास्थ्य सेवा कार्यालयहरूमा भने मुस्किलले ३५–४० प्रकारका औषधि मात्रै निःशुल्क उपलब्ध हुन्थे। तर केही समयदेखि यिनै औषधि पनि पाउन छाडेपछि डोल्पावासी स्वास्थ्य परीक्षण गरेर औषधिबिनै घर फर्कन बाध्य छन्। 

फार्मेसी व्यवस्थापनका अनुसार औषधि बिक्रीका लागि स्थापना भएको फार्मेसी रित्तिएको छ। सोही कारण अहिले स्वास्थ्य संस्थामा परीक्षण गरे पनि निःशुल्क औषधि नपाउँदा बिरामीहरू त्यसै फर्कने गरेका छन्। अलि सम्पन्न बिरामीले भने निजी फार्मेसीबाट औषधि लिने गरेको बिरामीका आफन्त कुमार केसीले बताए। उनले भने, ‘मैले त सबै औषधि निःशुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए, तर सबै औषधि बाहिर किन्नु पर्यो।’ स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले स्वास्थ्य सेवा कार्यालयकै मताहतमा छ। 

आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य कार्यालयले नियमित खरिद गर्ने औषधि खरिद नगरेका कारण अहिले औषधि अभाव भएको हो। कर्णाली प्रदेश सरकार मताहातमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालय छन्। स्वास्थ्य सेवा कार्यालयका डा. अखण्ड उपाध्यायका अनुसार औषधि अभावमा उपचारमा सास्ती भइरहेको छ। ‘नशाबाट औषधि दिनुपर्ने बिरामी सबैभन्दा बढी मारमा छन्,’ उनले भने, ‘औषधि छैन, बजारबाट किनेर ल्याउनुहोस् भन्दा हामीसँग बिरामीहरू रिसाउनु हुन्छ, उसो भए हामी मेडिकलमै उपचार गर्छाैं भन्दै फर्कनु हुन्छ।’

एक्सरे सेवासमेत अभाव
एक्सरे सेवा समेत प्रभावकारी नहुँदा कार्यालयबाट प्रवाह हुने सेवा कमजोर बनिरहेको छ। एक्सरेको प्रिन्टरमा खराबी आउँदा पेपर प्रिन्ट गर्न नमिल्ने भएको डा. उपाध्यायले बताए। यस्तै ल्याबमा पनि सामान्य खालको रगत मात्रै जाँच हुन्छ। किट अभावमा सबै खालको परीक्षण गर्न नपाएको चिकित्सकहरूले बताए। कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्न समेत जटिल भइरहेको प्रशासनले जनाएको छ।

स्वास्थ्य बीमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको बिरामीहरू बताउँछन्। स्थानीय तहहरूमा समेत स्वास्थ्य सेवा कार्यालयले औषधि पठाउन सकेको छैन।

विशेषज्ञसहित नौ चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले पाँच जना करारका चिकित्सक छन्। दरबन्दीमा एक जना नर्सबाहेक सबै करारका हुन्। करारमा कार्यरत नर्सहरूको नवीकरणसमेत नगरिएकोले काम गर्न मुस्किल हुँदै आएको छ।

निजी मेडिकलको हालिमुहाली 
स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा निजी मेडिकलमा बिरामीको चाप हुने गरेको छ। ‘औषधि नै नपाइने भएपछि अस्पतालमा को जान्छ?’ बिरामीका आफन्त बसन्त बुढाले भने, ‘सबै बाहिरबाट किनेर ल्याउनु भन्छन्, त्यसैले उपचार पनि बाहिर नै गर्यो आनन्द।’ जिल्ला अस्पतालकै यस्तो हालत छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको अवस्था कस्तो होला? सबैको प्रश्न यस्तै हुन्छ।

Logo