दाङमा १८ हजारले गराए स्वास्थ्य बीमा

दाङमा १८ हजारले गराए स्वास्थ्य बीमा

केन्द्रबिन्दु
0
Shares

दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बीमा गराएका छन्। माघ ३० गतेदेखि दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो।

आम नागरिकहरूले सूचना नपाउँदा र कोरोना महामारीका कारण पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य बीमा कार्यक्रम दाङले जनाएको छ। अगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा आबद्ध गराउने लक्ष्य लिएको बताइएको छ। 

सरकारले बीमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गर्ने उद्देश्य लिएको छ। गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने उल्लेख छ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुरेन्द्रराज उप्रेतीले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै पैसाको अभावमा रोगी भएर बस्नु नपर्ने भन्दै यो कार्यक्रम ल्याएको जानकारी दिए। स्वास्थ्य बीमाका लागि ५ जनाको परिवारसम्म ३५ सय रुपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रुपैयाँको बीमा गरिदिनेछ। 

६ जनादेखि माथिको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँको बीमा सरकारले गर्नेछ। सरकारले अति गरिब, पूर्ण अपांगता, क्षय तथा कुष्ठ र एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको निःशुल्क बीमा गर्नेछ। 

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ। 

Logo