नेपालमा ओमिक्रोन भेटियाे, उच्च सतर्कता अपनाउन आग्रह

नेपालमा ओमिक्रोन भेटियाे, उच्च सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ । 

यस्तै खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको डा. अधिकारीले बताएका छन् । एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ  गर्ने गरिएको छ ।

यस्तै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको उनले बताए । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ । 

ओमिक्रोन भाइरस सर्ने दर र सङक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यको खोज भइरहेको छ । ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेका छन् । 

कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको सङक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सवै मापदण्डको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ । 

ओमिक्रोन  भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ति देशमा ५७४ जना उक्त भेरियन्टबाट सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ ।

दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । भारतमा गत शुक्रबार मात्र सङ्क्रमण भएको पुष्टि भएको थियो । 

Logo