मोडर्ना खाेप बालबालिकाका लागि कति प्रभावकारी ? (भिडियाेसहित)

मोडर्ना खाेप बालबालिकाका लागि कति प्रभावकारी ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

मोडर्ना खोपको पहिलो मात्रा पुस ४ गतेदेखि १४ गतेसम्म बालबालिकालाई लगाउने मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले बताएकी छन्।दोस्रो मात्राको खोप माघ २ गतेदेखि १२ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले विद्यालयहरूमा रहेको विद्यार्थी संख्याका आधारमा खोप पठाएको छ। विद्यार्थीहरुलाई लक्षित गरिएको खोप भएकाले यसपटक खोपकेन्द्र अस्पतालमा नभएर विद्यालयमैरहनेछ।

केही दिन अगाडी स्वास्थ्य सेवा विभागमा मोडर्ना खोप लगाउने विषयमा निजी विद्यालयका सञ्चालक र स्वास्थ्यका पदाधिकारीबीच छलफल भएको थियो । उक्त छलफलमा निजी विद्यालयका सञ्चालकले मोर्डना खोप लगाउन अभिभावकको अनुमति चाहिने बताएका थिए । तर स्वास्थ्य मन्त्रालयले मोडर्ना खोपलाई विश्व स्वास्थ्य संगठनले स्वीकृति दिइसकेकाले र विश्वका अधिकांश मुलुकका बालबालिकामा प्रयोग भइसकेको रशंका उपशंका गर्नुपर्ने अवस्था नभएकाले  अभिभावकसँग स्वकृति लिनु नपर्ने  निष्कर्ष निकालेको थियो ।स्वीकृति लिनतिर लाग्ने हो भने खोप समयमा लगाएर नसकिने पदाधिकारीहरुको भनाइछ । खोपलाई लामो समय फ्रिज गरेर राख्न नसकिने हुँदा समयमै खोप लगाइसक्नुपर्ने कारण मन्त्रालयले बताएको छ । त्यसैले हरेक अभिभावकहरुले आफ्ना बालबालिकालाई खोपकेन्द्रमा पठाउनको लागि पनि मन्त्रालयले अनुरोध गरेको छ।

सात प्रदेशका यी जिल्लाहरुमा खोप दिईंदैछ 

प्रदेश नम्बर– १ मा ताप्लेजुङ, संखुुवासभा, सोलुखुम्बु ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरसहित ११ जिल्लामा खोप दिईंदैछ । 

प्रदेश नंम्बर– २ मा सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ५ जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ। 

वाग्मती प्रदेशमा – दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरसहित ७ जिल्लामा खोप दिईंदैछ । 

गण्डकी प्रदेशमा–गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वतसहित ९ जिल्लामा खोप दिईंदैछ । 

लुम्बनी प्रदेशमा–रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियासहित ९जिल्लामा खोप दिईंदैछ । 

कर्णाली प्रदेशमा–डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानसहित ९ जिल्लामा खोप दिईंदैछ । 

सुदूरपश्चिम प्रदेशमा– बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरसहित ७ जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाको तालिका अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा मोडर्ना खोप अभियान संञ्चालन हुनेछैन । यी जिल्लाहरुमा फाइजर खोप आएपछि माघ ४ गतेदेखि १३ गतेसम्मखोप लगाइने मन्त्रालयले जनाएको छ।

खोप लगाएपछि बालबालिकामा के–कस्ता लक्षण देखिन्छ त?

मोडर्ना खोप लगाएपछि बालबालिकालाई सामान्य किसिमका प्रभावहरू देखिन सक्ने संक्रामक रोग विज्ञहरूले बताएका छन्। बालबालिकामा खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्छन् । तर यी समस्या सामान्य भएकाले आत्तिनु नपर्ने डाक्टरहरुको सल्लाह छ। मोडेर्ना खोप लगाएपछि गम्भीर प्रभावहरू नदेखिने विज्ञहरुको भनाइ छ। यी भन्दा बाहेकका अन्य लक्षण देखा परेमा तुरुन्त अस्पताल वा डाक्टरको सम्पर्कमा आइहाल्नु पर्छ। 

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका विद्यालय जाने भएकाले भिडभाडमा मिसिन्छन्। बालबालिकालाई मास्कको प्रयोग गर्न, छिनछिनमा हात धुन वा स्यानिटाइजर प्रयोग गराउन मुस्किल हुन्छ। त्यसैले खोप लगाउँदा सुरक्षा बढ्छ, संक्रमण भइहाले पनि अवस्था गम्भीर बन्नबाट बच्न सकिन्छ।

Logo