प्लाज्मादान कोरोना संक्रमितको जीवनदान बन्दै

प्लाज्मादान कोरोना संक्रमितको जीवनदान बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाल नेपालमा पनि प्रतिदिन आठ सय भन्दा बढी संक्रमित थपिरहेको अवस्था छ । भाइरस फैलिएको आठ महिना बिति सक्दा पनि यस भाइरसको कुनै पनि औषधी बन्न नसक्दा प्लाज्मा थेरापी उपचार पद्धति संक्रमितका लागि बिकल्पको रुपमा लिइएको छ ।

नेपालमा कोरोना संक्रमितलाई प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिबाट उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि मुलुकभरका १२ अस्पताललाई तोकेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड–१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृति दिएको जानकारी दिएका छन् ।

उनका अनुसार, सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् । यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक समेत तोकिएको छ ।

नेपालमा यस विधिबाट उपचार सफल रहेकाले ती अस्पताललाई अनुमति दिइएको हो । यो पद्धति कम जोखिमयुक्तका साथै प्रभावकारी हुने बताइएको छ । मन्त्रालयले सो अनुसन्धान प्रक्रियालाई अगाडि बढाउनका लागि गत जेठ ४ गते सचिवस्तरीय बैठकबाट अनुमति दिएको थियो । उक्त पद्धतिबाट उपचार प्लाज्मा लिने र दिनेबीच समझदारी भएपछि गरिन्छ ।

पछिल्लो समय संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने कामले तिव्रता पाएको छ । ‘प्लाज्मा दान नै जीवनदान’ नाराका साथ कोरोना संक्रमितको उपचार कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान समेत अघि बढाएका छन् । डा.प्रदीप ज्ञवाली ‘कोभिड–१९ को गम्भीर अवस्थाका बिरामीको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गरे बचाउन सकिने बताउँछन् ।’

नेपालमा पहिलोपटक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट सफल उपचार गरिएको थियो । उनको उपचार प्रक्रिया सफल भएपछि कोरोना संक्रमितमा आशा जगाएको छ । यतिखेर कोभिड संक्रमितका उपचार गराइरहेका अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार विधि प्रक्रिया अघि बढाइएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको र उपत्यका बाहिरका केही कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिने प्रक्रिया अगाडि बढाइसकेको छ । संक्रमितको अवस्था गम्भीर भएपछि यस उपचार विधि अपनाउने गरिएको छ । कोरोना संक्रमितलाई उपचार गरिने विभिन्न माध्यममध्ये प्लाज्मा थेरापीलाई पनि प्रयोगमा ल्याइएको हो ।

प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिबाट नेपालमा २० जना बढी निको

सरकारी तथ्याङ्क अनुसार, प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिबाट हालसम्म २० जना भन्दा बढी निको भएका छन् । त्यस्तै ग्रान्डी अस्पतालमा ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, बुटवल अस्पतालमा २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी जम्मा ४२ जनाले प्लाज्मा दान गरिसकेका छन् । दान गर्नेहरुमा २० देखि ५९ वर्ष उमेर समुहका रहेका छन् ।
‘प्लाज्मा दान संक्रमित बिरामीहरुको लागि जीवनदान भएको’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम बताउँछन् ।

बन्दाबन्दीको अवस्थामा रगत दान गर्ने मानिसको संख्यामा कमी आएको उनको भनाई छ । ‘अस्पतालमा रगतको अभाव भएको छ, अस्पताल प्रशासन चिन्तित बनेका छन् , ‘गौतमले भने,’ संक्रमित व्यक्तिहरुको लागि प्लाज्मा दान तथा अन्य जटिल प्रकृतिका बिरामीहरुको उपचारको लागि नियमित रगत दान गर्न चाहने व्यक्तिलाई सम्बन्धित अस्पताल र रेडक्रससँग समन्वय गरी सुरक्षित तरिकाले रगत दिई सहयोग गरिदिन पनि आग्रह गर्दछु ।’

संक्रमितमा प्लाज्मा थेरापी उपचार विधि सफल नहुँदा केही संक्रमितको मृत्यु पनि भइसकेको छ । नेपालको सन्दर्भमा धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक प्लाज्मा थेरापी गरि उपचार गरिरहेको अवस्थामा मृत्यु भयो । त्यस्तै दोस्रो प्लाज्मा थेरापी धरान–१५ का ६७ वर्षीय पुरुषको पनि गरिएको थियो । तर, उनको पनि उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौं कीर्तिपुर २ का ६३ वर्षीय पुरुष संक्रमित मृतकको पनि प्लाज्मा थेरापी गरिएको थियो । मेडिसिटी अस्पतालमा उनको पनि उपचार गर्दा गर्दै साउन २७ गते मृत्यु भएको थियो ।

कोरोनाको प्लाज्मा थेरापी अन्तिम औषधि होइन तर व्यक्तिमा त्रास फैलिरहेको अवस्थामा मनोबल बढाउने काम गर्ने शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेका केही संक्रमितमा पनि प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् । निर्देशक राजभण्डारीले भने, ‘यो उपचार विधिबाट सबै जना निको हुन्छन् भन्ने छैन । यसबाट निको हुने ५० प्रतिशत सम्भावना छ ।’

प्लाज्मा थेरापी उपचारका के के छन् पद्धति ?

संक्रमितलाई गाह्रो भइसकेपछि यस विधिबाट उपचार गरिन्छ । दातामा पिसिआर विधिबाट कोभिड–१९ संक्रमित भएको निश्चित हुनु पर्ने, रक्तदान दिनुभन्दा कम्तीमा १४ दिन अगावै कोभिड–१९ सम्बन्धी लक्षण देखा नपरेको हुनुपर्ने र रक्तदान गर्ने व्यक्तिले रक्तदान गर्दा नेपाल रेडक्रसले अपनाएको मापदण्ड पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै प्लाज्मा थेरापी प्राप्त गर्ने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने, पिसिआर विधिबाट कोभिड–१९ रोग भएको निश्चित हुनु पर्ने, अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने, बिरामी गम्भीर अवस्था भएको वा ज्यान जोखिममा रहेको अवस्था हुनुपर्ने वा चिकित्सकले बिरामीको गम्भीर अवस्थामा जान सक्ने सम्भावना रहेको पुष्टि गरेको हुनुपर्ने उल्लेख छ । अनुसन्धानमा संलग्न अस्पतालले प्लाज्मा थेरापी पद्धतिको उपचार र अनुसन्धान गर्ने सम्बन्धी जानकारी अनुसन्धान समयावधि भरि गोप्य राख्नु पर्नेछ । संक्रमितलाई उपचार गर्दा अक्सिजनको साहारामा यो विधिबाट उपचार गराइन्छ ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी विधि अनुसार कोभिड–१९ सङ्क्रमणबाट पूर्ण रुपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमित व्यक्तिमा रगत हाल्ने गरिन्छ । प्लाज्मा थेरापी प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असर हीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टीबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्णरूपले निको हुन्छ ।

शरीरमा यसले एन्टीबडीको विकास गर्छ । यसले भाइरससँग लड्ने क्षमताको विकास गर्छ । विदेशमा गरिएको एक अध्ययन अनुसार, प्लाज्मा थेरापीबाट ३० प्रतिशत मानिसको मृत्यु हुनबाट बचाउने गरेको छ । नेपालमा स्वास्थ्य मन्त्रालयले बनाएको गाइडलाइन अनुसार उपचार गरिरहेको छ ।

Logo