नेपालमा कोरोना : कुन उमेर समुहका संक्रमित कति ?

नेपालमा कोरोना : कुन उमेर समुहका संक्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने बताउँदै आएको छ भने युवा, प्रौढ र बालबालिकामा संक्रमण नहुने र संक्रमण भए पनि घातक नहुने बताएको छ ।

बढी जोखिम पाको उमेरका व्यक्तिमा हुने भएकाले सर्वसाधारणहरुले ६० वर्ष माथिका उमेर समूहहरुलाई मात्र विशेष ख्याल राख्दै आएका छन् । जुन जायज पनि छ । किनभने विश्वका प्राय सबैजसो देशको तथ्यांक हेर्ने हो भने धेरै देशमा कोभिड–१९ बाट संक्रमित हुने र मृत्यु हुने दर अरु उमेर समूहभन्दा पाको उमेरका व्यक्तिमा तुलनात्मक रुपमा बढी रहेको छ ।

तर पछिल्लो समय कोरोना संक्रमण युवा तथा प्रौढमा पनि बढ्दै गएको पाईएको छ । वैज्ञानिकहरुले पनि कम उमेरका व्यक्तिमा कोरोना देखिएको भन्दै चिन्ता जनाउँदै आईरहेका छन् । नेपालकै सन्दर्भमा पनि स्वास्थ्य मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार नेपालका जम्मा संक्रमितमध्ये ७७.९८ प्रतिशत संक्रमित ४० वर्षसम्मको उमेर समूहका युवाहरु छन् । असार २९ गते सोमबारसम्म संक्रमितको संख्या १६ हजार ९ सय ४५ थियो । यो मध्ये १० हजार ७ सय ३८ संक्रमितको उमेर समुह २१ वर्षदेखि ४० वर्षसम्मको रहेको थियो । ती मध्ये पनि महिलाको संख्या १ हजार ४ सय ५७ रहेको थियो भने पुरुषको संख्या ९ हजार २ सय ८१ रहेको थियो ।

सरकारको मंगलबारको तथ्यांक अनुसार मुलुकमा ४० वर्ष माथिका कोभिड संक्रमितहरू २२.०१ प्रतिशत मात्र छन्  भने २१ देखि ४० वर्ष उमेर समूहका संक्रमित सबैभन्दा बढी ५९.७७ प्रतिशत छन् । यसमा पनि २१ देखि ३० वर्ष उमेर समूहका संक्रमित ३५.०८ प्रतिशत छन् । त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका संक्रमित ११.८९ प्रतिशत, ५१ देखि ६० वर्ष उमेर समूहका संक्रमित ६.१८ प्रतिशत छन्  । बढी जोखिम भएको ६१ देखि ७० वर्ष उमेर समूहका संक्रमित २.५८ प्रतिशत, ७१ देखि ८० वर्ष उमेर समूहका संक्रमित १.०३ प्रतिशत र ८० वर्ष माथिका संक्रमित ०.३१ प्रतिशत छन् ।

त्यस्तै बुधवारको तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा धेरै संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका युवाहरु देखिएका छन् । पछिल्लो २४ घण्टामा यस उमेर समूहका ६ सय ५ संक्रमित देखिएका छन् । जसमा ४०४ पुरुष छन् भने २०१ जना महिला छन् । सबैभन्दा कम ८० वर्ष भन्दा माथि उमेर समूहका १९ जना भेटिएका छन् । जसमा ५ पुरुष र १४ महिला रहेका छन् ।

त्यसैगरी १० वर्ष भन्दा मुनि ४४ पुरुष र २६ महिला गरि ७०, ११ देखी २० वर्ष उमेर समूहका ७२ पुरुष र ५५ महिला गरि १ सय २७, ३१ देखि ४० वर्ष उमेर समूहका ४ सय ९ पुरुष र १ सय ४४ महिला गरि ५ सय ५३, ४१ देखी ५० वर्ष उमेर समूहका १ सय ८४ पुरुष र ८९ महिला गरि २ सय ७३, ५१ देखी ६० वर्ष उमेर समूहका १ सय २९ पुरुष र ६५ महिला गरि १ सय ९४, ६१ देखी ७० वर्ष उमेर समूहका ५३ पुरुष २९ महिला गरि ८२ र ७१ देखि ८० वर्ष उमेर समूहका २७ पुरुष र १७ महिला गरि ४४ संक्रमित भेटिएका छन् ।

आजसम्मको जम्मा तथ्यांक हेर्दा पनि सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका संक्रमितहरु भेटिएका छन् भने सबैभन्दा कम ८० वर्ष भन्दा माथि उमेर समूहका वृद्धवृद्धाहरु संक्रमित भएका छन् ।

बुधवारको जम्मा तथ्यांक अनुसार १० वर्ष भन्दा कम उमेर समूहका १ हजार ३२ पुरुष ७ सय १९ महिला गरि १ हजार ७ सय ५१, ११ देखी २० वर्ष उमेर समूहका ४ हजार १ सय ४२ पुरुष र १ हजार १ सय महिला गरि ५ हजार २ सय ४२, २१ देखी ३० वर्ष उमेर समूहका १२ हजार ९ सय १५ पुरुष र ३ हजार ९ सय ७५ महिला गरि १६ हजार ८ सय ९०, ३१ देखी ४० वर्ष उमेर समूहका १० हजार ३६ पुरुष र २ हजार ५ सय ४० महिला गरि १२ हजार ५ सय ७६, ४१ देखी ५० वर्ष उमेर समूहका ५ हजार ४१ पुरुष १ हजार ५ सय १७ महिला गरि ६ हजार ५ सय ५८, ५१ देखी ६० वर्ष उमेर समूहका २ हजार ५ सय ५४ पुरुष र ९ सय ३४ महिला गरि ३ हजार ४ सय ८८, ६१ देखी ७० वर्ष उमेर समूहका १ हजार पुरुष र ५ सय ७ महिला गरि १ हजार ५ सय ७, ७१ देखी ८० वर्ष उमेर समूहका ३ सय ९८ पुरुष र २ सय ८८ महिला गरि ६ सय ८६ र ८० वर्ष भन्दा माथि उमेर समूहका १ सय १८ पुरुष र ९० महिला गरि २ सय ८ व्यक्ति संक्रमित भएका छन् ।

हाल जुन उमेर समूहका व्यक्ति बढी सक्रिय छन्, उनीहरु बढी हिँडडुल गर्ने भएकाले बढी मात्रामा संक्रमित भइरहेको विज्ञहरु बताउँछन् । नेपालका युवामा बढी संक्रमण देखिनुको कारण वैदेशिक रोजगारी पनि रहेको छ । यही उमेर समूहका व्यक्तिहरु रोगजारीका लागि देश बाहिर गएका थिए । लकडाउन भएपछि नेपाल फर्किए । उनीहरुमा परीक्षण भयो । जसले गर्दा युवा अवस्थाका व्यक्तिहरुमा संक्रमण धेरै देखियो । त्यस्तै युवाहरु नै व्यापार तथा जागिरमा सक्रिय भएर काम गरिरहेका हुन्छन् । कोहि रहरले त कोहि बाध्यताले यहि उमेरसमूहका युवाहरु नै घर बाहिर धेरै एक्सपोज हुने गर्छन् । जसले गर्दा संक्रमण हुने सम्भावना उनीहरुमा धेरै रहन्छ ।

संक्रमित भएको उक्त उमेर समूहका व्यक्तिहरु धेरै जसो लक्षणबिहीन भेटिएका छन् । जसकारण तुलनात्मक रुपमा लक्षण भएका व्यक्तिबाट भन्दा लक्षण नभएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम भएपनि लक्षण नभएका व्यक्तिबाट संक्रमण नै फैलिँदैन भनि ठोकुवा भने गर्न नसकिने विज्ञहरु बताउँछन् ।

अझ पछिल्लो समय विश्वका विभिन्न देशमा लक्षण नभएका व्यक्तिबाटै महामारीले विकराल रुप लिएको भन्दै वैज्ञानिकले चासो र चिन्ता व्यक्त गरेका छन् । लक्षण नभएका व्यक्तिहरु आफूलाई संक्रमण नभएको बुझे पनि उनीहरुबाट अरुमा सर्न सक्ने जोखिम उत्तिकै हुने विज्ञले बताएका छन् ।

यता वृद्धवृद्धामा भन्दा युवामा कोरोना संक्रमण धेरै देखिनुमा युवाको झैँ बराबर संख्यामा वृद्धवृद्धाको पिसिआर टेस्ट नगर्नुलाई पनि मानिएको छ । अहिलेको परीक्षणको दायरा हेर्ने हो भने युवाकै वरिपरी गरिएको देखिन्छ । जसले गर्दा जुन समुहलाई लक्षित गरी परीक्षण गरियो त्यही समूहमा संक्रमण धेरै देखिने भएकोले सबैमा बराबर परीक्षण भएको मात्र यही उमेर समूह मात्रै संक्रमित भएको हो वा विश्व स्वास्थ्य संगठनले भने जस्तो बढी उमेर भएका व्यक्तिमा संक्रमणको जोखिम धेरै हो भन्ने थाहा हुने विज्ञहरु बताउँछन् । सरकारले स्वास्थ्यमा कुनै पनि समस्या भएर अस्पताल पुगेका ६० वर्ष माथिका र दीर्घरोगीहरुमा अनिवार्य रुपमा पीसीआर परीक्षण गरिने छ भने पनि सो भनाई अनुरुप वृद्धाहरुमा खासै प्रभावकारी रुपमा परीक्षण हुन सकेको छैन ।

कोरोना संक्रमण १५ देखि ५० वर्ष उमेर समूहभित्रै बढी भए पनि यसअघि नदेखिएको समूहमा समेत हाल संक्रमण देखिन थालेको छ । काठमाडौंमा पहिले ३ वर्ष मुनिका बालबालिकामा संक्रमण १ प्रतिशत थियो भने अहिले ३ प्रतिशत बढेको छ । पछिल्लो समय काठमाडौंमा एक वर्षमुनिका बच्चामा समेत संक्रमण देखिएको छ ।

पछिल्लो समय निको हुने दर बढेर ६८ दशमलव ८५ प्रतिशत पुगेको छ । विज्ञहरूले निको हुने दर अपेक्षा अनुसार नबढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । हाल संक्रमितको मृत्युदर ०.६३ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयले संक्रमणबारे कसैले लापरबाही नगर्न आग्रह गरेको छ  ।

Logo