कोरोना संक्रमितले होम आइसोलेसन रहँदा के-के कुरामा ध्यान दिने ?

कोरोना संक्रमितले होम आइसोलेसन रहँदा के-के कुरामा ध्यान दिने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । विश्वका अधिकांश राष्ट्रहरु यस भाइरसबाट प्रभावित भएका छन् । हाल नेपालमा पनि प्रतिदिन ९ सयभन्दा बढीको संख्यामा संक्रमित थपिइरहेको छ । संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरिएको छ । यसरी ठुलो संख्यामा संक्रमित थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेको छ । तर केहीमा भने कोरोना पुष्टि मात्र भएको छ । उनीहरुमा लक्षण भने देखिएको छैन ।

लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन् । कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारको स्वास्थ्य निर्देशिका अनुसार होम आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म नेपालमा सबै खालका संक्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ । जसमध्ये हाल मुलुकभर १६ हजार २ सय ५९ जना सकृय संक्रमितहरु रहेका छन् । भने, ३० हजार ६ सय ७७ जना निको भएका छन् । यतिखेर अस्पतालमा सबै संक्रमितका लागि पर्याप्त आइसोलेसन बेड नहुँदा लक्षण नभएका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । मुलुकभर संस्थागत आइसोलेसनमा ९ हजार ६६ जना उपचाररत छन् भने, होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १ सय ९० जना छन् । सरकारले कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरी निर्देशिका जारी गरी स्थानीय तहको निगरानीमा बस्नलाई अनुमति दिएको छ । तर यसरी होम आइसोलेसनमा बस्ने संक्रमितलाई स्थानीय तहका स्वास्थ्यकर्मीले निगरानी गरेको भने खासै पाइँदैन । होम आइसोलेसनमा बस्ने संक्रमितहरुको गुनासो पनि उत्तिकै छ ।

होम आइसोलेसनमा रहेका संक्रमितलाई राम्रोसँग निगरानी नगर्दा मृत्यु हुने र समुदायमा संक्रमण फैलने सम्भावना अझै धेरै बढिरहेको छ । यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा बढी ३ हजार जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । यसपछि बागमती प्रदेशमा २ हजार ३ सय ३४ जना रहेका छन् भने, प्रदेश ५ मा ८ सय ४ जना छन् ।

यस्तै प्रदेश १ मा ७ सय ९० जना, सुदुरपश्चिममा १ सय १९ जना रहेका छन् । त्यस्तै कम संख्यामा गण्डकी प्रदेशमा १ सय र कर्णाली प्रदेशमा ४० जना होम आइसोलेसनमा रहेका छन् । नेपालीका लागि होम आइसोलेसन जटिल छ । तर सरकारले छुट्टाएको कोभिड अस्पतालहरुमा पर्याप्त मात्रामा बेड नहुँदा संक्रमितहरु होम आइसोलेसनमै बस्न बाध्य भएका छन् । नेपालीको घरमा प्रायः जसो एउटा मात्र शौचालय–बाथरुम हुने गर्छ र सबैले त्यही प्रयोग गर्नुपर्छ त्यसैले उनीहरूका लागि होम आइसोलेसनमा बस्न सजिलो छैन ।

होम आइसोलेसनमा कसरी बस्ने ?

होम आइसोलेसनमा बस्दा कोठा कस्तो छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । संक्रमणको शंका भएका वा लक्षण देखिएका बिरामी होम आइसोलेसनमा बस्ने हो भने एक्लै कोठामा बस्ने सुविधा हुनु पर्छ । आइसोलेसनमा बसेको कोठामा अरू मान्छे आउन नसक्ने हुनु पर्दछ । कोठामा राम्ररी हावा खेल्न सक्ने गरी झ्याल हुनुपर्छ । ती कोठा अर्को मान्छेले प्रयोग गर्नु हुँदैन । शौचालय, बाथरुम र हातमुख धुने ठाउँ पनि कोठाभित्रै हुनुपर्ने र एक्लैले प्रयोग गर्नुपर्ने हुनुपर्छ ।

विशेषगरी सरसफाइमा ध्यान दिनुपर्छ । बजारमा डिस्इन्फेक्टेन्ट झोलहरू पाइन्छन् । संक्रमित भएका व्यक्तिले शौचालय वा बाथरुम प्रयोग गरिसकेपछि धाराहरू डिस्इन्फेक्ट गर्नुपर्छ । यति मात्र होइन, होम आइसोलेसनमा बस्दा अस्पताल कतिको नजिक छ भन्ने पनि ख्याल राख्नुपर्छ । संक्रमितलाई जति बेला पनि अक्सिजन कम हुन सक्छ । अक्सिजन हुने बित्तिकै बढीमा आधा घन्टाभित्र अस्पताल पुगिसक्नु पर्छ । त्यसैले, अस्पताल टाढा भएका घरमा होम आइसोलेसनमा बस्नु राम्रो विकल्प होइन । सामुदायिक आइसोलेसनमा बस्दा वा व्यक्ति आफैं कुनै होटलमा गएर आइसोलेसन बस्दा पनि यी कुरामा ध्यान दिनु आवश्यक छ ।

होम आइसोलेसनमा बस्दा व्यक्तिले अझैबढी आफ्नो मात्र ख्याल राख्नु पर्ने हुन्छ । आफूबाट परिवारलाई संक्रमण सर्न नदिन सतर्क हुन एकदमै जरुरी हुन्छ ।

होम आइसोलेसनमा बस्दा ध्यान दिनु पर्ने कुराहरु

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै सामाजिक दुरी कायम गर्नु हो । त्यसबाहेक व्यक्तिगत सरसफाइ र सर्तकता अपनाउनु पनि एकदमै महत्वपूर्ण छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले होम आइसोलेसनमा बस्दा निम्न कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ ।

१. बिहान ६ बजेसम्म उठि सक्ने/उठ्ने
२. कम्तीमा आधा घण्टा योग तथा शारीरिक व्यायाम गर्ने
३. सात बजे एक गिलास तातो कागति पानी खाने
४. साढे ७ बजेदेखि ८ बजे भित्रमा नास्ता खाइसक्ने
५. साढे आठ बजे भित्र फेरी मन तातो दूधमा बेसार हालेर खाने
६. ९ बजे ५ देखि १० मिनेटसम्म पानीको बाफ लिने
७. साढे नौं बजेसम्ममा बिहानको खाना खाने
८. १० बजे एक–एक क्याप्सुल भिटामिन बी,सी र ई खाने
९. साढे दश बजे एक गिलास तातोपानी (अदुवा, बेसार मरिच लगायतका जडीबुटीजन्य मसलाको मिश्रण भएको पानी पिउने
१०. ११ बजे एक कप चिया पिउने
११. दिउसोको १२ बजे एक गिलास तातो कागति पानी पिउने
१२. १ देखि २ बजे भित्र खाजा खाने
१३. ३ बजे ५ देखि १० मिनेटसम्म पानीको बाफ लिने
१४. ४ देखि ५ बजेसम्म आराम गर्ने
१५. साढे पाँच बजे फेरी एक गिलास अदुवा, बेसार मरिच लगायतका जडीबुटीजन्य मसलाको मिश्रण भएको पानी पिउने
१६. बेलुकाको ६ देखि ७ बजेसम्म फेरि एक घण्टा योग तथा शारीरिक व्यायाम गर्ने
१७. ७ बजे एक गिलास तातो कागती पानी पिउने
१८. साढे सातदेखि साढे आठ बजेसम्ममा रातीको खाना खाने
१९. ९ बजे ५ देखि १० मिनेटसम्म पानीको बाफ लिने
२०. साढे नौं बजे फेरि एक गिलास अदुवा, बेसार मरिच लगायतका जडीबुटीजन्य मसलाको मिश्रण भएको पानी पिउने
२१. सुत्नु अघि एक गिलास मन तातो दूधमा बेसार हालेर खाने

त्यस्तै होम आइसोलेसनमा बस्नेले नास्ता र खानामा पनि ध्यान दिन आवश्यक छ

नास्तामा भिटामिन सी जन्य फलफूलहरु जस्तै कागती, अमला, अम्बा, केरा, स्याउ, आँप, अनार आदी खाने । यस्तै अण्डा, दूध, ब्रेड, रोटी, चिउरा, भूजा, हरियो सागसब्जी खाने । त्यस्तै, खानामा भात, रोटी, दाल, हरियो सागपात, तरकारी, माछा, मासु, दूध, गेडागुडी, च्याउ, प्रोटिनयुक्त खानेकुराहरु खानु पर्दछ ।

होम आइसोलेसनमा बस्ने संक्रमितले निम्न औषधीहरु प्रयोग गर्ने

१. क्याल्सिरोल साशेट भिटामिन डी हप्तामा १ पटक दूधमा घोलेर खाने
२. ईवायरोज भिटामिन ई एक क्याप्सुल खानापछि दिनमा एक पटक खाने
३. बिकोमिन क्याप्सुल भिटामिन बी र सी एक क्याप्सुल बिहानको खानापछि खाने
४. क्युजिन ट्याब्लेट जिङ्ग एक ट्याब्लेट पखाला लागेमा जीवनजलसँगै खाने
५. प्यारासिटामोल ट्याब्लेट ज्वरो आएमा, टाउको दुखेमा, जीउ दुखेमा एक ट्याब्लेटका दरले दिनमा ३ पटक खाने
६. पि–गुट ट्याब्लेट (प्यान्टोप्राजोल) बिहान खाली पेटमा खाने
७. सेट एच (सेट्रीजेन) खोकी लागेमा राती एक पटक एक ट्याब्लेट खाने
८. ओ.आर.एस. (जीवन जल) पखला लागेमा एक लिटर पानीमा घोलेर सकेजति पिउने

Logo