स्वास्थ्योपचारको गन्तव्य बन्दै विराटनगर

स्वास्थ्योपचारको गन्तव्य बन्दै विराटनगर

केन्द्रबिन्दु
0
Shares

पूर्वका नागरिकहरूको स्वास्थ्य उपचारको पहिलो गन्तव्य विराटनगर बन्दै गएको छ । विराटनगरमा उच्च प्रविधियुक्त गुणस्तरीय उपचार सेवा दिन करिब अढाई दर्जन अस्पताल सञ्चालनमा छन् । जसमा एउटा सरकारी अस्पताल र बाँकी निजी र गैह्र सरकारी संस्थाद्वारा सञ्चालित अस्पताल छन् । आइसियु, एनआईसीयु, सीसीयु, भेन्टिलेटर सहित यी अस्पतालमा दुई हजार तीन सय ५० भन्दा बढी शय्या रहेका छन् । 

संघीय सरकारले सञ्चालन गरेको तीन सय ५० शय्याको कोसी अस्पताल निम्न र निम्न मध्यम वर्गका नागरिकको पहिलो रोजाईमा पर्ने गरेको छ ।  विराटनगरमा छ । न्यून शुल्कमा नै उपचार हुने भएकाले कोसी अस्पताल कम आय स्तर भएकाहरूको उपचारको गन्तव्य बनेको हो । एक सय शय्याको प्रसूति वार्ड रहेको कोसीमा हाडजोर्नी, मानसिक, जनरल फिजिसिएन, स्त्री रोग, छाला, यौन, नाक कान घाँटी, मुटु, फोक्सो लगायतको विशेषज्ञ सेवा उपलब्ध छ । अर्बुद रोगको प्रारम्भिक परीक्षण, किमोथेरापी र फलोअपका बिरामीलाई कोसी अस्पतालले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिएका छन् । अस्पतालमा एक्सरे, ईसीजी, इको, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, डायलासिस सेवाका साथै अत्याधुनिक प्रयोगशाला समेत सञ्चालनमा छ । कोभिड १९ महामारीको समयमा प्रदेश सरकारको सहयोगमा एक सय शय्याको छुट्टै कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याएको अस्पतालले सङ्क्रमितको चाप अत्यधिक बढेपछि अस्पतालमै छुट्टै ६० शय्याको कोभिड १९ वार्ड समेत सञ्चालनमा ल्याएको छ । 

विराटनगरमै रहेको नोबेल मेडिकल कलेजले सात सय ५० शय्याको अस्पताल सञ्चालन गरेको छ । मुटु, स्नायु, हाडजोर्नी, स्त्री, आँखा, नाक कान घाँटी, जेनरल मेडिसिन, पेट, प्रसूति, लगायतको सेवा नोबेलले दिँदै आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् । नोवेलमा अत्याधुनिक प्रविधिबाट जटिल शल्यक्रियामा समेत हुने गरेको दाहालको भनाई छ । आइसियु, एनआईसीयु, सीसीयु, भेन्टिलेटर सहितको सेवा प्रदान गर्दै आएको नोबेलमा डायलासिस, एक्सरे, ईसीजी, इको, इन्डोस्कोपी, अल्ट्रासाउण्ड, सीटी स्क्यान, एमआरआई सेवा समेत उपलब्ध छ । पूर्व मेचीदेखि पश्चिम सर्लाही, महोत्तरीसम्मका नागरिक उपचारका लागि नोवेलमा आउने गरेका छन् । 

विराटनगरमा रहेका न्यूरो, विराट, लाईफ गार्ड, हाम्रो र मोरङ सहकारीमा एक/एक सय शय्या छन् । विराटनगरमा ५० शय्याका नौ वटा अस्पताल छन् । त्यस्तै, १० देखि २५ शय्यासम्मका १२ वटा अस्पताल छन् । यी अस्पतालले विशेषज्ञ सेवा प्रवाह गर्दै आएका छन् । 

विराटनगरमा रहेका न्यूरो, विराट, लाईफ गार्ड, मोरङ सहकारी, गोल्डेन, सप्तकोशी, सुरक्षा, आर्या न्यूरो विराटनगरमा ख्याती कमाएका अस्पताल हुन् । मुटु, स्नायु, हाडजोर्नी, मातृ शिशुको उपचार र निदानमा यी अस्पतालले ख्याती कमाएका छन् । यी अस्पतालले नेपालीलाई मात्र नभएर भारतीयलाई समेत सेवा प्रदान गर्दै आएका छन् । 

आँखा उपचारमा अब्बल

आँखा उपचारका लागि नेपालको पूर्वी क्षेत्र मात्रै होइन भारतीयहरूका लागि समेत विराटनगर गन्तव्य बन्दै आएको छ । नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेको विराटनगर आँखा अस्पतालले नेपालका मात्र होइन भारतीय आँखा रोगीलाई समेत सेवा दिँदै आएको छ । यहाँ आँखाको शल्यक्रिया र नानी प्रत्यारोपण समेतको सेवा विराटनगर आँखा अस्पतालले दिँदै आएको छ । पाँच सय शय्याको यो अस्पतालमा आँखा उपचारका लागि दैनिक सरदर नौ सय बिरामी आउने गरेका छन् । जसमा ६० प्रतिशत भारतीय छन् । अस्पतालमा भारतको विहार, पश्चिम वंगाल, झारखण्ड लगायतका राज्यका बिरामी आउने गरेको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिएका छन् । अत्याधुनिक प्रविधिबाट परीक्षण र शल्यक्रिया गर्ने गरेको प्रबन्धक पृथुको भनाई छ । अस्पतालले न्यून दृष्टि भएका र आँखा देख्दै नदेख्नेलाई जीवन यापन गर्न सजिलो होस भनेर सेतो छडीको प्रयोग, भान्सा व्यवस्थापन, शौचालय र स्नान गृहको प्रयोग गर्न समेत सिकाउने गरेको छ । यो सिकाइले आँखा देख्दै नदेख्ने र न्यून दृष्टि भएकाहरू लाभान्वित हुँदै आएका छन् ।

निजी क्षेत्रबाट अरू आधा दर्जन आँखा अस्पताल सञ्चालनमा छन् । यी अस्पतालले पनि नेपाल र भारतका आँखाका बिरामीलाई सेवा दिँदै आएका छन् । आँखा उपचारबाट के कति विदेशी मुद्रा विराटनगरले आर्जन गरिरहेको छ भन्ने कुराको भने यकिन तथ्याङ्क छैन । 

गुणस्तरीय स्वास्थ्य उपचारका कारण भारतीयको आकर्षण विराटनगरमा बढेको छ । जसले गर्दा विराटनगरमा रोजगारी सिर्जना त भएको छ नै विदेशी मुद्रा आर्जन समेत भइरहेको छ । 

महानगरको प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र 

विराटनगर महानगरपालिकाले सबै १९ वटै वडामा स्वास्थ्य सेवा पुर्‍याएको छ । वडा नम्बर १५ रानीमा तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्र छ भने वडा नम्बर १९ वैद्यनाथपुरमा स्वास्थ्य चौकी छ । बाँकी १७ वटा वडामा भने आधारभूत स्वास्थ्य केन्द्र छन् । महानगरवासी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताएका छन् । आधारभूत स्वास्थ्य केन्द्रमा नागरिकको सामान्य स्वास्थ्य परीक्षण, ड्रेसिङ, डायबिटिज परीक्षण, नि:शुल्क ३२ प्रकारका औषधी वितरण हुने कार्कीले जानकारी दिएका छन् । रानीको प्राथमिक स्वास्थ्य केन्द्र र वैद्यनाथपुरको स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पताल बनाउने गरी महानगरपालिकाले प्रक्रिया सुरु गरिसकेको शाखा प्रमुख कार्कीको भनाई छ । १५ शय्याको अस्पतालमा स्तरोन्नति भएपछि नागरिकले आफ्नै टोलमा छिटो छरितो स्वास्थ्य उपचार पाउने छन् । 

कोभिड १९ नियन्त्रणमा सक्रिय

२०७६ साल पुसमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण ९कोभिड १९० ले विश्वलाई नै आक्रान्त पार्‍यो । कोभिड १९ को प्रभाव कसरी कम गर्ने, यसबाट हुने क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा विराटनगर महानगरपालिका सुरु देखिनै सक्रिय भएर लाग्यो । सङ्क्रमण फैलिन नदिन लक डाउन गर्नेदेखि लिएर समाजमा सचेतना जगाउन महानगर सक्रिय रह्यो । कोभिड १९ को परीक्षण गर्ने पीसीआर मेसिन कम क्षमताको हुँदा परीक्षणको नतिजा आउन १० दिनसम्म लाग्ने गरेको अवस्थामा महानगरले दाताहरूको सहयोगमा कोसी अस्पतालको पीसीआर मेसिनको क्षमता वृद्धि गर्ने काम गरेको छ । कोभिड १९ को परीक्षणका लागि दिएको स्वाबको नतिजा समयमा नआउँदा सङ्क्रमण फैलिने र सङ्क्रमितले समयमा उपचार नपाउने अवस्थामा पीसीआर मेसिनको क्षमता वृद्धिले कोभिड १९ नियन्त्रणमा सहयोग पुगेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बताउँछन् । कोरोना भाइरस सङ्क्रमितको संख्या अत्यधिक बढेका कारण सङ्क्रमितले अस्पतालमा शय्या नपाउने अवस्थामा महानगरले मारवाडी सेवा सदन, काली मन्दिर, अतिथि सदन लगायतका ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरी महानगरवासीलाई सेवा दिएको छ । नागरिक समाजले स्थापना गरेको अस्थायी कोभिड अस्पताल निर्माणमा समेत महानगरपालिकाको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । दाता परिचालन गरी एक सय शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन महानगर नेतृत्वले उल्लेखनीय कार्य गरेको महानगर प्रमुख पराजुलीको भनाई छ ।

Logo