भक्तपुरमा प्लाज्मा थेरापीका लागि रगत सङ्कलन अभियान शुरु

भक्तपुरमा प्लाज्मा थेरापीका लागि रगत सङ्कलन अभियान शुरु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापी गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले कोरोना भाइरस सङ्क्रमण निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको छ ।

कोरोना सङ्क्रमण निको भएकाको रगतको प्लाज्मा गम्भीर बिरामीका लागि जीवनदान बन्न सक्ने भएपछि रेडक्रसले सङ्क्रमण भएर निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए। कोरोना भाइरसको औषधि र खोप पत्ता नलागेको अहिलेका अवस्थामा सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्मा गम्भीर सङ्क्रमितका लागि जीवनदान हुने भएपछि प्लाज्मा थेरापीका लागि रगतको माग आउन थालेको उनले बताए।

पहिलो पटक शनिबार सङ्कलन गरिएको रगतको प्लाज्मा पाटन अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितलाई उपलब्ध गराइएको छ । आइतबार पनि ए पोजेटिभ रक्त समूहका अर्का एक व्यक्तिको रगत सङ्कलन गरेर बयोधा अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितका लागि प्लाज्मा बनाएर पठाउने तयारी गरिएको उनले बताए।

प्लाज्मा थेरापीका लागि रगत दिने व्यक्तिलाई घरसम्मै रेडक्रसले सवारीसाधन लिएर लिन जाने र भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा रगत सङ्कलन गरी प्लाज्मा छुट्याएर उपलब्ध गराउने गरिएको छ । रेडक्रसले कोरोना सङ्क्रमण निको भएका व्यक्ति र परिवारको सहमतिमा रगत सङ्कलन गर्ने गरेको छ । शनिबारसम्म भक्तपुरका १०२ सङ्क्रमित कोरोना निको भएर फर्किएका छन् । सोमध्ये प्लाज्मा थेरापीका लागि रगत सङ्कलन गर्न भक्तपुरका ६१ जना कोरोना सङ्क्रमण निको भएकालाई सम्पर्क गरेर सूचीमा राखिएको सभापति थापाले जानकारी दिए ।

सभापति थापाले भने, “कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना निको भएको १५ दिन पूरा भएकाको रगतमा रोग प्रतिरोधी क्षमता विकास भइसक्छ, उनीहरुको रगतमा भएको प्लाज्मा अर्को सङ्क्रमित व्यक्तिलाई प्रदान गर्दा गम्भीर अवस्थामा पुगेका सङ्क्रमित बिरामी छिटो निको हुन्छन्, त्यसको प्रयोगसमेत गरेको र सङ्क्रमित बिरामीका परिवारले प्लाज्माका लागि अनुरोध गर्न थालेपछि यो अभियान शुरु गरेका हौँ ।”

निको भएका सङ्क्रमित र उनीहरुको परिवारलाई मनोपरार्श दिएर जीवनदानमा अग्रसर रहन प्रेरणा दिनुपर्ने आवश्यकता रहेको सभापति थापाको भनाइ छ । रेडक्रसले प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने दातालाई रक्तदानपछि पौष्टिक आहार प्रदान गर्ने तयारी गरेको छ । रेडक्रसमा दैनिक चारदेखि पाँच जना कोरोना सङ्क्रमितका परिवार र आफन्तले प्लाज्मा थेरापीको लागि रगत उपलब्ध गराइदिन सम्पर्क गर्ने गरेका छन् ।

निको भएका व्यक्ति र परिवारलाई उसको एक पिन्ट रगतले अर्को सङ्क्रमितको ज्यान बचाउन उपयोगी हुने तथा एक पिन्ट झिक्दा उसको स्वास्थ्यमा कुनै असर गर्दैन भनेर विश्वस्त पार्न सके प्लाज्मा थेरापीका लागि रगतको अभाव नहुने रेडक्रमको भनाइ छ ।

Logo