कोभिड बिरुद्ध सडकमा स्वास्थ्य मन्त्रालय र नेपाल स्काउट (भिडियाेसहित)

कोभिड बिरुद्ध सडकमा स्वास्थ्य मन्त्रालय र नेपाल स्काउट (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल स्काउट, स्वास्थ्य मन्त्रालय, युनिसेफ र हिसानले उपत्यकाका १३ स्थानमा कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयंसेवक परिचालन गरेका छन् ।

कोरोना सङ्क्रमण फैलिएका स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम संचालन गर्न स्वयंसेवक परिचालन गरिएको हो । संक्रमित स्थानमा गई स्वयंसेवकहरुले कोरोनाबाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्ने बताइएको छ ।

काठमाडौं उपत्यकामा दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले नेपाल स्काउट लगायतका संस्थाहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो । शनिबार मात्र उपत्यकामा ४०८ जनामा सङ्क्रमण देखिएको थियो ।

एउटा गाडीमा जनस्वास्थ्यका दुई जना, स्काउटका दुई जना र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने स्थानमा कोरोनाबाट बच्न र बचाउन जनचेतना जगाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले बताए ।

यसरी परिचालित स्वयंसेवकहरुले कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को र भक्तपुरका सबै नगरपालिकामा गई कोरोना बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

उनले करीब एक हप्ता स्वयंसेवकहरुले जनचेतना सम्बन्धी जागरण कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिएका छन् ।

बढी भीड हुने ठाउँमा स्वयंसेवकहरुले कोरोनाबाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन् भने त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र स्यानिटाइजर प्रयोग गर्न समेत सिकाउनेछन् ।उनीहरुले जनस्वास्थ्य प्रवर्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै कोभिड–१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्ने बताइएको छ ।

Logo