नेपालमा कोरोना: पछिल्लो १८ दिनमा १६ हजार संक्रमित, १७ जिल्ला उच्च जोखिममा (भिडियो रिपोर्ट)

नेपालमा कोरोना: पछिल्लो १८ दिनमा १६ हजार संक्रमित, १७ जिल्ला उच्च जोखिममा (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको ग्राफ नेपालमा पनि उकालो लागिरहेको छ ।
भदौ महिनाको पछिल्लो १८ दिनमा मात्रै १६ हजार १८७ जना संक्रमित थपिएका छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ जना पुगेको छ । जसमा पुरुष ३२ हजार ३७७ जना र महिला ९ हजार २७२ जना रहेका छन् ।

यस्तै साउन मसान्तसम्म १०४ जनाको मृत्यु भएकोमा भदौ महिनाको १८ दिनमा मात्रै १५३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भदौ महिनाको पछिल्लो १८ दिनमा ६ हजार ८७२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालका कोरोनामुक्त हुनेको संख्या २४ हजार २०७ जना पुगेको छ ।

नेपालमा अझै १८ हजार ४१३ वटा केश सक्रिय रहेका छन् । अहिलेसम्म संक्रमितमध्ये ०.६ प्रतिशतको मृत्यु भएको छ । यस्तै ५६ दशमलव ४६ प्रतिशत निको भएका छन् भने ४२.९३ प्रतिशत सक्रिय रहेका छन् । सुखद कुरा चाँहि के छ भने सक्रिय केश भन्दा निको हुनेको संख्या धेरै छ ।

मृत्युको ग्राफ बढ्दो, ६१ देखि ७० वर्ष उमेर समूहका धेरैको मृत्यु

भदौको दोस्रो साता सकिंदा कोरोनाबाट मृत्युदर ० दशमलव ६ पुगेको छ। भदौको पहिलो साता मृत्युदर ० दशमलव ५ थियो भने साउनमा मृत्युदर ० दशमलव ४ थियो । भदौं १४ गते सर्वाधिक अर्थात २४ घण्टामा १४ जनाको मृत्यु भएको थियो ।

प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना संक्रमणबाट बुधवारसम्म प्रदेश नं १ मा २९, प्रदेश नं २ मा ८९, वाग्मती प्रदेश ५३, गण्डकी प्रदेश १३, प्रदेश नं ५ मा ३२, कर्णाली प्रदेश ६ तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका धेरै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार ६१ देखि ७० वर्ष उमेर समूहका १९ महिला र ३६ पुरुषसहित ५५ जनाको मृत्यु भएको छ । त्यसपछि ४१ देखि ५० वर्ष उमेर समूहका ११ महिला र ३३ पुरुषसहित ४४ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ९ महिला र ४० पुरुषसहित ४९ जना तथा ७१ देखि ८० वर्ष उमेर समूहका ८ महिला र २७ पुरुषसहित ३५ जनाको मृत्यु भएको छ ।

१० वर्ष मुनिका उमेर समूहका संक्रमित मृत्यु हुनेको संख्या ३ महिला र दुई पुरुषसहित पाँच जना, ११ देखि २० वर्ष उमेर समूहका ४ महिला र दुई पुरुषसहित ६ जना तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र दश पुरुषसहित १४ जना रहेका छन् । यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र २० पुरुषसहित २४, तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र १४ पुरुषसहित १७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

ज्यान गुमाउनेमा दीर्घरोगी धेरै रहेका छन् । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या अत्यन्त न्यून रहेको बताउँदै आएका छन्। अन्य रोगले मृत्यु भएपनि उनमा कोरोना पोजिटिभ पाइएमा गणना गर्नुपर्ने डब्लुएचओको मान्यता रहेकाले नेपालमा मृतकको संख्या बढी देखिएको प्रधानमन्त्री ओलीको तर्क छ।

२१ देखि ३० वर्ष उमेर समूहलाई बढी संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको तथ्यांक अनुसार नेपालमा २१ देखि ३० वर्ष उमेर समूहका मानिसलाई बढी संक्रमण भएको देखिएको छ । अहिलेसम्म यो उमेर समूहमा ३ हजार १८५ महला र ११ हजार ४८६ जना पुरुष गरी १४ हजार ६७१ जना कोरोना संक्रमित भएका छन् ।

त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहकालाई बढी संक्रमण भएको पाइएको छ । यो उमेर समूहमा १० हजार ४३८ जना संक्रमित भएका छन् । त्यसपछि बढी संक्रमण ४१ देखि ५० वर्ष उमेर समूहलाई भएको देखिन्छ । यो उमेर समूहका ५ हजार ४५१ जना कोरोना संक्रमित भएका छन् ।

यस्तै ११ देखि २० वर्ष उमेर समूहका ४ हजार ६९८ जना, ५१ देखि ६० वर्ष उमेर समूहका २ हजार ८३९ जना, ० देखि १० वर्ष उमेर समूहका एक हजार ४६६ जना संक्रमित भएका छन् । यस्तै बढी जोखिमयुक्त ६१ देखि ७० वर्ष उमेर समूहका एक हजार १६२ जना संक्रमित भएका छन् । यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ५२२ जना र ८१ वर्ष भन्दा माथिका १३८ जना कोरोना संक्रमित भएका छन् ।

उच्च जोखिममा १७ जिल्ला

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका विभिन्न १७ वटा जिल्ला कोरोनाको उच्च जोखिममा रहेका छन् । महाशाखाले मृत्युदर, संक्रमितको अवस्था, संक्रमण दर, निको दरलगायतका आधारमा जिल्लाहरुलाई उच्च जोखिम, जोखिम, औषत र न्युन जोखिमको सूचिमा वर्गिकरण गर्ने गरेको छ ।

उच्च जोखिममा रहेका जिल्लाहरुमा झापा, सिराहा, धनुषा र महोत्तरी ( रहेका छन् । यस्तै रौतहट, पाल्पा, गुल्मी, प्युठान पनि उच्च जोखिमयुक्त जिल्लाको सूचिमा परेका छन् । यस्तै अर्घाखाँची, कपिलवस्तु, कैलाली पनि उच्च जोखिमयुक्त जिल्लको सूचिमा समावेश छन् ।
यस्तै डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बैतडी र कन्चनपुर पनि उच्च जोखिमको सूचिमा रहेका छन् ।

सबैभन्दा बढी संक्रमित काठमाडौंमा, १७ जिल्लामा २ सय भन्दा बढी सक्रिय केश

राजधानी काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार काठमाडौं उप्त्यकामा संक्रमितको संख्या ७ हजार ३८ जना पुगेको छ । दुई सय भन्दा बढी संक्रमित रहेको अन्य जिल्लाहरुमा पर्सा, रौतहट, सर्लाही, मोरङ, सुनसरी रहेका छन् । यस्तै सिराहामा, धनुषा, महोत्तरीमा पनि २ सय भन्दा बढी संक्रमित रहेका छन् ।

उता बारा, मकवानपुर, काभ्रे, ललितपुर, भक्तपुर, चितवन, बाँके र कैलालीमा पनि २ सय भन्दा बढी संक्रमित विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भइरहेको छ ।

नेपालमा पहिलोपटक माघ ९ गते चीनबाट आएका विद्यार्थीमा कोरोना भाइरस देखिएको थियो भने यसको संक्रमणबाट गत जेठ २ गते पहिलो पटक सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो ।

Logo