कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहा ।

कोरोना सङ्क्रमणबाट सिरहामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उहाँको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो ।

उपचारकै क्रममा उहाँको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सिरहामा सात पुगेको छ ।

सिरहामा निषेधाज्ञा १२ दिन थपियो

सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ । यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ ।रासस

Logo