उपसभामुख तामाङ आमा-छोरा नै कोरोना सङ्क्रमण मुक्त

उपसभामुख तामाङ आमा-छोरा नै कोरोना सङ्क्रमण मुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छिन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन् ।

उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेकी छिन् । “राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिएकी छिन् ।

मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहनेछु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु”, उपसभामुख तामाङले भनेकी छिन् ।

तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको बताउँदै सङ्क्रमण भइहालेमा आतङ्कित नभई स्वास्थ्य सम्बन्धी आवश्यक विधिहरु अवलम्बन गरिनु पर्ने उल्लेख गरेकी छिन् । “मुख्यगरी कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्ने भन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्दछु”, उपसभामुख तामाङले भनेकी छिन् । उपसभामुख तामाङ र उनका छोरालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु विगत १४ दिनदेखि हेटौँडास्थित निवासमा आइसोलेसनमा थिए ।रासस

Logo