एक हप्ता यता कोरोनाका कारण कति नेपालीको मृत्यु भयो ?

एक हप्ता यता कोरोनाका कारण कति नेपालीको मृत्यु भयो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार नेपालमा कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो समय नेपालमा डढेलो झै फैलिएको कोरोना भाइरसबाट आइतबार अहिले सम्मकै उच्च संख्यामा मृत्यु भएको हो । ४ जना महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।

त्यस्तै आइतबार अहिलेकै उच्च संख्यामा संक्रमित पनि थपिएको छ । आइतबार मात्र १ हजार २ सय २१ जनामा कोरोना भेटिएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । आइतबार उपत्यकामा मात्र ४ सय २९ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा ३७२ जना, भक्तपुरमा ४५ जना र लतितपुरमा १४ जना संक्रमण देखिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १८ जना रहेको छ । जसमा प्रदेश नम्बर १ मा १७३७ जना कोभिड अस्पताल साथै होम आइसोलेशनमा रहेका छन्् । यस्तै प्रदेश नम्बर २ मा ६,००४ जना, बागमती प्रदेशमा ६,३२० जना, गण्डकी प्रदेशमा, ४९८ जना आइसोलेशनमा रहेका छन् । त्यस्तै प्रदेश नम्बर ५ मा १,५७७ जना, कर्णाली प्रदेशमा ३७७ जना र सुदुरपश्चिममा १,००५ जना रहेका छन् ।

कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । तर, भदौ लागेपछि मृतकको संख्याले तिब्र गति लिएको छ । पछिल्लो एक साता यता मृत्यु हुनेको संख्या ह्वात्तै बढेर २२१ पुगेको छ । गत भदौ ८ सोमबार ३ जना महिला र ५ जना पुरुषको मृत्यु भयो । योसंगै मृत्यु हुनेको संख्या १५७ जना पुग्यो । यस्तै भदौ ९ गते मंगलबार १ जना महिला र ६ जना पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६४ जना पुग्यो । भदौ १० बुधबार पनि २ जना महिला र ९ जना पुरुष गरी जम्मा ११ जनाले ज्यान गुमाए । भदौ ११ गते ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भयो ।

शुक्रबार सम्ममा उक्त संख्या बढेर १९५ पुग्यो । शुक्रबार ४ जना महिला र ८ जना पुरुष गरी १२ जनाको निधन भयो । त्यस्तै शनिबार ३ जना महिला र ९ जना पुरुष गरी १२ जनाको मृत्यु भएर मृत्यु संख्या २०७ जना पुगेको थियो भने, आइतबार सर्वाधिक १४ जना को मृत्यु भएर मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।

मृत्यु हुनेमा महिला २६ प्रतिशत अर्थात् ५८ तथा पुरुष ७४ प्रतिशत अर्थात् १६३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म कोरोनाबाट पर्सा जिल्लामा सबै भन्दा धेरै ३५ जनाको मृत्यु भएको छ भने दोस्रो काठमाडौँमा २१ जनाको मृत्यु भएको छ ।

त्यस्तै मोरङमा १७, धनुषामा १३, बारामा १३, रुपन्देहीमा ९, बाँके, भक्तपुर र सुनसरीमा सात–सात, सिरहा, महोत्तरी र ललितपुरमा छ–छ , कैलाली, सप्तरी, कास्की र चितवनमा पाँच–पाँच, सर्लाही, कपिलवस्तु, रौतहट र मकवानपुरमा चार–चार, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, पाल्पा, गोर्खा र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, नवलपरासी, धादिङ, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना संक्रमणबाट आइतबारसम्म प्रदेश नं १ मा २८, प्रदेश नं २ मा ८७, वाग्मती प्रदेश ५१, गण्डकी प्रदेश १२, प्रदेश नं ५ मा ३१, कर्णाली प्रदेश ६ तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १० वर्ष मुनिका उमेर समूहका संक्रमित मर्नेको संख्या दुई महिला र दुई पुरुषसहित चार, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र दश पुरुषसहित १४ जना रहेका छन् ।

यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १६ पुरुषसहित २०, ४१ देखि ५० वर्ष उमेर समूहका ११ महिला र ३३ पुरुषसहित ४४, ५१ देखि ६० वर्ष उमेर समूहका ७ महिला र ३५ पुरुषसहित ४२, ६१ देखि ७० वर्ष उमेर समूहका १६ महिला र ३२ पुरुषसहित ४८, ७१ देखि ८० वर्ष उमेर समूहका ७ महिला र २२ पुरुषसहित २९ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र ११ पुरुषसहित १४ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २० हजार ८ सय २२ जना रहेका छन् । यो ५५ दशमलव पाँच प्रतिशत हो ।

Logo