नेपाल स्काउट लगायत आधा दर्जन संस्थाको सक्रियतामा स्वास्थ्यकर्मी लक्षित निःशुल्क बससेवा

नेपाल स्काउट लगायत आधा दर्जन संस्थाको सक्रियतामा स्वास्थ्यकर्मी लक्षित निःशुल्क बससेवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपत्यका भित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ। कोरोना संक्रमण बढेको र करिव २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको हो ।

यस कामका लागि विभिन्न सामाजिक संघसंस्थाहरुले सहकार्य गरेका छन् । जसमा नेपाल स्काउट, नेपाल मेडिकल एशोसियशन, नेपाल नेशनल अस्पताल कलङ्की, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) लगायत छन् । अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको सम्बन्धित संस्थाहरुले जनाएका छन् ।

सवारी साधनका कारण स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीमा कुनै बाधा नपरोस भनेर निःशुल्क बससेवा सुरु गरिएको हो। आजदेखि सुरु गरिएको यस कार्यमा सुरुमा ३ वटा बसले सेवा दिनेछन् । आवश्यक भएमा बस थप्न सकिने नेपाल स्काउटले जनाएको छ । सबै बसहरुमा स्काउटका सदस्यहरु परिचालित हुने बताइएको छ । तालिका अनुसार बस विहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म संचालनमा आउनेछन् ।

यी बसहरुले अस्पताल क्षेत्रको रुटबाट सेवा शुरु गर्नेछन् । बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ । यसैगरि तेस्रो बसले बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस किसिमको बस सेवाले स्वास्थ्यकर्मीहरुले ठूलो राहतको अनुभव गरेका छन् ।

कोरोना संक्रमण सुरु भए यता यस्ता सामाजिक संस्थाहरुले आआफ्नो सक्रियता अघि बढाएका छन् । नेपाल स्काउटकै कुरा गर्ने हो भने विगतदेखि नै यसले आफ्नो उपस्थिती सामाजिक सेवामा देखाउँदै आएको छ । विगत वर्षहरुमा प्राकृतिक विपति पर्दा समेत पीडितहरुलाई राहत वितरणमा पनि उसले सहयोग गरेको थियो । यता नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको धुलिखेल अस्पतालमा त्यतिबेला मृतकको शव व्यवस्थापनमा कोही अग्रसर नभएपछि भक्तपुरका २ युवाहरुले जेठ ३ गते धुलिखेल अस्पताल पुगेर मृतकको शव व्यवस्थापन गरेका थिए । यति मात्र होइन ठाउँ ठाउँमा हात धुनका लागि पानी ट्यांकी राखेर सहयोग गर्ने, लकडाउनले समस्यामा परेका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्ने र पशुपति तथा स्वयंम्भुमा रहेका जनावरहरुलाई खानेकुरा दिने लगायतमा पनि नेपाल स्काउटले ठूलो भूमिका खेलेको थियो । आगामी दिनमा पनि यस्ता कामहरुमा संस्था सक्रिय रहने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले बताए ।

उपत्यकामा पछिल्लोपटक भदौ ४ गतेदेखि सुरु निषेधाज्ञा भदौ १७ गतेसम्म जारी रहनेछ।

Logo