सरकारको निर्णयप्रति जनस्वास्थ्यविद्हरुको चेतावनी (भिडियोसहित)

सरकारको निर्णयप्रति जनस्वास्थ्यविद्हरुको चेतावनी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । परीक्षणलाई नजर अन्दाज गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय पूर्णरुपमा गलत भएको जनस्वास्थ्यविज्ञहरुको भनाइ छ ।

संक्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भए पनि सामान्य लक्षण भएका र लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितको भनाई छ । पहिलो पटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निष्कृय नभएको परिवेशमा नेपालमा १४ दिनमा विना परीक्षण छोड्ने निर्णय पूर्ण रुपमा गलत भएको उनले बताए ।

यता सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुदैन भन्ने तथ्यहरु पेश गरेर निर्देशिका बनाएपछि सोही अनुसार निर्णय गरिएको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले डब्ल्यूएचओको निर्देशिकालाई आधार बनाएर मन्त्रालयले आफ्नो निर्देशिकाहरु परिमार्जन गरिएको बताए । लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने उनले बताए ।

जनस्वास्थ्य विज्ञ दीक्षित पनि उनको भनाईमा असहमति जनाउँछन् । तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको उल्लेख गर्दै उनले १५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यका र तराईको जस्तो अवस्था देशभरी हुने चेतावनी दिए ।

भिडियो :

 

नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरी १५ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उनले बताए । सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोलि हजारौँ बेड थपिने अवस्था आउन सक्ने चेतावनी उनले दिए ।

अर्का जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे पनि परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त नहुने बताउँछन् । स्वास्थ्य मन्त्रालय अन्र्तगतको आपतकालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर गरी पोेजेटिभ आएमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई थप ४ दिन राखेर परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको थियो । १४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोध भर्ना नबेहोर्ने चेतावनीसहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयहरुलाई पत्राचार गरेको हो ।

Logo