विश्वमा कोरोना संक्रमित देश मध्ये नेपाल ६४ औं स्थानमा, कुन जिल्लामा कस्तो छ अवस्था ?

विश्वमा कोरोना संक्रमित देश मध्ये नेपाल ६४ औं स्थानमा, कुन जिल्लामा कस्तो छ अवस्था ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणले पछिल्लो समय नेपालमा पनि जटिल रुप लिएको छ । गत जनवरी २३ अर्थात माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो । त्यसपछि कछुवाको गतिमा बढेको कोरोना संक्रमितको संख्या लकडाउन खुलेपछि खरायोको गतिमा बढ्न थालेको छ । दैनिक रुपमा विश्वमा लाखौंको संख्यामा संक्रमित थपिरहेको अवस्थामा अहिले नेपालमा पनि दैनिक ६ सय भन्दा बढी संक्रमित थपिरहेका छन् भने मृतकको संख्या १ सय ८३ जना पुगिसकेको छ । कोरोनाको जोखिम बढेसँगै स्थानिय तह र प्रशासनले पुनः निषेधाज्ञा र लकडाउनको घोषणा गरेका छन् ।

कुन कुन जिल्लामा बढी संक्रमित देखिएका छन् त ?

देशका विभिन्न १० वटा जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंसहित मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, कपिलबस्तु, दैलेख र कैलालीमा एक हजार भन्दा बढी संक्रमित फेला परेका हुन् । जसमध्ये राजधानी काठमाडौंमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । काठमाडौंमा हालसम्म ३ हजार ४ सय ५५ जना संक्रमित भएका छन् । त्यस्तै, मोरङमा १ हजार ५ सय ७९ जना, धनुषामा १ हजार ४ सय ९ जना, महोत्तरीमा १ हजार १ सय ९० जना, सर्लाहीमा १ हजार ५ सय ७८ जना, रौतहटमा १ हजार ८ सय २९ जना, पर्सामा २ हजार १ सय ५४ जना, कपिलबस्तुमा १ हजार ९९ जना, कैलालीमा १ हजार ५ सय ६४ जना र दैलेखमा १ हजार ५६ जना संक्रमित भएका छन् ।

त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएका १४ वटा जिल्लाहरु छन् । जसमा झापा, सुनसरी, सप्तरी, बारा, ललितपुर, रुपन्देही, पाल्पा, दाङ, बाँके, सुर्खेत, अछाम, बाजुरा, डोटी र कन्चनपुर रहेका छन् । भने, दुई सय भन्दा बढी संक्रमित भएका १८ जिल्ला रहेका छन् । सिरहा, मकवानपुर, भक्तपुर, चितवन, पूर्वी नवलपरासी, तनहुँ, पश्चिम नवलपरासी, स्याङ्जा, कास्की, अर्घाखाँची, गुल्मी, बागलुङ, प्युठान, सल्यान, बर्दिया, बझाङ, डडेल्धुरा र बैतडी रहेका छन् ।

कुन कुन जिल्ला ‘रेडजोन’मा ?

सरकारले पाँच सय भन्दा माथि संक्रमितहरु उपचारार्थ भइरहेका नौ जिल्लाहरुलाई ‘रेडजोन’मा राखेको छ । काठमाडौं, ललितपुर, मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट र सर्लाही ‘रेडजोन’मा परेका हुन् । नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिए पनि हाल दुई जिल्लामा भने संक्रमितको संख्या शून्यमा झरेको छ । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

लकडाउन खुलेसँगै कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो छ । कोरोनाको जोखिम बढेसँगै कतै प्रशासनले त कतै स्थानिय तहले अतिआवश्यक बाहेकका व्यवसायमा रोक लगाएका छन् । विभिन्न ५० वटा बढी जिल्लाहरु आंशिक तथा पूर्ण लकडाउन भएका छन् । संक्रमण नियन्त्रण ऐन अनुसार, निषेधाज्ञा जारी गरेका छन् । यता रेडजोनमा परेका उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा पनि प्रशासन र स्थानिय तहले गते ४ भाद्र देखि १७ गतेसम्म निषधाज्ञा जारी गरेका छन् ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । जसमध्ये दुई भारतीय पुरुष र एक चिनियाँ महिला छन् । नेपालमा कोभिड १९ बाट मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग अथवा स्वास्थ्य समस्या भएकाहरुको संख्या बढी छ भने, कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून रहेको छ । नेपालमा पहिलो पटक गत जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण निधन भएको थियो । हालसम्म नेपालमा मृत्यु हुनेमा सबैभन्दा कम उमेर अन्तर्गत ४९ दिने बालक र सबैभन्दा बढी ८५ महिला र पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाले ज्यान गुमाउने मध्ये २१.५ प्रतिशत विदेशबाट आएका छन् । जसमा भारत, कतार, चीन, मलेसियाबाट आएकाहरु छन् ।

संक्रमितमध्ये कुन उमेर समूहमा कति ?

० देखि १० वर्ष उमेर समुहका पुरुष ७८१ जना, माहिला ५४१ जना गरी जम्मा १,३२२ जना संक्रमित भएका छन् । त्यस्तै क्रमश ः ११ देखि २० वर्षका पुरुष ३,५४४ जना, महिला ६९५ जना गरी जम्मा ४२३९ जना, २१ देखि ३० वर्ष सम्मका पुरुष १०,२८२ जना, महिला २,६१९ गरी जम्मा १२,९०१ जना, ३१ देखि ४० सम्मका पुरुष ७,१५६, महिला १,५८४ जना गरी जम्मा ७४० जना संक्रमित छन् । यस्तै ४१ देखि ५० वर्ष सम्मका पुरुष ३,६१५ र महिला ८९७ गरी जम्मा ४,५१२ जना, ५१ देखि ६० सम्मका पुरुष १,७४५ र महिला ५१ जना गरी जम्मा २,२६३ जना, ६१ देखि ७० सम्मका पुरुष ६२६ जना, महिला २७४ जना गरी जम्मा ९०० जना, ७१ देखि ८० सम्मका पुरुष २१४ जना, महिला १७१ जना गरी ३८५ जना संक्रमित भएका छन् भने ८० वर्ष माथिका ३१ जना पुरुषहरु संक्रमित भएका छन् ।

विश्वमा नेपालको स्थान कहाँ ?

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, नेपालमा ३५ हजार ५२९ जना संक्रमित भएका छन् । यो सँगै विश्वमा नेपाल ६४ औं स्थानमा पुगेको छ भने, पहिलो स्थानमा अमेरिका रहेको छ ।

Logo