बनेपामा ६५ जना संक्रमित पुगेपछि ५० शय्याको आइसोलेशन कक्ष तयार, क्वारेन्टिनहरु रित्तिँदै

बनेपामा ६५ जना संक्रमित पुगेपछि ५० शय्याको आइसोलेशन कक्ष तयार, क्वारेन्टिनहरु रित्तिँदै

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि बनेपा नगरपालिकाले ५० शय्याको आइसोलेसन कक्ष तयार गरेको छ ।

बनेपा नगरपालिका-५ स्थित बनेपा प्राविधिक शिक्षालय भवनका चार वटा कक्षामा सो आइसोलेसन कक्ष तयार गरेको हो । नगरपालिकामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ६५ पुगेको छ । तीमध्ये २८ जना उपचारपछि घर फर्किएका छन् । बाँकी ‘होम आइसोलेसन’ तथा विभिन्न अस्पतालका आइसोलेसन कक्षमा उपचाररत रहेको नगरप्रमुख लक्ष्मी नरसिं वादेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित संख्या बढ्न सक्ने भएकाले हाल ५० वेडको आइसोलेसन कक्ष तयार गरिएको हो । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेसन कक्ष ब्यवस्थित गरेका हौँ”, उनले भने।

हाल व्यवस्थित गरिएको उक्त आइसोलेसनमा ‘होम आइसोलेसन’ मा रहेका चार जनालाई राखिएको छ । तयार गरिएको सो आइसोलेसन कक्षमा पुरुष, महिला, बालबालिका तथा नर्सिङ स्टेशनका लागि छुट्टछुट्टै वेड राखिएको छ । यस अघि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच वेडको आइसोलेसन कक्ष तयार गरिएको थियो । नगरप्रमुख वादेले भने, “सङ्क्रमित थपिँदैछन्, अस्पतालको पाँच वेडले कसरी धान्छ ? त्यसैले हाललाई ५० वेडको आइसोलेसन कक्ष बनाएका छौँ ।”

सो आइसोलेसन कक्षको व्यवस्थापनका लागि बनेपाका युवा व्यवसायी रत्नकुश रञ्जितले २० वेड सहयोग गरेका थियो । अन्य आवश्यकीय सम्पूर्ण सामग्री नगरपालिकाले व्यवस्थापन गरेको प्रमुख वादेले बताए । उनका अनुसार आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान तथा त्यहाँ बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खानाको व्यवस्थापन गरिएको छ ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १४६ पुगेको छ । तीमध्ये ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ । बाँकी ८२ जना विभिन्न स्थानका आइसोलेसन कक्षमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसैबीच, जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र र पोष्टको आइतबारको संयुक्त बैठकले बनेपास्थित शिर मेमोरियल तथा धुलिखेल अस्पताललाई आफ्नो कूल वेड क्षमतामध्ये ३३ प्रतिशत वेड कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गर्न आग्रह गरेको छ । पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले आइसोलेसन कक्ष व्यवस्थित गरेका स्थानीय तहलाई वेड सङ्ख्या बढाउन तथा नभएकालाई व्यवस्थित गर्न आग्रह गरिएको बताए । “स्थानीय तहमा कम्तिमा १० वेडको आइसोलेसन कक्ष तयार गर्नुस् भनेर धेरैपटक आग्रह गरियो”, उनले भने । उनका अनुसार हाल २०० वेड भएको शिर मेमोरिलमा छ तथा ४५० वेड भएको धुलिखेलमा ३१ वेड मात्रै आइसोलेसनका लागि प्रयोग गरिएको छ ।

पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा ०७६ चैत महिना यता १३ स्थानीय तहमध्ये पाँच वटाले मात्रै एक सय वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरेका छन् । तीमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरपालिकामा छ वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थापन गर्न सकेका छैनन् । हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तह लगायत संस्थाले ८४५ शैयाको क्वारेन्टिन व्यवस्थापन गरेका छन् । त्यसो त, जिल्लामा सङ्क्रमित बढ्दै गएपछि आइसोलेसन वेड बढाईरहँदा क्वारेन्टिन भने रित्तिंदै गएका छन् ।

हाल ३२ पुरुष र दुई महिला गरी कूल ३४ जना क्वारेन्टिनमा बसेका छन् । तीमध्ये बनेपामा छ, धुलिखेलमा १४, पनौतीमा दुई, पाँचखालमा दुई, नमोबुद्धमा एक, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा छ र भुम्लुमा सात जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, रोशी, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन् । हालसम्म ९४३ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाई अवधि सकिएपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथ्याङ्क छ ।रासस

Logo