‘एनआरएनएलाई सुदृढ, सक्षम र साझा बनाउन मसँग ठोस कार्ययोजना छ’ -बुद्धिसागर सुवेदी

‘एनआरएनएलाई सुदृढ, सक्षम र साझा बनाउन मसँग ठोस कार्ययोजना छ’ -बुद्धिसागर सुवेदी

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएका छन् । एनसिसि अमेरिकाका अध्यक्षका रुपमा उनले जे जसरी काम गरेका छन्, त्यसबाट उनको संगठनात्मक क्षमता, चुस्त कार्यशैली र कुशल नेतृत्व झल्कन्छ । स्पष्ट भिजन, प्रष्ट वत्ता उनको आम चिनारी हो । उनै सुवेदीले यसपाली ठोस कार्ययोजनासहित एनआरएनएको महासचिवमा आफ्नो उम्मेदवारी दिएका हुन् । महासचिवका रुपमा उनको योजना के छ ? दृष्टिकोण के छ ? यसै सन्दर्भमा प्रस्तुत छ सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश- 

एनसीसीको अध्यक्षबाट फड्को मारेर एकैचोटी एनआरएनएको महासचिवमा उम्मेदवारी दिंदै हुनुहुन्छ ? किन आफूलाई महासचिव नै बन्नुपर्छ भन्ने लाग्यो ? 

-महासचिव भनेको अध्यक्ष पछिको कार्यकारी पद हो । कार्यालय कसरी सञ्चालन गर्ने र अध्यक्षले ल्याएका (पोलेसी) राजनीतिलाई कसरी सुधार गर्ने भन्ने कुराको सम्पूर्ण जिम्मेवारी महासचिवसँग हुन्छ । एनसीसीको अध्यक्ष हुँदा मैले जति र जसरी काम गरे, त्यो इतिहासलाई साथीहरुले उचित मूल्यांकन गर्नुहुनेछ भन्ने लाग्छ । मेरो कार्यशैली एक्सन ओरिएन्टेड छ । अहिले मैले अध्यक्षका लागि महेश श्रेष्ठज्युलाई समर्थन गरिरहेको छु । उहाँ पनि एक्सन ओरिएन्टेड हुनुहुन्छ । यसको सोझो अर्थ, हामी पदका लागि होइन कामका लागि जाने हो । 

हाम्रो एनआरएनएमा कतिपय साथी पद वा नामका लागि उम्मेदवारी दिने गरेको छ भन्ने चर्चा सुन्ने गरेको छु । त्यसैले पदहरु नामका लागि मात्र हुनसक्छ भनेर मैले महासचिव रोजेको हुँ, जहाँ नाम भन्दा ठूलो काम हुन्छ । 

म के विश्वास दिलाउन चाहन्छु भने, महासचिवको रुपमा म इतिहास रच्नेछु र संस्थालाई सुदृढ, सवल, सक्षम र साझा अर्थात सबैको बनाउन चाहन्छु । विगतमा भए गरेका गल्ती कमजोरीलाई म दोहोर्याउन दिने छैन । सभ्य र सरल तरिकाले महासचिव चलाउँछु भन्ने कुरामा म विश्वस्त छु । 

तपाईंले आफ्नो कार्यशैली एक्सन ओरियन्टेड हो भन्नुभयो । आफूलाई सक्षम हो भनेर दाबी गर्नका लागि तपाईंसँग के कस्ता आधार छन् ? 

-म एनसीसीको अध्यक्ष हुँदा के कति गरें भनेर त्यसको फेहरिस्त सुनाउने हो भने लामै समय लाग्छ । दुई बर्षे कार्यकालमा मैले अमेरिकामा चार सयभन्दा बढी गतिविधि सञ्चालन गरें । यसमध्ये केही मात्र म अहिले यहाँ उल्लेख गर्न चाहन्छु । जस्तो संसारभर रहेको ८६ वटा मुलुकमा संस्थाको आफ्नै स्वामित्वको भवन छैन । जो संस्थाका अध्यक्ष भएर आउँछन्, त्यससँगै आफू पायकमा कार्यालय स्थान्तरण हुन्थ्यो । यसरी कुनै स्थायी ठेगाना थिएन । अमेरिकामा पनि यस्तै अवस्था थियो । 

पदहरु नामका लागि मात्र हुनसक्छ भनेर मैले महासचिव रोजेको हुँ, जहाँ नाम भन्दा ठूलो काम हुन्छ ।

मैले पहिल्यै भनेको थिएँ, यदि म अध्यक्ष भएँ भने संस्थाको जग स्थायी रुपमा हाल्नेछु । मैले छोटो कार्यकालमा अमेरिकामा संस्थाको आफ्नै भवन बनाएँ, त्यो पनि एक रुपैयाँ लोन नलिई । अहिले अमेरिकामा संस्थाको आफ्नै भवन छ । त्यहाँ अरु कोठाहरु पनि छन्, जसको भाडाले सचिवालयको खर्च व्यवस्थापन र अरु कुराहरु चलेको छ । 

त्यसैगरी मैले नेपाल सरकार र अमेरिकी सरकारबीचको सम्बन्धलाई थप हार्दिकतापूर्वक जोड्ने काम गरेको छु । यी दुई सरकारलाई जोड्नु भोलेन्टियर अर्गनाइजेन जस्तो सजिलो कुरा होइन । तर, यो असजिलो कुरा पनि हामीले सम्पन्न गर्यौं ।

कोरोना महाव्याधिका बेला अमेरिकास्थित युटाहा नेशनल गार्डले निशुल्क रुपबाट नेपालमा सामान ढुवानी गरिदिएको छ । अबको दिनमा पनि कुनै प्रकोप वा महामरी चल्यो भने यसैगरी अमेरिकी सेनाले सहयोग दिने किसिमको वातावरण मिलाएका छौं । अहिले एक चोटीलाई सामान ढुवानी गरिदियो भन्ने ठूलो कुरा नहोला, तर यसले जुन सम्बन्ध स्थापित भएको छ त्यसले दीर्घकालसम्म प्रभाव पारिरहनेछ ।

नेपालको दूर्गम ठाउँ सल्यानमा सडक र यातायात अभावको कारण गर्भवतीले ज्यान गुमाउनुपरेको दुःखद अवस्था छ । सुत्केरी व्यथाले च्यापेपछि डोकोमा बोकेर अस्पताल लानुपर्ने बाध्यता छ । हामीले ५५ लाख खर्च गरेर त्यहाँ बर्थ प्लेस सेन्टर निर्माण गरिदियौं, जुन अहिले सञ्चालनमा छ । त्यहाँ नगरपालिका र जिल्ला अस्पतालबीच सहकार्य गराएर हामीले सो काम सहज बनाइदिएका छौं । यति भएपछि आमाहरुले अकालमा ज्यान गुमाउने जोखिम पक्कै कम हुनेछ । 

महासचिवको रुपमा म इतिहास रच्नेछु र संस्थालाई सुदृढ, सवल, सक्षम र साझा अर्थात सबैको बनाउन चाहन्छु । विगतमा भए गरेका गल्ती कमजोरीलाई म दोहोर्याउन दिने छैन ।

एनआरएनएले खाेलेकाे देवघाटमा एउटा बृद्धाश्रम छ । बृद्धाश्रममा बस्ने आमाबुवाले एउटा सिटामोल किन्नका लागि भरतपुर अस्पताल जानुपर्ने बाध्यता थियो । मधुमेह जाँच गर्न, उच्च रक्तचाप जाँच गर्न त्यती टाढा पुग्नुपथ्र्यो । हामीले अमेरिकाको एक चिकित्सा संस्थासँग मिलेर त्यहाँ एउटा क्लिनिक स्थापना गरेका छौं । त्यो क्लिनिकमा बुवाआमाले सहज रुपमा आफ्नो स्वास्थ्य जाँच गर्नेदेखि औषधि किन्नेसम्मको काम गर्न सक्छन् । 

तपाईं महासचिव भइसकेपछि के गर्नुहुन्छ ? त्यसको कुनै खाका छ ? 

-महासचिव भएपछि यस्तै केही काम गर्नेछु, जसलाई भोलि सबैले सम्झनेछन् । बुद्धि सुवेदी महासचिव हुँदा यो–यो काम त फरक तरिकाले गर्यो है भनेर इतिहासले सम्झनेछ । यसमा म बुँदागत रुपमै केही भन्नेछु । 

एउटा गर्नैपर्ने भनेको हामीले एनआरएनए नन पोलिटिकल भोलेन्टियर अर्गनाइजेशन भएकाले मैले यस संस्थामा आइसकेपछि पूर्ण समय दिनुपर्छ । मसँग रहेको सचिवालयलाई चुस्त र दुरुस्त ढंगले चलाउनुपर्छ । मसँग उपसचिव, सचिव छन्, उनीहरुलाई कार्यलय सञ्चालनमा मैले सहभागी गराएँ भने काम छिटो, छरितो हुनका साथै अनावश्यक जनभारको बोझ हुँदैन । 

यसो गर्दा नचाहिने कुरामा पैसा खर्च हुँन पाउँदैन । यसरी वचत भएको पैसालाई अरु नै परोपकारी काममा लगाउन सकिन्छ । यो मेरो एजेन्डा पनि हो । हामी अहिले चुनावमुखी भएका छौं । हरेक ६, ७ महिनामा कुनै न कुनै तप्कामा चुनाव भएका छन् । एनसिसि, आइसिसिको चुनाव हुन्छ । यससँगै डेलिगेसनका कुरा आउँछ । यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीहरु छताछुल्ल हुन थाल्छ । त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्नुपर्छ । यसका लागि सम्पूर्ण पञ्जिकृत सदस्यलाई भोटिङ प्रणालीमा लगेर एकैपटक सोझै भोटिङबाट आइसिसिदेखि एनसिसिसम्म एउटै ब्यालेटबाट हामीले चुनाव गराउन सकिन्छ । यस्तो प्रबन्ध म आफ्नै कार्यकालमा गर्छु भन्ने लाग्छ । 

विदेशमा बसेका गैरआवसीय नेपालीहरुसँग सानोठूलो आयस्रोत सबैसँग छ । स–सानो लगानीलाई एकमुष्ठ बनाएर आफ्नो देशका लागि लगानी गर्न सकिन्छ । आज हामीले विदेशमै हुर्काउँदै गरेका दोस्रो पुस्तालाई स्वदेशसँग जोड्नका लागि यो राम्रो कडी हुनसक्छ । 

एनसीसीमुखी एनआरएनए बनाउनुपर्छ भन्ने लाग्छ मलाई । एनसीसीले सबै अपजश व्यहोर्नुपर्ने, ग्रास लेभलका मान्छेहरु जे जे भन्छन्, त्यसका जवाफदेही हुनुपर्ने । एनसीसी र त्यसको माथिल्लो तहबाट गरिनुपर्ने व्यवहार मिलिरहेको छैन, जुन मिलाउन जरुरी छ । 

एनसीसीमुखी बनाइयो भने कतिपय काममा उसलाई स्वच्छन्दता हुन्छ र संस्थामा सुधार भएर जान्छ । एनसीसी र आइसीसीको बीचमा ठूलो खाडल छ । एनसीसीको अध्यक्षलाई र आइसिसीले के गरिरहेको हो थाहा छैन । अबको दिनमा प्रत्येक आइसीसीको मिटिङमा एनसीसी अध्यक्षहरु सहभागी गराउनुपर्छ । उनीहरुलाई कहाँ कहाँ के कस्ता समस्या छ भनेर त्यही अनुसार समाधान खोज्नुपर्छ । यसले गर्दा एनसीसी अध्यक्षले पनि हामीले गरेका निर्णयलाई अपनत्व अनुभव गर्नेछन् । 

विदेशमा बसेका गैरआवसीय नेपालीहरुसँग सानोठूलो आयस्रोत सबैसँग छ । ठूलो लगानी मात्र गर्नुपर्छ भन्ने छैन । सानो लगानीलाई पनि हामीले प्रोत्साहित गर्नुपर्छ । थोपा-थोपा पानीले समुन्द्र बन्छ भनेझै स–सानो लगानीलाई एकमुष्ठ बनाएर आफ्नो देशका लागि लगानी गर्न सकिन्छ । यसो गर्न सकियो भने भोलिका दिनमा हाम्रा दोस्रो पुस्ताले मेरो बुवाको त त्यहाँ लगानी छ नि भनेर पनि नेपालसँग जोडिन्छ । आज हामीले विदेशमै हुर्काउँदै गरेका दोस्रो पुस्तालाई स्वदेशसँग जोड्नका लागि यो राम्रो कडी हुनसक्छ । 

Logo