नियम मिच्नेका लागि म आतंक नै हुँः राजुनाथ पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुख

नियम मिच्नेका लागि म आतंक नै हुँः राजुनाथ पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुख

केन्द्रबिन्दु
42
Shares

तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिन्जेलको काम गराइबाट कस्तो अनुभव सँगाल्नुभएको छ ?

मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दै छ। त्योभन्दा अगाडि म प्रमुख थिइनँ। म आइसकेपछि नवनियु्क्त महानगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतहरुसँग काम गर्न पाउँदा छुट्टै अनुभूति भइरहेको छ। पहिले म प्रमुख नभएको कारणले के कस्तो छ भन्ने कुरा समेत थाहा हुँदैनथ्यो। अहिलेको अवस्थामा इतिहासमै पहिलोचोटि कानूनले दिएको म्याण्डेट अनुसार काम गर्न कँहीकतै कुनै पनि दबाब छैन।

हामी पनि मेयरसाबको जुन केही गरौं भन्ने हुटहुटी छ, काम गरौं भन्ने जाँगर छ। जसरी उहाँले हामीलाई केही गर्न प्रोत्साहन गर्नु हुँदा र जनताले पनि हाम्रो कामप्रति सकारात्मक व्यवहार देखाउँदा काम गर्न एकदम खुशी लाग्छ। हाम्रै पालामा केही गर्न सकिन्छ भनेर आफ्नो व्यक्तिगत र पारिवारिक जीवनबाट पर बसेर काठमाडौंलाई सुव्यवस्थित सहर निर्माणका लागि केही गर्न पाउँदा एकदम खुशी लागेको छ। कामको प्रेसर त होला र त्यसमा पनि आनन्द महसुस गरिरहेको छु, मैले।

चुनौती पनि धेरै होलान् नि सुरक्षा र व्यवस्थापनका। कस्ता–कस्ता चुनौती बेहोरिरहनुपरेको छ ?

चुनौती त धेरै नै छन्। तर, हाम्रो काम गर्ने भनेको नै महानगर सुव्यवस्थाको काम हो। सहर सुव्यवस्थाको काममा फोहोरमैलादेखि लिएर काठमाडौं महानगर क्षेत्रभित्रको सम्पूर्ण कामहरु सौन्दयीकरणको कुरादेखि लिएर सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषय पनि छन्। त्यसपछि अव्यवस्थित रुपमा राखिएका पसलका कुराहरु हुन सक्छन्। त्यस्तैगरी ध्वनि प्रदूषणका कुराहरु, अनधिकृत विज्ञापनका बोर्डहरु हटाउने कुराहरु पनि छन्। जात्रा व्यवस्थापनका कुराहरुमा सक्नेजति गरिरहेका छौँ।

काठमाडौं महानगर फेरि यस्तो सहर हो, जहाँ सम्पदाले भरिएको सहर र मन्दिरैमन्दिरको सहर। नयाँ मेयर आएपछि जुन किसिमको जात्रा, यहाँको पर्व, यहाँको सम्पदाहरुप्रति उहाँको जुन अगाध माया छ, त्यसभित्र पनि त्यसको संरक्षण गर्ने महानगरको जिम्मेवारी हो। महानगरले स्थानीयस्तरमा जसरी स्वस्थ महानगर बनाउने योजना छ, यस्तै काममा व्यस्तता छ। तर, हामी आफ्नो कार्य क्षेत्रमा निर्वाध ढंगले काम गर्न पाउँछौँ त्यसैले कामको नतिजा पनि जनताको नजरमा परिरहेकै छ।

महानगर क्षेत्रमा अनेक किसिमका विकासे काम भइरहेका हुन्छन्, तर समन्वय भने देखिँदैन। सधैँ यस्तो किन हुन्छ, कसरी काम गरिरहनुभएको छ ?

मैले महसुस गरेको सबैभन्दा ठूलो इमानदारी हो । इमानदारीमा एक किसिमको शक्ति हुन्छ जस्तो लाग्छ मलाई। त्यो चुनौतीपूर्ण भएको कारणले र चुनौतीपूर्ण भए पनि हामीले आफूले सक्नेजति काम आफैँले गर्ने र हामीलाई अप्ठेरो परेको बेलामा सम्बन्धित लाइन एजेन्सीसँग सहकार्य, समन्वय गरेर उहाँहरुलाई कन्भिन्स गरेर गइरहेको अवस्था छ।

तर, अहिले कतिपय अवस्थामा हामीलाई बिहानदेखि लगातार साँझसम्म खटिँदाखेरि सरकारी निकायबाट नै गरिने कामहरुमा सहयोग भइरहेको देखिँदैन। मैले महसुस गरेको विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी योजनालगायत जुन सरकारी तथा अर्धसरकारी निकायहरुले जुन जिम्मेवार ढंगले काम गर्नुपर्ने हो त्यस्तो गरिरहनुभएको छैन।

धुँवा र धुलोमुक्त काठमाडौं महानगर भन्ने मेयर साहबको जुन एजेण्डा छ त्यो कुरालाई साकार पार्नका लागि हामीलाई अड्चन आइराख्ने, आज खनेको खाल्डो बनाएर नपुरिदिने, जनताबाट वायु प्रदूषण भयो भन्ने गुनासो आइरहेको छ। त्यो गुनासो व्यवस्थापनको लागि हामी जान्छौं। कतिपय ठाउँहरुमा दुई वर्षदेखि खाल्डो खनेर छोडेको अवस्था छ। स्थानीयहरु आएर हामीसँग गुनासो गरिरहनुहुन्छ। महानगर कहिले सुत्दैन, सुत्न हुँदैन भन्ने मेयरसाबको जुन भनाइ छ यसलाई कार्यान्वयन गर्नका लागि चुनौती पनि छ। त्यो चुनौतीलाई चिर्दै अगाडि बढिरहेका छौँ।

महानगरमा फुटपाथमा अनेक अवरोध छन्, कतै त हिँड्दाहिँड्दै फुटपाथ कसैको घर कम्पाउण्डभित्र छिर्छ कतै हराउँछ । किन यस्तो भएको होला?

यो त पक्कै पनि हो। हिजो पनि जुन सडक विस्तारको काम भयो यो अवस्था देखिएको हो । सडक विस्तारको काम हुँदाखेरि सबैभन्दा पहिलो प्राथमिकता त पैदलयात्रीलाई दिनुपर्ने हो नि त। पैदलयात्रीको हक छिन्नुहुन्न भन्ने मेयरसाबको धारणा हो। कतिपय ठाउँमा सडक निर्माण गर्दा सडकपेटी हराएको अवस्था छ। त्यो ठाउँहरुमा सडकपेटी बनाउनुपर्छ।

नै मुख्य प्राथमिकता हुनुपर्ने हो। पैदलयात्रीलाई चाहिँ सहज तरिकाले हिँड्ने वातावरण सिर्जना गर्नुपर्दछ। धेरै कुराहरु त तपाईंलाई थाहा नै छन्। संघीय सरकारमातहत रहने कुराहरु हुन्। ८ मिटर चौडाइसम्मको सडक महानगरको मातहत छ, त्यो भन्दामाथि त महानगरले हेर्दैन। प्रदेश सरकार र संघीय सरकारको मातहत रहेका छन् । आफू मातहतमा रहेका सडक र फुटपाथको तव्यवस्थापनका लागि हामी काम गरिरहेका छौँ।

महानगरवासीका कस्ता कस्ता गुनासा आउँछन् अहिले ?

हामीलाई दैनिक रुपमा गुनासोहरु आउँछन्। अस्ति भर्खरै मात्र हामीलाई एउटा क्याम्पसबाट गुनासो आयो। गेटबाट विद्यार्थीहरु निस्किदाँखेरि चुरोट तान्दै निस्किए भन्ने हामीले तुरुन्त रेस्पोन्स गर्यौं।

हामीसँग यस्ता गुनासाहरु धेरै नै आइरहेका हुुन्छन्। सामाजिक सञ्जालदेखि टेलिफोन र मेयर साहबको सचिवालयमा पनि। मलाई व्यक्तिगत रुपमा पनि गुनासोहरु आइरहेका हुन्छन्। हामी पनि गर्न खोजिनैरहेका हुन्छौं। हामीले माइकिङ गर्ने, सम्झाउने काम त जारी नै राखेका छौं। नमानेको खण्डमा त्यस्ता व्यक्तिहरुलाई जरिवाना गर्ने, पक्राउ गर्ने पनि काम गर्दै आएका छौं।

जस्तै यहाँ काठमाडौंको सन्दर्भमा गुट्खा र चुरोटको प्रयोग र फोहर व्यवस्थापनका सन्दर्भमा हामी गरिनैरहेका छौं। सार्वजनिक सम्पदाको एक सय मिटरको दूरीमा सेवन गर्न नदिने विषयमा पनि हामी गरिनैरहेका छौं । हाम्रो यहाँ जनचेतनाको कमी छ । हामी जनचेतना जगाउँदै कारबाही गर्ने काम पनि गर्दै अगाडि बढिरहेका छौं । हामी त्यो विषयलाई सूक्ष्म रुपले हेरिरहेका छौं, कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।

महानगरका फुटपाथमा अनेक अवरोध छन्, चिया पसललगायतका स–सानापसल राख्ने अनिमानिसहरु पनि त्यतै बसेर खाने गरेका जताततै देखिन्छ ।

पैदलयात्रीलाई हिँड्न असुविधा भएपछि सडकमा झर्नुपर्छ अनि दुर्घटना हुन सक्छ। यस्ता समस्या महानगरले नै हेर्नुपर्ने होइन र?

काठमाडौं महानगर क्षेत्रभित्र महानगरले गरिरहेको अवस्था छ । सडक भनेको सवारी साधनका लागि हो भने पैदलयात्रीका लागि फुटपाथ हो। काठमाडौंको सडक कति नै ठूलो छ र ? हिजो सडक साँघुरो भो भनेर व्यक्तिको घर नै हटाएर सडक बनाएको अवस्था छ। सडक र पेटी जुन प्रयोजनको लागि बनाइएको त्यही हुनुपर्छ । महानगरका व्यवसायीलाई महानगरले स्वागत गर्छ नै तर व्यवस्थित सहर र यहाँको सडक सुरक्षाको कुरालाई लिएर नागरिकको हिँड्न पाउने अधिकारलाई बेवास्ता गरेर सडक पेटीमा सार्वजनिक स्थलमा फुटपाथमा व्यवसाय गर्ने कुरा महानगर नदिने पक्षमा छ । यो दिइनु पनि हुँदैन । तपाईंले सामाजिक सञ्जालमा हेर्नुभयो होला विगत ३० वर्षदेखि फुटपाथमा व्यवसाय गरेर सम्पन्न भएका व्यक्ति पनि त्यो सडक नछोडी बसिरहेको प्रवृत्ति छ । त्यसकारण महानगरभित्र रहेको यो सम्पदाले भरिएको ठाउँ र सडकपेटीमा फुटपाथ व्यापारी निषेध गरिएको छ र अब कहिँकतै पनि त्यस्तो छुट दिइने छैन । नदिने नीति नै छ।

सार्वजनिक स्थल र सम्पदा क्षेत्रको अतिक्रमण हटाइसकियो कि अझै बाँकी नै छ ? कत्तिको अवरोध र दबाब सामना गर्नुपरेको छ ?

यसमा मैले आज केही त भन्नैपर्ने हुन्छ । मैले यसोभन्दा कसैको चित्त नदुखोस् । एउटा कुरा के हो भने, काठमाडौं महानगरले विगतदेखि नै खोलाकिनारा जहाँ हामी सुकुम्बासी तथा अव्यवस्थित बस्ती भन्छौं त्यहाँ रिक्स पनि छ । कतिपय नदीका किनाराहरुमा करिडोर खोल्नुपर्नेमा त्यहाँ अवरोध भएको अवस्था छ । समय समयमा विभिन्न घटनाहरु घटेको त सबैले देख्नुभएकै छ । तर यसको लागि अरु सरकारी निकायको महानगरको साथमा छैनन् ।

अरु निकाय पनि कटिबद्ध भएर त लाग्नुपर्यो नि । महानगर त अहिले पनि तयार नै छ । नदी किनाराको बाटो खोल्नुपर्दछ । यहाँ बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मान्छेहरुको मुलुकको कुनै न कुनै ठाउँमा घर छ । उहाँहरु आएर बस्नुभएको छ । हामीले विगत एक डेढ वर्ष अगाडि हटाउन खोज्दाखेरि हटाउन तपाईंले देख्नु नै भयो त्यत्रो विरोध भयो । अवाञ्छनीय गतिविधि गर्ने र यस्ता बसोबासीलाई सम्बन्धित निकायले नियन्त्रणमा लिनुपर्दछ र कारबाही गर्नुपर्दछ । अहिले पनि हामीलाई सहयोगको आशा छ, आशा गरिनै रहेका छौं । यदि सम्बन्धित निकायले हामीलाई आवश्यक्ता अनुसारको सहयोग गर्ने हो भने हामी अहिले भर्खर पाँच मिनेटमा उठेर काम गर्न हामी तयार छौं । त्यसका लागि सम्बन्धित निकायले स्वार्थमुक्त सहयोग गर्न तयार हुने हो भने हामी पाँच मिनेटभित्र मुभ हुन तयार छौं ।

गृह मन्त्रालयअन्तर्गतका दुईवटा प्रहरी संगठनहरु छन् । अरु पनि सुरक्षा निकायहरु छन् । उनीहरुसँग यहाँहरुको समन्वय कत्तिको हुन्छ ?

पहिलाको गृहमन्त्री रवि लामिछानेसँग कुरा भएको हो । उहाँसँग कुरा हुँदा तीन दिनको एक्सन प्लान बनाएर पेस गर्नु भनेको र हामी नेपाल प्रहरी सशस्त्र र हामी बसेर काठमाडौं परिसरमा बसेर एक्सन प्लान पेस पनि भएको हो । तीन दिनपछि त्यो विषय त्यत्तिकै रह्यो र पटक पटक मेयर साबले पहल गरेको मलाई जानकारी छ । यो हटाउनुपर्छ भनेर पहल गरेको हो । पहल गरे पनि हटाउने भनेर कुरा हुन्छ । तर, अगाडि बढ्न सकेको छैन । त्यो पनि एउटा रहस्यकै कुरा रहेको छ । यसमा हामी लागिरहेको छौं । सुन्दर महानगर व्यवस्थित महानगर व्यवस्थित महानगर सम्पदाले भरिएको नेवारी सभ्यता बोकेको यो सहर यसलाई जीवन्त राख्नको लागि विदेशीहरुले आउँदा सभ्यता के हुन् भनेर देखाउन प्रयत्न गरिरहेको छौं ।

पहिला–पहिला चोक चोकमा कति धेरै फोहोर हुने गथ्र्यो । महानगर के गरेर बसेको छ भन्ने प्रश्नहरु पनि आउने गर्थे, अहिले किन कतै पनि फोहोर नभएको त ?

महानगरले फोहोरमैलाको व्यवस्थापनको सिलसिलामा निर्मम तरिकाले काम गरेको छ । हाम्रा प्रहरीहरु फोहोरमैला हेर्ने वातावरण विभागको सबै काममहानगरले गर्छ । बिहान ६ बजेदेखि बेलुका ढिलासम्म सडकपेटीहरुमा निगरानी गरिरहेको हुन्छ। फोहोर गर्ने व्यक्तिलाई सम्झाउने र नमानेको खण्डमा उहाँहरुलाई ल्याएर कारबाही गरिरहको छौं । यतिसम्म कि म कतै जाँदा बाटोमा फोहोर देखेँ भने गाडीबाट झरेर सम्झाउने गर्छु । महानगरले त्यस विषयमा निर्मम तरिकाले कारबाही गरिरहेको छ। पहिलो सर्त भनेको सरसफाइ हो, त्यही विषयमा रहेर काम गरेको हुनाले त्यसैको नतिजा हो भन्ने मलाई लाग्छ ।

डम्पीङ साइट क्षेत्रका स्थानीय जनताको कत्तिको सहयोग पाउनु भएको छ ?

राजनीतिक विषय त मैले बोल्न भएन । तैपनि स्थानीय समस्या समाधान गर्नमा महानगरले प्रयत्न गरिरहेको छ। केही नराम्रो गतिविधि गर्ने र धमिलो पानीमा माछा मार्ने मानिसहरुले केही चलखेल गर्न खोज्छन्। तर, त्यस विषयमा हाम्रो सुरक्षा निकायसँग बसेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ भनेर समन्वयात्मक ढंगले काम भइरहेको छ।

महानगर प्रमुख बालेन साहको कार्यशैली विगतका मेयरहरुको भन्दा फरक देखिएको छ। देशभरका मानिसहरुले पनियो कुरा महसुस गरिरहेका छन्। नयाँ पुस्ताका नेता र उहाँ फरक किसिमले निर्वाचित भएर आउनुभएको छ। उहाँसँग काम गर्दा तपाईंलाई कस्तो अनुभव भएको छ ? कत्तिको सहज हुनुहुन्छ उहाँ ?

काम गर्न धेरै सहज छ । नबुझने मानिसले आफ्ना मात्र स्वार्थ पुरा गर्न खोज्ने र महानगरसँग मतलब नराख्ने व्यक्तिले चुनौती दिन खोज्छन् । तर, इतिहासमा नै यो कालखण्ड हो जहाँ यति सजिलो काम गर्न पाइएको छ। हाम्रो नेतृत्व तहबाट काम गर्न कानुनले दिएको परिधिभित्र रहँदासम्म कुनै अवरोध छैन। महानगरको काममा कुनै किसिमको दबाव र प्रभाव सुरु सुरुमा म नियुक्ति भएर आउँदा केही प्रयत्न भएको जस्तो लाग्छ, तर पछि कहीँ प्रभाव दबाब केही छैन। मैले व्यक्तिगत रुपमा भन्नुपर्दा महानगरलाई सुनौलो अवसर हो, यस्तो दिनहरु महानगरका लागि न विगतमा थियो न पछि नै आउँछ जस्तो लाग्छ मलाई।

यति धेरै जनसंख्या भएको महानगरपालिकाको सुरक्षा प्रमुख हुनुहुन्छ तपाईं। यस्तो व्यस्त रहने जिम्मेवारी भएको मानिसको एक दिन कसरी बित्छ?

म बिहान ५ बजे नै उठ्छु। सामान्यतया बिहान ७ बजेभित्र कार्यालय आइ नै सक्छु। बेलुका ८ बजेसम्म पनि बस्छु। कहिले ९–१० सम्म यहीँ हुन्छु। घर गएर बिहान १–२ बजे निदाको हुन्छु। काम के–के छन् त भनेर योजना बनाइरहेको हुन्छु। हामी नतिजामुखी काम गर्ने हो। नतिजा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छ कि छैन। त्यो गर्न हामी निरन्तर रुपमा छलफलमा छौं। केही कमीकमजोरी भए सच्याउने काम भइरहेको छ।

मेरो दुई वर्षदेखिको समय मेरो सम्पूर्ण सोचविचार महानगरलाई व्यवस्थित कसरी गर्ने भनेर म लागिरहेको छु। म कुर्सीमा भन्दा पनि बाहिर फिल्डमा रमाउँछु । फिल्डमा पुग्दा आफूले देखिन्छ आफूले देखेपछि अरुलाई भन्न पनि सजिलो हुन्छ। म स्वयं फिल्डमा खटिँदा अफिसरहरु र जवानहरुलाई पनि उत्प्रेरणा मिल्छ। म आफैं गएर जे देखिन्छ र के सुधार्न पर्ने हो। तत्काल एक्सनमा जानुपर्छ भन्ने हिसाबले महानगर प्रहरी बलको नियन्त्रणमा र महानगरको कल सेन्टरमा हजारौ गुनासो आउँछन्। दश देखि १५ मिनेटमा हामीले गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ। महानगरप्रति एक किसिमको विश्वास बढेको महसुस भएको छ र सुशासन छ भनेर जनताले जुन दिन अनुभूति गर्नुहुन्छ। त्यही दिन हामीलाई सफल भएको अनुभूति हुन्छ।

तपाईं आफैंलाई चैं महानगरवासीले कसरी हेर्छन् र के भन्छन् जस्तो लाग्छ ?

महानगर प्रहरीले पहिला कस्तो काम गथ्र्यो म नेतृत्वमा थिइनँ। तर, मलाई खुसी लाग्छ जनतामा जाँदा एक किसिमको उत्साह माया पाउने गरेको छु। त्यही नै हो हाम्रो काम गर्ने ऊर्जा। हाम्रो लागि त्यही हो शक्तिजस्तो लाग्छ। जहाँ पुग्दा पनि चिया अफर गर्नुहुन्छ। मसँग फोटो खिच्नुहुन्छ। यो जनताको माया हो, विश्वास हो जस्तो लाग्छ। यसले मलाई आनन्द आउँछ। जनता हाम्रो काम कारबाहीबाट सन्तुष्ट हुनुभयो भने ठूलो कुरा त्यही हो। आफ्नो काम कारबाहीले स्वाभाविक रुपमा त्यो नजिता आउँछ जस्तो लाग्छ मलाई।

राजु पाण्डेले महानगरमा आतंकै मच्चाए पनि भन्छन् नि मानिसहरु, यस्तो पनि सुन्नुभएको छ ?

कानूनविपरीत हुने कारबाहीमा अवरोध गर्दा महानगर प्रहरीले सम्पादन गर्ने काममा अवरोध खडा गर्ने मानिसहरुका लागि म आतंक नै हुँ। तर, महानगर सुव्यवस्थित हुनुपर्छ र महानगर सुदृढ र सुशासन हुनुपर्छ भन्नेको लागि नहुन सक्छ। मैले आतंक मच्चाएँ भनेर भन्नेहरु भनेका महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई असहयोग गर्ने तत्वहरु हुन्।

महानगरबासीलाई सुरक्षाप्रमुखको नाताले के सन्देश दिन चाहनुहुन्छ ?

महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई सहयोग गर्नुहुन आग्रह गर्छु। अब आउने पुस्ताहरुलाई हामीले भन्दा पनि हाम्रा छोराछोरीको भविष्यको लागि हामीले काम गर्नुपर्ने छ। आफ्नो छोराछोरीलाई सम्झेर कस्तो सहरको परिकल्पना गरिरहेको छन्? त्यो सम्झेर उहाँहरुले सहयोग गर्नुभयो भने हामीलाई ठूलो सहयोग मिल्नेछ। सबैलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।

Logo