नेपालको जनसंख्या भौगोलिक हिसाबले धान्न सक्ने नै छ, तर अर्थतन्त्र सानो भयाेः हेमराज रेग्मी

नेपालको जनसंख्या भौगोलिक हिसाबले धान्न सक्ने नै छ, तर अर्थतन्त्र सानो भयाेः हेमराज रेग्मी

केन्द्रबिन्दु
70
Shares

राष्ट्रिय तथ्यांक कार्यालयमा उपप्रमुख हेमराज रेग्मी जनसंख्याको आकार आफैंमा समस्या नभएको बताउँछन् । नेपालमा देखिएको जनसंख्या बृद्धिले समस्या नपार्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । नेपालको जनसंख्या, यसको प्रभाव, नीति निर्माण तहमा जनसंख्याको महत्वलगायतका विषयमा केन्द्रीत रहेर हामीले रेग्मीसँग कुराकानी गरेका छाैं ।

यतिबेला राष्ट्रिय तथ्यांक कार्यालयले के काम गरिरहेको छ ?

-अहिले राष्ट्रिय तथ्यांक कार्यालयले उपयोगका लागि आवश्यक पर्ने जनसांख्यिक, आर्थिक, सामाजिक, वातावरणीय, भौगोलिक तथ्यांकहरुको संकलन गर्ने, विश्लेषण गर्ने, प्रशोधन गर्ने, प्रकाशन गर्ने र यसलाई उपयोगकर्ताको आवश्यकता अनुसार उपलब्ध गराउने आदी इत्यादी काम गरिरहेको छ ।

नेपालको अर्थतन्त्रको विकासमा तथ्यांकको महत्वलाई कसरी हेर्नुहुन्छ ?

-वास्तवमा तथ्यांकले हाम्रो हैसियत देखाउँछ । हामी कहाँ छौं ? कस्ता छौं ? कति छौं ? कुन अवस्थामा छौं ? हाम्रा छिमेकीहरुको तुलनामा हामी कहाँ छौं । तल छौं कि माथि छौं । अनि हाम्रो आफ्नै पनि विगतको तुलनामा कति परिवर्तन भयौं । अहिले कहाँ पुगेका छौं भनेर हैसियत नाप्नका लागि तथ्यांक चाहिन्छ । तथ्यांकका आधारमा लक्ष्य निर्धारण गर्न सहजता प्रदान गर्दछ । अहिले हामी कुनै स्थानमा छौं वा अझै माथि पुग्ने हो कि तल झर्ने हो विश्लेषण गर्न सहजता प्रदान गर्दछ । अथवा लक्ष्यहरु पहिले नै निर्धारण सकेका छन् भने लक्ष्य भेट्टाउन सक्यौं कि सकेनौं भनेर अनुगमन, मूल्यांकन गर्नको निमित्त तुलना गर्नपनि तथ्यांक आवश्यक पर्छ ।

अर्थतन्त्रसँग सम्बन्धित तथ्यांकले आर्थिक अवस्था कस्तो छ भनेर स्पष्ट गराउँछ । नेपालको अर्थतन्त्रको आकारमा नेपालको जनसंख्याको आधारमा प्रतिव्यक्ति आय, जिडीपीलगायतका कुराहरुमा अध्ययन गरेर गरिब छौं कि धनी छौं भनेर अंकहरु पनि वार्षीक रुपमा निकाल्ने गर्दछौं । यस बाहेक अर्थतन्त्रका अन्य अभयवहरु रोजगारीको वा बेरोजगारीको अवस्था, आर्थिक–सामाजिक अवस्था, गरिवीको रेखामुनी रहेकाहरुको अवस्था पनि सजिलै अध्ययन गर्नसक्ने भएकाले देशको अर्थतन्त्रमा तथ्यांकको महत्व ठूलो छ । विभिन्न निकायहरुले राखेका प्रशासनिक तथ्यांकहरुको समेत विश्लेषण गर्दै आइरहेका छौं । यसले तथ्यांकको अनुगमनका आधारमा अर्थतन्त्रका लक्ष्य निर्धारण गर्न सहजता प्रदान गर्दछ ।

नीति निर्माण तर्जुमामा तपाईंहरुले संकलन गरेको तथ्यांकले कस्तो भूमिका खेल्छ ?

-तथ्यांकको उपयोगिता भनेकै नीति, योजना र निर्णय प्रक्रियामा जानका लागि नै हो । तथ्य र तथ्यांकको आधारमा गरेको निर्णयले सही बाटोमा लैजान्छ । तथ्यांक छ भने त्यसको आधारमा तय गरिएका योजनाहरु, त्यसको आधारमा निर्माण गरिने नीतिहरु अथवा त्यसको आधारमा गरिने निर्णयहरु ति निर्णयहरुको प्रयोग राज्यले गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । हामीकहाँ पनि यसैका प्रयोजन निमित्त ठुलो महत्व दिएर राज्यले २०१५ सालमै तथ्यांक ऐन,२०१५ ल्याएर त्यतिखेर केन्द्रीय तथ्यांक विभागको स्थापना गरेको थियो । २०७९ सालमा त्यही ऐनलाई संशोधन गरेर नयाँ तथ्यांक ऐन, २०७९ प्राप्त भएको छ । राष्ट्रिय तथ्यांक विभागबाट राष्ट्रिय तथ्यांक कार्यालय रहनेगरि नामाकरण गरिएको छ । नाम परिवर्तन भएपनि हाम्रो काम पनि त्यही हो । अहिले हाम्रा तीन तहकै सरकारहरु मुल प्रयोगकर्ता हुन् भनेर भन्छौं । त्यसैले तीनै तहका सरकारहरुले आफ्ना योजना, नीति र ऐन कानुन बनाउन, लक्ष्यहरु निर्धारण गर्नका लागि तथ्यांकहरुको प्रयोग गर्ने अभ्यास नेपालमा पनि भइरहेको छ ।

राष्ट्रिय महत्वका सूचनाहरु सजिलै चुहिने तर सर्वसाधारणलाई संकलित तथ्यांक दिन भने सरकार कन्जुस्याइँ गर्ने गरेको गुनासो पनि छ नि, हैन ?

-राज्यले सार्वजनिक गर्ने तथ्यांकहरु पारदर्शी हुनुपर्छ । हामीले अंगिकार गरेको विधि नै ओपन डाटा पोलिसी हो । हामीले संकलन गरेका सबै तथ्यांकहरु सार्वजनिक गर्छौं । एउटा थप विचार गर्नुपर्ने कुरा के छ भने तथ्यांक उपलब्ध गराउँदा व्यक्तिगत गोपनियताको हक जोगाउनु चाहींपर्छ । कुनैपनि व्यक्तिले विश्वास गरेर उपलब्ध गराइएका व्यक्तिगत विवरणहरु, व्यावसायीहरुले उपलब्ध गराएका आर्थिक र व्यवसायीक विवरणहरु, उद्योगहरुले उपलब्ध गराएका औद्योगिक उपलब्धीहरु, उनीहरुले तिर्ने करका कुराहरु, आम्दानीलाई छताछुल्ल पार्न मिल्दैन । त्यही भएर तथ्यांक ऐनले के भन्छ भन्दाखेरि व्यक्तिगत विवरणहरु सार्वजनिक गर्न पाइँदैन् । ति विवरणहरुलाई तथ्यांकीय प्रयोजनका लागि फेरि सार्वजनिक गर्न पाइन्छ । त्यसैले राज्यको भूमिका दोहोरो छ । एउटा, जनतालाई सुसूचति गर्ने, तथ्यमा आधारित भई निर्णय र प्रक्रियालाई प्रवद्र्धन गर्ने । अनुसन्धान कार्यमा तथ्यांकको प्रयोग गर्ने राज्यको नीति हो । अर्को कुरा, गोपनीयतामा उतिक्कै ध्यान दिनुपर्ने पनि राज्यको नीतिमा समावेश गरिएको छ । राज्यले व्यक्तिको गोपनीयताको पनि सम्मान गर्नुपर्दछ ।

तथ्यांक ऐन नै सूचना र गोपनीयताको हकमा टेकेर काम गर्नुपर्ने हुन्छ । यसलाई आधार मानेर तथ्यांक उपलब्ध गराइरहेका हुन्छौं । हामीलाई ऐनले दिएको अधिकारभित्र बसेर तथ्यांक उपलब्ध गराउने हो । व्यक्तिगत विवरणहरु माग्न आउनुभयो भने मिल्दैन । अन्य कानूनी प्रक्रिया, मुद्दा र मामिलाका निमित्त हामी तथ्यांक उपलब्ध गराउँदैनौं । यो कुरा तथ्यांक ऐनले नै प्रतिबन्ध गरेको छ । तथ्यांकीय प्रयोजनका निमित्त हामीले डाटा उपलब्ध गराउने हो । ऐनमा टेकेर हामीले सर्वसाधारण, राज्य र अन्तर्राष्ट्रिय समूदायलाई समेत तथ्यांक उपलब्ध गराइरहेका हुन्छौं ।

स्थानीय तहहरुमा तथ्यांक संकलन र विश्लेषणका लागि राज्यले कसरी जनशक्ति परिचालन गरेको छ ?

राष्ट्रिय तथ्यांक कार्यालयले विभिन्न विधिहरुको प्रयोग गरेर तथ्यांक संकलन गर्छ । हामीले प्रयोग गर्ने विधि भनेको हामी आफैले संकलन नगर्ने तर अन्य निकायले दिएका विवरणहरुलाई संग्रह गर्ने जसलाई प्रशासनिक अभिलेखहरु भनेर भन्छौं । जन्म, मृत्यु, बसाईसराई लगायतका पञ्जिकरणका लागि विभिन्न निकायहरुले उपलब्ध गराउने तथ्यांकहरुलाई संग्रह गर्ने र प्रशासनिक अभिलेखमा नरहेका निकायहरुको बेला बेलामा अनुगमन र सर्वेक्षणहरु गर्छौं । हामीले तीन चार थरिका गणनाहरु गर्छौं । दश–दश वर्षमा जनगणनाहरु गर्छौं, कृषकहरुसँग सम्बन्धित कृषि गणना गर्छौं, अर्थतन्त्रसँग सम्बन्धित अर्थ गणना गर्छौं । हामीले गर्ने गणनाको नेतृत्व चांही, वडा, पालिका, जिल्ला र प्रदेशले गर्ने गरेका छन् । यसका लागि राज्यले व्यवस्थापन गर्नुपर्ने जनशक्ति आफ्नो हिसाबले व्यवस्थापन गर्दै आएको छ भने हामीले पनि आवश्यकता अनुसार विभिन्न निकायको पहलमा तथ्यांक र सूचनाहरु संकलन, संग्रह र प्रकाशन गर्दै आइरहेका छौं ।

सूचना र तथ्यांकबारे अथवा तथ्यांक र सूचनाबीचको भेद छुट्याउन नसक्दा कतिपय कामहरु प्रभावकारी भएको गुनासो सुनिन्छ । यसमा के भन्नुहुन्छ ?

-तपाईंले भन्नुभएको एकदम सही हो । हामीले सूचना नभई तथ्यांक व्यवस्थापन गर्ने गर्दछौं । तथ्यांक व्यवस्थापनमा हामी कमजोर छैनौं जस्तो लाग्छ तर कतिपय कुरामा तथ्यांक र सूचनाको भेद छुट्याउन नसक्दा प्रयोगमा केही समस्या पनि आम रुपमा देखिने गरेका छन् । यसो भनिरहँदा तथ्यांकको मुल प्रयोग सूचनाको लागि पनि हो । तर अघि भनेजस्तै नीति तर्जुमा, लक्ष्य निर्धारणका लागि तथ्यांकको प्रयोग गरिने हुँदा केही सचेतना अपनाउन आवश्यक छ ।

विकसित मुलुकमा तथ्यांक संकलन र विश्लेषणका लागि यथेष्ट बजेट छुट्याउने गरेपनि नेपालमा त्यो अभ्यास अझै हुन नसकेको गुनासो पनि छ नि ?

तथ्यांक विभिन्न किसिमका हुन्छन् । एकथरी तथ्यांक छिटो छिटो परिवर्तन हुन्छन् । जस्तो मूल्यको तथ्यांक भन्नुभयो भने तरकारीको मूल्य बिहान, दिउँसो र साँझ नै परिवर्तन भइरहेका हुन्छन् । यसरी छिटो छिटो परिवर्तन हुने कुरालाई छिटो क्याच गर्न सक्नुपर्दछ भन्ने तथ्यांक शास्त्रको सिद्धान्त छ । उत्पादनका आकँडाहरु, प्राकृतिक विपद् बाढी पहिरोका आँकडाहरु छिटो छिटो परिवर्तन हुन्छन् ।

यिनिहरुलाई छिटो छिटो परिवर्तन गर्नुपर्दछ । अब उत्पादनका आँकडाहरु पनि कम्तिमा पनि सिजनमा एकपटक संकलन गर्नुपर्दछ । केही विषयहरु विस्तारै परिवर्तन हुन्छन् । जस्तै जनसंख्या हो एकदम विस्तारै परिवर्तन हुने, त्यही भएर हामी दश वर्षको अन्तरालमा जनगणना गर्दै आइरहेका छौं । परिवारको संरचन, परिवारको स्वामित्व, परिवारका आर्थिक–सामाजिक अवस्था, जन्मदर, मृत्युदर बसाइँसराइको प्रवृत्तिको कुरा त्यति छिटो छिटो परिवर्तन हँुदैन । छिटो परिवर्तन हुने कुरालाई छिटो संकलन गर्नका लागि धेरै जनशक्ति चाहिन्छ । छिटो काम गर्नका लागि जनशक्ति परिचालनका लागि सबै निकायको समन्वय र सहकार्य आवश्यक छ । जस्तै अहिले विपद्सँग सम्बन्धित विवरणहरु संकलनका लागि गृह मन्त्रालय, सुरक्षा निकायहरु, पालिकाहरुले सहकार्यहरु गरिरहेका छन् । हामी चाँही यो स्तरमा संलग्न हुँदैनौं ।

समग्रमा आइसकेका विवरणहरु एकिकृत गर्ने काम फेरि हाम्रो हो । विपद्ले मानवीय क्षति कति भयो, आर्थिक क्षति कति भयो, भौतिक क्षति कति भयो ? समग्र रुपमा फेरि हामी त्यसको प्रयोग गर्ने गर्दछौं । यसका लागि नेपाल सरकारले बजेट नै विनियोजन गरेको छैन भन्न त मिल्दैन । तर अन्य विकसित देशहरुको तुलना र नेपालमा तथ्यांक संकलन गर्ने सवाल र आधारमा हेर्ने हो भने स्रोत र साधनले भ्याएसम्म सम्बोधन गरेको पाइन्छ ।

अहिलेको अवस्थामा तथ्यांकको सम्बन्ध केवल व्यापारसँग मात्र छैन । निर्वाचन, राजनीति स्वास्थ्य र सामाजिक समस्या समाधान गर्न पनि तथ्यांक धेरै नै भूमिका खेलेको हुन्छ । नेपालले यसमा कस्तो अभ्यास गरिरहेको गरिरहेको छ ?

-नेपालमा पनि निर्वाचन प्रणाली र राजनीतिमा पनि तथ्यांकको अभ्यास व्यापक रुपमा भइरहेको छ । नेपालको वर्तमान संविधानका विभिन्न दफाहरुमा तथ्यांकका आधारमा योजना तर्जुमा गरिनेछ । जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा निर्वाचन क्षेत्रहरुको निर्धारण हुनेछ । यसकै आधारमा संघीय र प्रादेशिक निर्वाचन क्षेत्रहरुको निर्धारण गर्ने व्यवस्था नै गरेको छ ।

केन्द्र सरकारले हरेक क्षेत्रमा प्रदेश र स्थानीय तहहरुमा वित्त आयोगमार्फत पठाउने जुन अनुदान छ, त्यो अनुदानको रकम पनि जनसंख्याकै आधारमा निर्धारण गर्ने गरेको छ । त्यस्तै, थारु, मुस्लिम आयोगहरुको कार्य क्षेत्र समेत तथ्यांकका आधारमा तोकिने गरेको छ । राज्यले संविधानलाई ठूलो महत्व दिएको छ । हाम्रो संविधानमा धेरै मौलिक हकहरु छ । ति हकहरु पूरा भएकी भएनन् भनेर थाहा पाउने आधार तथ्यांक नै भएको हुनाले राज्यले तथ्यांकलाई व्यापारसँग मात्र काम नगरी हरेक क्षेत्रमा तथ्यांकको उत्तिकै अभ्यास गरिरहेको छ ।

फरक-फरक समयमा जनगणनाहरु भइरहेको हुन्छ । नेपालको जनसंख्या र अर्थतन्त्रको सम्बन्ध कस्तो छ ?

जनसंख्यामा जन्म, मृत्यु र बसाइसराइमा भरपर्ने कुरा हो । यो नियमित रुपमा चलिरहने हुनाले जनसंख्याको मापन गर्दा एउटा निश्चित समय तोक्नुपर्छ । निश्चित समयमा निश्चित भूभागमा बसोबास गर्ने मानिसको संख्यालाई जनसंख्या भनेर भन्छौ । त्यस्ता मान्छेहरु कति छन् त भनेर आजभन्दा करिब दुई वर्ष पहिला २०७८ सालमा पछिल्लो १२औं चरणको राष्ट्रिय जनगणना सम्पन्न गरेका थियौं । त्यो जनगणनाले त्यतिबेला करिब करिब २ करोड ९१ वा ९२ लाख छन् भनेर गनेका थियौं । त्यो अहिले बढेर २ करोड ९८ लाख नेपालको जनसंख्या पुगिसकेको होला भन्ने हाम्रो अप्रत्यक्ष अनुमान छ ।

यो जनसंख्याको आकार अन्य देशहरुसँग तुलना गर्नुभयो भने ठूलो होइन् । तीन करोड भन्दा पनि कमको जनसंख्याको आकार नेपाल जत्रो भूगोल भएको देशको लागि ठूलो होइन । नेपालमा भन्दा ६ गुणा बढी जनसंख्यालाई नेपाल जति नै भूगोल भएको देश बंगलादेशले धानेको छ भने नेपालले यतिको जनसंख्यालाई नेपालको भूगोलले पाल्न नसक्ने भन्ने होइन् । तर समस्या के छ भने हाम्रो अर्थतन्त्रको आकार सानो छ । जनसंख्याको तुलनामा हाम्रो अर्थतन्त्रको आकार सानो छ । हामी अझै अति विपन्न मुलुकको वर्गमा पर्छौ । २०२६ सम्म राज्यलाई अहिलेको तहबाट विकासोन्मुख देशको वर्गमा लैजाने भनेर राज्यले निर्णय गरिसकेको छ । रातारात हाम्रो अर्थतन्त्रमा सुधार हुने सम्भावना देखिएको छैन् । विस्तारै अर्थतन्त्रमा वृद्धि हुदैँछ ।

तथ्यांक संकलनमा स्थानीय र प्रदेश तहबाट आउने तथ्यांक हेरेर सरकारलाई प्रतिवेदन बुझाउनु हुन्छ । तपाईहरुले बुझाउने रिपोर्टहरुमा गउँको भन्दा सहरको जनघनत्व निरन्तचर बढिरहेको पाइन्छ । गाँउ रित्तिन लाग्यो भन्ने यो तथ्यांकले पनि देखाउछ यसको मुख्य कारण के हुन सक्छ ?

-जनगणनाको पछिल्लो तथ्यांकले हामीलाई के देखाएकोछ भने जनसंख्या वृद्धि अब नेपालको समस्या होइन् । किनभने नेपालको स्रोत साधनले यति जनसंख्यालाई धान्न सक्छ भन्ने अनुमान हो । स्रोत साधनले धान्न सक्छ भने जनसंख्या व्यवस्थापनको सिद्धान्तले के भन्छ भने स्रोत साधन प्रशस्त छ भने जनसंख्याको आकार आफैंमा समस्या होइन् । वर्तमान जनसंख्याको विश्लेषण गर्ने हो भने पछिल्लो आंकडाहरुले जनसंख्या बृघि नेपालको समस्या होइन ।

नेपालको जनसंख्या दर प्रतिस्थापन दरभन्दा पनि तल जान थालेको पनि तथ्यांकले देखाएको छ । यसरी भविष्यमा नेपालको जनसंख्या घट्ने सम्भावना देखिएको छ भन्ने हाम्रो अनुमानहरु रहेको छ । जनसंख्या वृद्धि समस्या होइन, जनसंख्याको वितरण अहिलेको समस्या हो । गाँउमा भन्दा सहरी क्षेत्रमा जनसंख्या अत्याधिक बढेको छ । यसरी सहरी क्षेत्रमा जनसंख्या बढ्ने, हिमाली र पहाडी क्षेत्रमा जनसंख्या घट्ने देखिन्छ । यसले के देखाउँछ भने कतै मानिस नभएर समस्या कतै मान्छे धेरै भएर समस्या देखिएको छ ।

गाँउमा जमिनहरु बाँझो हुन थाल्यो भने त्यहाँ आर्थिक समस्या देखिन्छ । मानिस धेरै भएर बेरोजगारी, फोहोरमैला जस्ता समस्याहरु देखिएका छन् । यो बसाइसराइको कारणले आएको समस्या हो ।

बसाईसराई निर्मूल पार्ने अथवा व्यवस्थित गर्नको लागि सरकारले कस्तो भूमिका खेलेको जस्तो लाग्छ ?

-बसाइँसराइलाई व्यवस्थित गर्नको लागि सरकारको पहल सकरात्मक छ । संघीयता गइसकेकाले काठमाडौं केन्द्रीत राजनीतिक र आर्थिक क्रियाकलापहरु विकेन्द्रीत भएर सातवटै प्रदेशमा पुगेका छन् । त्यसपछि पालिकाहरुको पनि परिकल्पना गरिएकाले पालिकापछि वडामा पुगेको छ । यसरी हेर्दा राज्यले लिएको संघीयताको नीतिले बसाइँसाईलाई पनि केही व्यवस्थित गरेको छ । तर सोचे अनुरुप अझै पनि काम भएको छैन् । यसले पूर्ण रुप लिन केही समय लिन्छ । तर राज्यले लिएका नीतिहरु राम्रो नै छ ।

सरकारले अनुसन्धान र तथ्यांकलाई प्राथमिकतामा राखेको देखिदैन । राष्ट्रिय तथ्यांक कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत राख्दा के कस्तो प्रभाव परेको छ ?

-राज्यले तथ्यांकलाई प्राथमिकता नै नदिएको होइन्, विकसित देशहरुको तुलना गर्ने हो भने पक्कै पनि कम प्राथमिकतामा होला तर राज्यले हामीलाई छुट्टै ऐन दिएको छ । अहिले हामी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत प्रत्यक्ष रुपमा काम गरेका छौं । राष्ट्रिय योजना आयोगसँग राष्ट्रिय तथ्यांक परिषद्मार्फत हाम्रो समन्वय हुदैँछ । तथ्यांक ऐनमा नै राष्ट्रिय तथ्यांक परिषद्को व्यवस्थापन छ । जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष हुनुहुन्छ । जसले डाटाको ग्यापलाई कसरी निर्मूल पार्ने भनेर नीति कार्यक्रमहरु बनाउन सहज भएको छ ।

अहिले समस्या देखिएको विषय भने प्रदेशस्तरका तथ्यांक र पालिका स्तरका तथ्यांकसम्म हाम्रो पहुँच पुग्न सकेको छैन् । केही तथ्यांक सिस्टमबाट तानेका छौं, सबै तथ्यांकमा हाम्रो पहुँच पुगेको छैन् । यसमा समन्वयात्मक रुपमा एउटा एकीकृत तथ्यांक प्रणालीको विकास गर्नु चुनौती छ । राज्यले प्राथमिकता दिएकै छ । अब नेपाल आफैंमा विकासोन्मुख मुलुक हो । स्रोत, साधनको कमी छ, कमी भएपनि राष्ट्रिय स्तरमा सञ्चालन गर्ने गणना र सर्वेक्षणहरुको लागि सरकारबाट बजेट प्राप्त भएकै छ ।

Logo