‘भानुलाई जस्तै सम्मान अन्य जातजातिका सष्ट्रालाई पनि हुनुपर्छ’: डा. नवराज लम्साल

‘भानुलाई जस्तै सम्मान अन्य जातजातिका सष्ट्रालाई पनि हुनुपर्छ’: डा. नवराज लम्साल

केन्द्रबिन्दु
98
Shares

डा. नवराज लम्साल नेपाली साहित्य र संचार क्षेत्रका एक प्रख्यात सष्टा हुन् । उनी मूलधारका कवि तथा गीतकार पनि हुन् । ‘कर्ण’ र ‘धरा’ दुई महाकाव्य प्रकाशित गरेर नेपाली साहित्यमा उच्च योगदान दिएका उनी हाल भानु प्रतिष्ठानका अध्यक्ष छन् । भानु जयन्तीका अवसरमा भानुले नेपाली भाषा र साहित्यमा गरेको योगदानबारे डा.लम्सालसँग हामीले कुराकानी गरेका छाैं ।

भानुभक्त आचार्यलाई हजुरले कसरी बुझ्नुभएको छ?

-भानुभक्त आचार्यलाई स्वदेश तथा विदेशमा रहेका नेपालीभाषीले आदिकविका रुपमा सम्मान गर्दै आइरहेका छन् । उनी नेपालका राष्ट्रिय विभूति हुन् । जातिय चेतनाका प्रतिक हुन् । संस्कृतको दबदबा चलेको बेला संस्कृतमै बोलिने, लेखिने र पढिने बेला नेपाली भाषामा कविता लेखेर भाषाको श्रीवृद्धि गर्ने एक श्रष्टा हुन् । कविताको सानो रुप लघु कवितादेखि कविताको उच्चतम साधना महाकाव्यसम्मलाई जन–जनमा पुर्याउने काम उनले गरेका छन् । उनले नेपाली आमाहरुले गुनगुनाउने रामायणलाई नेपाली अनुवाद गरेका थिए । नेपाल बहुधार्मिक, बहु सांस्कृतिक, बहुजातीय अर्थात बहुलताको देशमा सबै नेपालीलाई जोड्ने एउटा सम्पर्क सुत्र र नेपाल बाहिर पनि नेपालीहरुलाई जोड्ने एउटा माध्यम थिए भानु । नेपाली भाषाका आदिकवि भएका हिसाबले पनि सबैले भानुक्त आचार्यलाई बडो गम्भीरतापूर्वक र सशक्त हिसाबले सम्झने गर्दछन् ।

भानुले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने काम गर्नुभयो भनिन्छ । एकसुत्रमा बाँध्न उहाँले कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?

-विश्वभरका नेपालीहरु फरक फरक भाषा बोल्छौं । जस्तै पूर्वमा किरात–लिम्बुहरुको आफ्नै भाषा छ । तराईमा झर्यो भने मैथली, भोजपुरी, अझ पश्चिम तराई पुगियो भने थारु, राजवंशी, राना थारु, यता मगरातमा आयोभने गुरुङ–मगरको आफ्नै भाषा छ । काठमाडौं उपत्यकामा नेवारी बोल्ने प्रचलन छ । हामी नेपालीहरु फरक फरक भाषा बोल्छौं । भाषा बोल्ने मान्छेहरुबीचको सम्पर्क भाषा नेपाली हो । नेपाली भाषालाई सबैको बनाउनमा भानुको योगदान उच्च छ । साथै सरकारी कामकाजको भाषाका रुपमा स्थापित गराउनका उनले खेलेको भूमिकाका कारण पनि भानुलाई आजका दिनमा स्मरण गरिन्छ । अर्को कुरा, संस्कृतिको आदानप्रदानका कारण पनि भानु भाषाका सुत्रधार हुन् । जस्तो रामायण चाँही काव्य हो, कविता हो ।

रामायणको एउटा मूल्य होला, राम कथाको आफ्नै महत्व होला । तर त्यो रामायण गायनको जुन छन्द परम्परा छ, लोकलयबाट आएको छ । त्यो लोकलयले पनि सबैलाई बाँधेको छ । आज आधुनिक कविता लेख्नेहरुले त्यसलाई फरक ढंगले गाउँछन् भने राम कथाको धर्म आफ्नो ठाउँमा छ । तर, समाजले के भन्दै आएको थियो भने छोरा कस्तो होस राम जस्तो, बाउले जे भन्छ त्यही मान्छ । बाउले राजा बनाउँछु भन्दा नि हुन्छ । होइन, तँ राजा बन्न पाउँदैनस् बनबास जा भन्दा पनि हस् भन्छ । भाई चाँही राम बनबास जाँदा पछि पछि लागेर जाने लक्ष्मण जस्तो होस् । पति–पत्नी राम र सिता जस्तो हुन् । नेपाली समाजले लिएको यो दृष्टिकोणमा केही फेरबदल होला भन्ने मान्यता छ । संस्कृतिको दबदबा भएको बेला रामायणलाई नेपालीमा लेखिदिएको हुनाले भानुभक्त आचार्य स्थापित भएका हुन् । भानुभक्तभन्दा पहिले पनि धेरै कविहरु थिए, आज पनि छन् । साहित्य र लोकप्रियतामा भिजेका कारण भानु बढी लोकप्रिय भएका हुन् ।

अहिलेको नयाँ पुस्ताले भानुभक्त र उहाँको साहित्यलाई कसरी ग्रहण गरिरहेको छ ? भानुभक्तलाई पछ्याइरहेको छ त ?

-साहित्यमा दुईवटा कुरा हुन्छन् । पानी बग्दै गएपछि शुद्ध हुन्छ भनेजस्तै भाषा पनि प्रयोग हुँदै गएपछि परिवर्तन हुँदै जान्छ । अहिले उहाँले प्रयोग गर्ने भाषाको पनि परिवर्तन भएको छ । कविताका संरचनाहरुमा पनि परिवर्तन भएको छ । कविताको कथ्यमा पनि परिवर्तन आएको छ । आज कविता लेख्ने म मजस्तै धेरै कविहरुले भानुभक्तले जस्तै राम आदर्श हुन् भन्दैनौं । हामी रामको आदर्शमाथि पनि प्रश्न उठाइरहेका छौं । रामले सितालाई किन हेपेको ? किन अग्नि परीक्षा लिएको ? सिताले रामको चाँही अग्नि परीक्षा लिनुपर्दैन ?भन्ने खालका दर्शनहरु हामीले कवितामा उतारेका हुन्छौं ।

तर, कविता लेख्नुको अन्तरचेतना, व्यक्तिको वैयक्तिक स्वतन्त्रता र आफूलाई लागेको निजी अनुभुतिको भोगाइको अभिव्यक्ति हो कविता । यो चाँही भानुबाट अहिलेका कविहरुले पछ्याइरहेको पाइन्छ । हामीले कविता लेख्दाखेरि उहाँकै जग टेकेर लेख्दै आएका छौं । उहाँकै शिल्पमा लेखिन्छन् । भानुभक्तकै जस्तो लय र छन्दमा कविता नहोला समय र परिस्थितिहरुमा केही बद्लाबहरु पनि आउँछन् । जस्तै हिजो गाउँमा मानिसहरुले चिठी पढ्न सक्यो भने भयंकर शिक्षित भएको मानिन्थ्यो । तर अहिले समय बदलियो। कसैको मोबाइल साइलेन्टमा रह्यो र त्यसमा आवाज आउने बनाइदियो भने त्यो विद्धता भयो । समय अनुसार ज्ञानको दायरा आफैंमा परिवर्तन हुन्छन् बाहिरी रुपमा । तर सार, अन्तर चेतना, वैयक्तिक स्वतन्त्रता र अन्तर हृदयकोअभिव्यक्तिको कुशलता आजका कविहरुले पनि पछ्याइरहेका छन् ।

भानुको परिवारलाई एउटा आदर्श परिवार भनिएको छ । वास्तवमा भानुको आफ्नो र पारिवारिक जीवन कस्तो थियो ? तपाईले कसरी बुझ्नुभएको छ ?

-भानुभक्त आचार्य एउटा परम्परा विध्वत घरानाका व्यक्ति हुन् । हजुरबुबासँग उनले कविता लेख्न सिके र पढे । त्यतिबेला पूर्वीय दर्शन, वेद, पुराणहरु पढ्ने चलन थियो । वौद्धिक र पूर्वीय दर्शनको ज्ञान गरेको परम्पराको घरपरिवार थियो । खान, लाउन, बस्न पुग्ने एउटा सम्पन्न परिवारकै छोरा थिए भानु । त्यसकारण पहिलादेखि नै ज्ञानको परम्परा, सम्पन्न घर परिवारको प्रभाव उनमा परेको हो । आफ्नो समयको चल्तापूर्जा, आफ्नो समयको अध्ययनशीलता र अगुवाइ गर्नसक्ने भएर नै उनले कविता लेख्दै हिड्ने समय पाएका हुन् ।

उहाँको पारिवारिक पृष्ठभूमि र उनको जीवनको भोगाईले साहित्यमा के प्रभाव पारेको छ ?

-उनलाई जीवनमा धेरै दुःख भएन् । बस्न–खान दःुख भएन् । धेरै संघर्ष र पीडाको अनुभुत हुन पाएन । तर सिर्जनाको कुरामा भने उनले दुःख गरेका छन् । तर जीवन निर्वाहको सवालमा भने दुःख भएन । सहज जीवनयापन नै गरेको पाइन्छ ।

भानुसँग घाँसीको प्रसंग जोडिन्छ । यसले धनी र गरिबबीचको खाडल दर्शाउन खोजेको हो ?

-हो । धनी र गरिबबीचको खाडल हिजोपनि थियो, आज पनि छ । तर भानुभक्तसँग घाँसी जोडिएको प्रसंग एउटा कथाकै रुप होला । घाँस किन्ने र बेच्ने परिभाषा जुन छ त्यसमा मेरो फरक दृष्टिकोण के हो भने त्यो बेला साहुका घरमा गरिब घरको मान्छेले दिनभरी घाँस काटेर भारीका भारी साहुको घरमा लाने चलन थियो । त्यसबापत अन्न अनाज दिने चलन थियो । भानुभक्तले देखेको बेलाको समाज पनि दुईवटा रहेछ । एउटा, अरुलाई घाँस कटाउन सक्ने र भारी बोकाउन सक्ने । अर्को, घाँस काटेर भारी बोकेर जीवन निर्वाह गर्ने । शासित र शोषितहरुको बीचको फरक हिजो पनि रहेछ ।

दार्शनिक र मानवीय दृष्टिले भानुको साहित्य सिर्जनालाई कसरी बुझ्ने ? तपाईले विधागत रुपमा भानुलाई कसरी बुझ्नुहुन्छ ?

-विधागत रुपमा त उनी काव्य विधाका हुन् । साहित्यमा कि नाटक, कि काव्य कि निबन्ध अथवा आख्यानहरु हुन्छन् । मूलत उनी काव्य विधाका हुन् । गद्य कविता, फुटकर कवितादेखि उच्च साधनाको महाकाव्यसम्म लेखेका उनी काव्य विधाका मान्छे हुन् । उनको कृतिमा विशेष रुपमा रामभक्तिको कुरा धेरै छ । रामभक्तिसँगै पूर्वीय दर्शनका विभिन्न दर्शनमध्ये वेदान्तलगायतका दर्शनहरुको गहिरो अध्ययन गरेका छन् ।

उनको रामायणमा ती कुराहरु पाइन्छ । उनले मूलत रामभक्तिलाई प्रमुख साधनाको सूत्र बनाए र समग्र नेपाली कविता विधामा भक्ति धाराभित्र राम भक्ति धारा अंगाले । त्यसैले उनी मूल कवि र समग्र नेपाली साहित्यका मूल प्रतिभा पनि हुन् । उनलाई राष्ट्रिय विभूती, जातिय चेतनाका प्रतिक आदि उपनामहरुले पनि चिनिन्छ । हरेक वर्ष भानु जयन्ती भव्यताका साथ मनाउने चलन छ । यस वर्ष २११ औं भानु जयन्तीको अवसरमा पनि विभिन्न कार्यक्रमहरु हँुदैछन् । मधेस, बागमती, गण्डकी, कोशीलगायतका प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु हुँदैछन् । यसरी सबैले साझा सम्पत्तिको रुपमा भानुभक्तलाई स्वीकार गरेका छन् ।

भानुभक्त आजभन्दा २११ वर्ष पहिलाका मान्छे हुन् । उनका कविता दुईसय बर्षका भए । आज हामी बाँचेको समाज कस्तो छ विचार गरौं न, हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौं । विश्वलाई एउटा मोबाइलमा हेर्नसक्ने अवस्था छ । आजको समयको कविता होइनन् भानुभक्तका । उनको कविता र लेखनको मूल्यांकन हुँदा दुईसय वर्ष पहिलाको नेपाली समाज, चेतनाको स्तर, शिक्षाको अवस्थालाई दुईसय वर्ष पहिलाको सापेक्षतामा अहिलेको अवस्थालाई हेरिनुपर्छ ।

तपाईं भानुको के कुराबाट बढी प्रभावित हुनुहुन्छ ?

-भानुको त्यो सहज अभिव्यक्ति, नेपाली भाषाको कविता भनेपछि कसैले पनि मन नपराउने बेलामा पनि उनले नेपाली भाषामा सरर बगेको नेपाली भाषामा कविताहरु लेखिदिएको हुनाले उनी मलाई मनपर्छ । अर्को, समसामयिक चेतना मनपर्छ । हरेक कविले लेख्ने भनेको इतिहास, भूगोल र संस्कृतीको जग टेकेर आफू बाँचेको समय संवेदना लेख्ने हो ।

उनले त्यो बेलाको अड्डा, अदालत र न्यायप्रतिको ढिला सुस्तीको समयबोध लेखेका छन् । दुईसय वर्ष पहिला त्यस्तो लेखेको कुरा आज दुईसय वर्षपछि पनि अड्डा, अदालतको बारेमा एउटा कविले कविता लेख्ने हो भने त्यही लेख्नसक्छ । भानुले साश्वत र मानवीय प्रवृत्तिको जुन कुरा लेखे त्यो मलाई असाध्यै मनपर्छ ।

भानुको योगदान नेपाली भाषा साहित्यमा अतुलनीय त छँदैछ तर आजका दिनमा भानुप्रति राज्यको भूमिका कस्तो पाइरहनुभएको छ ?

-राज्यले भानुलाई केही गरेन भनेर भन्नु हुदैँन् । कसैले त्यसो भन्योभने उसले केही बुझेको छैन भन्ने लाग्छ । राज्यको परिभाषा नै बुझेन भन्ने लाग्छ । राज्य भनेको हामी सबै हो । तपाईंले नै अहिलेको राजनीतिक कुरामाथि फिचर लेखेकोभए, बहस गरेको भए पनि त हुन्थ्यो होला नि । तर तपाई उत्सुकता र प्रेमले मसँग संवाद गरिराख्नु भएको छ । तपाई पनि राज्य हो, म पनि राज्य हो । हामीले २०३२–३३ सालदेखि प्रधानमन्त्रीको उपस्थितीमा भानु जयन्ती मनाउँदै आएका छौं । हाम्रो सबै पाठ्यक्रमहरुमा भानुभक्त पढाई हुन्छ । भानुका शालिकहरु निर्माण भएका छन् ।

यही नै हो भानुभक्तको लागि गरिने काम । भानुभक्त जन्मिएको अवसरमा करोडौं पैसा खर्च गरेर साहित्यकारहरुलाई पुरस्कार दिने गरिन्छ । त्यो पैसा कहाँबाट आयो र कसरी खर्च भयो भन्ने विषयमा अलग्गै बहस होला । तर करोडौं पैसा खर्चेर भानुभक्तको नाममा केही गर्नु भनेको आफैंमा सम्मान हो । त्यसैले राज्यले केही गरेन भन्ने मलाई लाग्दैन् । तर त्यो गरेको कुरालाई भानुसँग जोडिएका संघ संस्थाले वा व्यक्तिहरुले कति गरे भन्नेचाहीं मूल्यांकन हुनुपर्छ ।

हुनत तुइन तरेर स्कुल जाने, झुलुङ्गे पुलबाट मान्छेहरु झरेर मर्नेक्रम चलिरहेको छ । स्कूलको छाना छाउन बाँकी छ, सिटामोल नभएका अस्पताल आज पनि छन् । देशको अवस्था यस्तै छ । दिनदिनै साहित्यकारको नाममा राज्यले पैसा खर्च गर्ने होइन ।

भाषा साहित्यका अन्य संस्थाहरु छन्, विश्वविद्यालयहरु छन्, पाठ्यक्रमहरु छन्, पढाइ हुन्छ, बहस भइरहेको छ । एउटा कविका लागि राज्यले गर्ने काम नै यस्तै हो । भानुका लागि राज्यले धेरै काम गरेकै छ भन्ने लाग्छ । बरु भानुले जति राज्यबाट पाए अरुले पाएनन् कि ।

हामी बहुदलीय व्यवस्थामा छौ । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । चेतनामा छौं । हामीले विद्यापतिलाई त्यति न्याय गरेका छौ कि छैनौ । विभिन्न भाषाभाषीका आदिकविहरु होलान्, अब हामीले ती मान्छेहरुलाई न्याय पुगेको छ कि छैन्, त्यतातर्फ खोज्नुपर्छ । मुलुक त साझा फूलबारी हो । यहाँ धेरै भाषा, संस्कृती, जाति छन् । प्रत्येक भाषाको आफ्नो लिपी छ । त्यहाँ पनि आदिकवि होलान्, साहित्यकार होलान् । तीनलाई पनि खोजेर उठाउनुपर्छ । अब हाम्रो ध्यान त्यतातर्फ जानुपर्छ ।

भानु प्रतिष्ठानले चाहीं के गरिरहेको छ ?

-म भर्खरै अध्यक्ष भएको हुँ । भानुभक्तलाई सबैको साझा संस्कृतीको बीचमा राखेर अघि बढाउनुपर्छ भन्ने काममा जुटेका छौं । अरु भाषामा भानुभक्तलाई लाने, अरु भाषालाई नेपाली भाषामा ल्याउने त्यो अभियानका रुपमा चलाउनुपर्छ । यस्ता आदर्श कामका लागि युवाहरुमा लाग्नुपर्छ जस्तो लाग्छ ।

अहिले समस्या दुइवटा छन् । मान्छेहरु कि डिप्रेशनमा जान थाले कि आत्मदाह गर्न थाले । मान्छेसँग सबैभन्दा ठूलो सम्पत्ति जीवन हो । मान्छे जीवन नै फाल्न थाले । साहित्य, सिर्जनाले मानिस आत्महत्यासम्म पुर्याउने जुन निराशा छ त्यो निराशा चिर्नेगरी आशाको साहित्य कसरी सञ्चार गर्न सकिन्छ त्यतातिर सोच्नेबेला आएको छ । युवाहरुलाई उत्प्रेरित गर्न र जगाउनको लागि अभियान चलाउनुपर्छ कि जस्तो लाग्छ । पूरानो पुस्ताको ज्ञान र नयाँ पुस्ताको आवश्यकताको संवेदनालाई लिएर अघि बढ्नुपर्छ । म यतिबेला साहित्यकै एउटा महाकाव्यका लागि साधना गरिरहेको छु । पछिल्लो दिनमा म देशभर दौडिरहेको छु ।

Logo