खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण देखिए पनि कडा निमोनिया हुँदैनः डा. अनुप बाँस्तोला

खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण देखिए पनि कडा निमोनिया हुँदैनः डा. अनुप बाँस्तोला

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै आममानिसमा त्रास बढेको छ। झन् टेकू अस्पतालमा कोरोना भ्याक्सिन लगाइसकेका एक पुरुषमा संक्रमण देखिएपछि यो चासो र अनुसन्धानको विषय बन्न पुगेको छ।

कोरोना भ्याक्सिनको प्रभावकारिता, कोरोनाको नयाँ भेरिएन्ट र सुरक्षित रहने उपायबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूका संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलासँग गरिएको कुराकानीः

नेपालमा कोभिड–१९ विरुद्ध भ्याक्सिन लगाएको व्यक्तिमा पनि संक्रमण देखिएको छ, यसलाई कसरी लिनु भएको छ ? 

गत फागुन २३ गते भ्याक्सिन लगाएको ७२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।  संक्रमित पुरुषको छोरा–बुहारीलाई त्यसअघि नै लक्षणसहित संक्रमण देखिसकेको थियो। 

ती वृद्ध त्यतिबेलै परिवारकै सदस्यबाट संक्रमित भइसकेको अवस्था थियो । उहाँले खोप लगाउनुभयो, त्यतिबेला उहाँमा लक्षण थिएन। तर, उहाँमा संक्रमण देखिएपछि लक्षण देखिने समय बाँकी नै थियो। त्यसैकारण उहाँमा खोपले असर गर्न पाएन। उहाँबाहेक खोप लगाएका केही व्यक्तिहरू संक्रमित भएर अस्पताल आएका छन्। त्यसैले हामीले बुझ्न आवश्यक छ कि खोप लगाएका व्यक्ति पनि संक्रमित हुन सक्छन् ।  

त्यसो भए खोप किन लगाउने ?

खोप लगाउनुका धेरै फाइदा छन्। खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण देखिए पनि संक्रमणको कारणले गर्दा हुने कडा निमोनिया अथवा अस्पताल भर्ना हुने अवस्था आउँदैन। 

नेपालमा एउटा डोज कोभिसिल्ड खोप लगाइएको व्यक्तिमा ७६ प्रतिशत प्रभावकारी देखिएको छ। १७ हजारभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनले यो नतिजा आएको हो। यसले तीन महिनासम्म सुरक्षा गर्ने देखिएको छ। 

पहिलो खोप लगाएको चारदेखि ६ हप्ताको अन्तरमा दोस्रो खोप लगाउँदा जुन किसिमको प्रभावकारिता हुनुपर्ने हो, त्यो नभएको पाइएको छ। त्यसको ५४–५५ प्रतिशत मात्र प्रभावकारिता हुने पछिल्लो अनुसन्धानले देखाएको छ। 

१२ सातापछि खोप लगाउँदा यसको प्रभावकारिता ८२ प्रतिशतसम्म पुगेको अध्ययनले देखिएको छ। त्यसकारण अन्तर अलि बढी भयो भने खोपको प्रभावकारिता बढ्छ भन्ने कुरा अध्ययनले देखाएको छ। 

खोप अभाव भइरहेको अहिलेको अवस्थामा यस्ता किसिमका राम्रा अध्ययन अनुसन्धानले एउटा मात्र डोज धेरै मानिसमा लगाइदिँदा पनि फाइदा हुन्छ भन्ने बुझिएको छ। अर्को कुरा, दुई तिहाईजति  खोप लगाएका व्यक्तिहरू संक्रमित हुँदैनन्। संक्रमित नभएपछि उनीहरूले अन्य व्यक्तिलाई सार्न सक्दैनन् । 

खोप लगाएका व्यक्ति संक्रमित हुँदा जोखिमको सम्भावना कति हुन्छ ? 

खोप लगाएका दुई तिहाई व्यक्तिमा र्‍यालको नमुना लामो समयसम्म नेगेटिभ आउँछ। समुदायमा खोप लगाउँदा दुई तिहाई जनसंख्याले सार्न सकेनन् भने संक्रमण दर न्यून हुँदै जान्छ।

सबै व्यक्तिमा यो प्रभावकारी हुँदैन, केही व्यक्ति संक्रमित हुन सक्छन्। यदि संक्रमित भइहाले पनि त्यस्तो गम्भीर अवस्था आउँदैन। तर, उनीहरूले परिवार तथा समुदायका व्यक्तिलाई संक्रमण सार्न सक्छन्। त्यसैले खोप लगाएका व्यक्तिले पनि स्वास्थ्य मापदण्ड अपनाउन एकदमै आवश्यक छ। खोप लगाएका व्यक्तिले आफ्नो सुरक्षाभन्दा पनि अरुलाई सार्नसक्ने कुरालाई मध्यनजर गरेर सुरक्षित हुनु जरुरी छ। 

नेपालमा संक्रमित भएका पुरुष खोप लगाउनुअघि संक्रमित भएका थिए कि खोप लगाएपछि ? 

अहिलेसम्म जति अध्ययन–अनुसन्धान गरिएका छन्, जसअनुसार खोप लगाएर उहाँको शरीरमा एन्टीबडी बनेको भए गम्भीर निमोनिया हुन्थेन। उहाँलाई अक्सिजनको आवश्यकता परेको छ, जुन नेचुरल कोर्स हो। उहाँको शरीरमा आइजिजी एन्टीबडी पनि बनिसकेको छ। आइजिजीमा अलिअलि धर्का देखिएको थियो।

 यो एन्टीबडी टेस्टबाट हेरिएको थियो, तर पनि बिरामीमा जटिल निमोनिया भयो। अर्को आइजीजी एन्टीबडी पनि राम्रोसँग देखिन सुरु भइसकेको अवस्था थियो। यी सबै अवस्था हेर्दा खोपको असर अथवा खोपले जोगाउनसक्ने अवस्था भइसकेको थिएन। 

नेपालमा १७ लाखले खोप लगाएका छन्, भनेपछि उनीहरूले एकदम सुरक्षित छन् भन्ने अवस्था छैन?

खोप लगाएका व्यक्तिहरु संक्रमित भए पनि उनीहरु सिकिस्त हुनसक्ने सम्भावना न्यून हुन्छ । अर्को मुख्य कुरा उनीहरुबाट परिवार, समुदायमा संक्रमण सर्न सक्ने अवस्था हुन्छ। त्यसैले उनीहरुले स्वास्थ्य मापदण्ड पाल्ना गर्नु एकदमै जरुरी छ।

 खोप लगाए  पनि ढुक्क भएर हिँड्ने अवस्था छैन। यदि राज्यले खोपको उपलब्धता जनसंख्याको ७०–८० प्रतिशत व्यक्तिभन्दा बढीमा पुर्याउन सक्यो भने  खोप प्रभावकारी हुन्छ। यसले संक्रमण रोकथामका लागि एकदमै फाइदा गर्छ। 

सरकारको अहिलेको मुख्य उद्देश्य भनेको जुन व्यक्तिमा सिकिस्त हुनसक्ने सम्भावना धेरै हुन्छ, निमोनिया भएर अस्पताल भर्ना हुनसक्ने जुन वर्ग छ, त्यसलाई लक्षित गरेर खोप लगाएको छ। तसर्थ, उनीहरू संक्रमित भए पनि गम्भिर अवस्था नभएपछि अस्पतालका बेडमा चाप हुँदैन। यसले गर्दा उपचारमा सहजता मिल्ने भयो। 

विश्वभर कोरोना संक्रमण कम भइरहेको अवस्थामा नयाँ भेरिएन्ट देखियो, के यो नयाँ भेरिएन्टले गर्दा नै कोरोना संक्रमित बढेको हो? 

यसका विभिन्न पक्षहरु छन्। एउटा भाइरस जति संक्रामक भयो, त्यति नै संक्रमितको संख्या बढ्ने हो। तर, संक्रमित हुनबाट जोगिने उपाय हामीसँग प्रशस्तै छन्।

हामी मास्क लगाउन सक्छौं, भौतिक दूरी कायम गर्न सक्छौं, साबुनपानीले हात धुन सक्छौं, कोठाभित्र कार्यक्रम गर्नुको सट्टा खुला चौरमा गर्न सक्छौं तर हामीले यी सबैलाई तोडदियौं। 

हामीलाई नयाँ भेरिएन्ट नै चाहिँदैन। कोरोना मथ्थर हुँदै गर्दा हामीले मापदण्ड छाडेकाले संक्रमित बढ्दै गएका छन्। यी नयाँ भेरिएन्ट केहीमा देखिएको छ। तर, अरु ७०–८० प्रतिशत मानिसमा त्यही पुरानो भेरिएन्ट छ। 

एक वर्षको लामो थकाइका कारण हामीले मापदण्ड मिच्न सुरु गर्यौं। कोरोनाको स्तर तल झर्दै गर्दा हामी ओहो ! अब त कोरोना नै छैन भनेर हिँड्यौं। जब हामीले मापदण्ड तोड्यौं, व्यवस्थापकीय कुरा छाड्यौं, एक वर्षको थकाइका कारण भनौं या राज्यको निगरानी कम भएर हो, विश्वव्यापी रूपमै संक्रमण बढ्यो। यदि हामीले मापदण्ड अपनायौं भने जति संक्रामक भए पनि आफूलाई जोगाउन सक्छौं। 

त्यसो भए पहिले आफू जोगिन आवश्यक हो, त्यसपछि मात्र राज्यको दायित्व भन्न खोज्नु भएको? 

आजको दिनमा आएर फेरि राज्यले यो गरेन भन्ने कि ! हामीले यत्रो कुरा सिकिसक्यौँ। आमसर्वसाधरणलाई मास्कको प्रयोग कसरी गर्ने, कपडाको मास्कले कति सुरक्षा दिन्छ भन्ने कुरा थाहा छ, त्यसलाई व्यवहारमा उतार्नुपर्यो। 

आफूले व्यवहारमा नउतार्ने अनि राज्यले गरेन अथवा राज्यले संक्रमण रोक्न सकेन भन्दै हामी कराइराख्ने हो? यसले राज्यको लागि फाइदा हुँदैन र, सर्वसाधरणलाई पनि फाइदा हुँदैन। मुख्य कुरा संक्रमण रोकथाम गर्नका लागि राज्य र स्वास्थ्य मन्त्रालयको आफ्नो काम छँदैछ, त्यसमा सर्वसाधारणले पनि बुझ्नुपर्छ। 

यस्तो अवस्थामा सरकारलाई सहयोग गर्न आवश्यक छ । सरकारलाई सहयोग गर्नु सरकारको फाइदाका लागि मात्र होइन,  आफ्नो फाइदाको लागि पनि हो। आफ्नो परिवार र समुदायको फाइदाका लागि हो । त्यसैले आम सर्वसाधारणले पनि आफ्नो भूमिकाबारे बुझ्न जरुरी छ। 

केही महिनाअघि  नेपालमा पनि कोरोनाको युके भेरिएन्ट देखिएको थियो। पछि त्यसबारे कुनै खबर बाहिर आएन। उक्त भाइरस फैलियो कि रोकियो ? नेपालमा कोरोनाको नयाँ भेरिएन्ट छ कि पुरानै? 

कुनै पनि संक्रामक रोग नियन्त्रणमा राज्यको भूमिका रहन्छ। सर्वसाधारणले कोरोना कम भइसक्यो भनेपछि राज्यका निगरानी कमजोर हुन थालेको हुन सक्छ। जस्तैः स्थलमार्गबाट आउने व्यक्तिमा निगरानी, क्वारेन्टाइनका कुरामा चुक्न थालिएको छ। फलस्वरुप संक्रमणको नयाँ भेरिएन्ट अथवा भारतको डबल म्युटेन्ट भेरिएन्ट नेपाल भित्रिएको छ कि भन्ने आशंका बढेको छ। हवाईमार्गबाट आउने व्यक्तिलाई जुन किसिमको क्वारेन्टाइन व्यवस्था गरिएको छ, त्यसमा सरकारको निगरानी पुगेन कि? सर्वसाधारण बाहिर पो निस्केका छन् कि, भेलासमारोहमा गएका छन् कि? ती कुरामा राज्यले निगरानी गर्नुपर्छ। रोकथामका सम्पूर्ण उपायमा राज्य केन्द्रित हुनुपर्छ। 

राज्यको अर्को जिम्मेवारी भनेको कस्ता प्रजातिको कोरोना भाइरस फैलिरहेको छ । अत्यन्तै संक्रामक छ वा पहिलाकै सामान्य भेरिएन्ट हो यसको निक्र्योल हुनुपर्छ।  ती सबै कुरालाई मध्यनजर गर्दै रोकथामका रणनीति कस्तो बनाउने भन्ने विषय महत्वपूर्ण हुन्छ। 

पछिल्लो समय भोज अथवा मिटिङमा भेला भएका व्यक्तिमा जाँच गर्दा पाँच घन्टामै आधाभन्दा बढीमा संक्रमण सरेको देखिएको थियो। त्यति संक्रामक भनेपछि त्यो कुनै न कुनै नयाँ भेरिएन्ट हुनसक्छ। 

भारतमा हजारौं संख्यामा गरिएको परिक्षणमा ७ सय जतिमा यूके भेरिएन्ट देखिएको छ। तर, मापदण्ड नअपनाएको कारण भाइरस फैलिरहेको छ। त्यसैले नयाँ भेरिएन्टको कुरामा अध्ययन–अनुसन्धान जरुरी छ। यो कोरोना लडाइँको एउटा पक्ष पनि हो। 

नेपालमा अग्रपंक्तिमा काम गर्ने पेसाकर्मीका साथै वृद्धवृद्धालाई खोप दिइयो, अरुमा तत्काल असर देखिए पनि वृद्धवृद्धामा त्यति असर देखिएन भन्ने छ नि? 

खोपले मान्छे मर्छ भन्ने भ्रम थियो। धेरै व्यक्तिहरुले पछि मात्र खोप लगाउने निर्णय गरेका थिए। केही भइहाल्छ कि मान्छे मरिहाल्छ भन्ने किसिमको भ्रम थियो।
 

खोप लगाएपछि के हुन्छ भन्ने कुरा आम सर्वसाधारणलाई भन्न जरुरी थियो। खोप लगाएपछि युवाहरूमा कस्ता किसिमका समस्या देखिँदो रहेछ भन्ने आम सर्वसाधारणले थाहा पाउन् भनेर मैले अनुसन्धान गरेँ, जसमा ८० प्रतिशत युवापुस्तामा केही न केही साइड इफेक्ट देखिएको थियो।

एक सयभन्दा बढी वृध्दवृद्धाहरुमा गरिएको अध्ययनले उनीहरुमा ५० प्रतिशत मात्र सामान्य लक्षण देखिएको थियो। गम्भीर खालका स्वास्थ्य समस्या कसैमा देखिएन। 

कस्ता खालका बिरामीले खोप लगाउन हुँदैन?

कस्ता व्यक्तिले खोप लगाउन मिल्छ भन्ने विस्तृत अध्ययन बाँकी छ। जस्तैः १८ वर्षमुनिका व्यक्तिमा यस खोपको प्रयोगबारे अध्ययन हुँदैछ। १८ वर्ष पुगेका व्यक्तिले खोप लगाउन मिल्ने तर १७ वर्ष ९ महिला पुगेकाले लगाउन नमिल्ने भन्ने हुँदैन। यसमा त्यस्तो ठूलो परिवर्तन  केही हुँदैन।

अध्ययनको आधारमा त्यसको फाइदा/बेफाइदाबारे विज्ञानमा निर्भर भएर जनतालाई भन्नुपर्ने हुन्छ। गर्भवती महिलाले लगाउन हुन्छ कि हुँदैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले लगाऔं भनेको छ। खोप लगाएपछि यसको असर के हुन्छ ? खोपले जन्मिएका बच्चामा असर गर्छ कि गर्दैन भन्नेबारे अध्ययन हुन सक्छ।  

मोर्डनाको खोप लगाएको एक गर्भवती महिलाले जन्माएको बच्चामा एन्टीबडी बनेको भन्ने समाचारमा आएको छ नि? 

गर्भवती महिलाले खोप  लगाएर एन्टिबडी बन्यो भने त्यो बिल्कुलै बच्चामा जान्छ। जस्तैः कोही आमा एचआइभी संक्रमित छिन्, उनको शरीरमा बनेको एन्टिबडी १८ महिनासम्म पोजेटिभ देखिन सक्छ। तर, सकारात्मक देखियो भन्दैमा त्यो बच्चा एचआइभी संक्रमित भन्न मिल्दैन। आमाको शरीरबाट बच्चामा सर्ने जुन एन्टीबडी हुन्छ, त्यो अन्य रोगमा पनि सर्छ। 

विश्वका फर्मा कम्पनी कोरोनाविरुद्धको खोप बनाउनतिर मात्र लागे यिनीहरु एन्टीभाइरल औषधी बनाउन किन लागेनन्? 

 महामारीमा विभिन्न प्रकारका विकास हुन्छन् । अहिले हामी एन्टीभाइरलभन्दा पनि मुख्य कुरा निमोनियाबाट बच्नु छ। अर्को कुरा खोप नै महामारीको अन्त्यका लागि एउटा ठूलो पिलर हो। हामीले सुरक्षित र प्रभावकारी खोप सम्पूर्ण नागरिकलाई पुर्याउन सक्यौं भने कोरोना नै समाप्त भएर जान सक्छ। 

छिमेकी मुलुक भारतमा तीब्र रूपले संक्रमण बढेर आतंक फैलिरहेको अवस्था छ, अब नेपालले गर्नुपर्ने काम के हो?  

नेपाली जनता र सरकार मिलेर जानुपर्छ।  एक वर्ष पहिले न हामीलाई कोरोनाको बारेमा जानकारी र ज्ञान  थिएन। हामीलाई डर मात्र थियो तर एक वर्षमा हामीले कोरोना के रहेछ भनेर जान्यौं।

 नेपालमा कोरोना आयो भने नेपालले थेक्न सक्दैन, स्वास्थ्यकर्मी नै छैनन्, अस्पताल तयारी अवस्था छैन भन्थे तर अस्पताल तयार भए। सरकारीदेखि निजी अस्पतालले पनि नाम कमायो। 

हामीले एउटा महामारीमा लडाइँ लड्यौं। सरकारले भएभरको लगानी गर्यो। सरकारले ८० भन्दा धेरै स्थानमा पिसीआर परीक्षणस्थल  बनायो। क्वारेन्टाइन आइसोलेसन केन्द्र बनायो। एउटा लडाइँमा सरकारले पाठ सिकिसकेको छ।

यसरी आमनागरिकले कोरोना के हो भन्ने बुझिसकेका छन् । अब पनि हामीले सरकारले के गर्छ, हामीले के गर्छौं भन्ने होइन। कोरोनासँग लड्न आवश्यक पूर्वाधार हामीसँग तयारी अवस्थामा छन्। 

अब सर्वसाधारणलाई सचेत बनाउनु छ। सर्वसाधारणले साथ दिए एक वर्षको यो बुझाइका आधारमा संक्रमणको दोस्रो चरणलाई रोकथाम गर्न ठूलो चुनौती छैन। 

सर्वसाधारणले मापदण्ड मिच्ने, कोरोना केही होइन भनेर जथाभावी गर्ने गर्नु भएन। 

सरकारले फेरि लकडाउन गर्ने कतिको सम्भावना छ? 

लकडाउन मात्र संक्रमण रोकथामको उपाय हुन्थ्यो भने अहिले विश्वभर मानिस सुरक्षित हुन्थे होलान्। हामीले पनि लकडाउन गरेकै हो तर लकडाउन खुलेसँगै संक्रमित क्षेत्रबाट आएका व्यक्तिमा निगरानी पुगेन, उनीहरू समुदायमा घुलमिल भए । रैथाने मानिस निस्केर त्यही घुलमिल भए त्यसपछि समुदायमा संक्रमण फैलियो। 

सबैभन्दा महत्वपूर्ण कुरा रोगग्रस्त क्षेत्रमा नयाँ भेरिएन्ट देखिएका स्थानबाट आउने व्यक्तिलाई निगरानी राख्नु आवश्यक हुन्छ। त्यो निगरानी भनेको क्वारेन्टाइन हो। त्यसैले क्वारेन्टाइनलाई अझै व्यवस्थित गर्न जरुरी छ। 

Logo