स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले हाम्रो विश्वास खण्डित भयो: डा. शरद वन्त, जनस्वास्थ्यविद्

स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले हाम्रो विश्वास खण्डित भयो: डा. शरद वन्त, जनस्वास्थ्यविद्

केन्द्रबिन्दु
0
Shares

शिक्षा क्षेत्रका चर्चित व्यवसायी उमेश श्रेष्ठले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राज्यमन्त्री बनेर व्यवसायी श्रेष्ठ सिंहदरबार प्रवेश गरे र, सपथ लिएपछि उनले कार्यभार सम्हालेका छन्। 

स्वास्थ्य क्षेत्रमै ठूलो लगानी गर्ने तयारीमा रहेका श्रेष्ठलाई कसरी सिंहदरबार प्रवेश गराइयो? कांग्रेसभित्रै आशंका उत्पन्न भएको छ। उनको  नियुक्तिले ‘स्वार्थको टकराव’ हुनसक्ने आँकलन पनि गर्न थालिएको छ। 

त्यसो त कांग्रेस ढिलोचाँडो निर्वाचनमा होमिने तयारीमा रहेको अड्कलबाजी हुन थालेको छ। महन्थ ठाकुर पक्ष र एमाले माधव पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने देउवा संकटमा पर्न सक्छन्। त्यसैले व्यापारिक घरानालाई फकाए आसन्न निर्वाचनमा जित हासिल गर्न सहज हुने भएकाले देउवाले राज्यमन्त्रीमा श्रेष्ठलाई रोजेका कतिपयको अनुमान छ। 

मुलुकमा महामारी बढ्दो छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पटकपटक मन्त्री परिवर्तन र विज्ञता हासिल नगरेकालाई मन्त्री बनाएजस्तो देउवाले पनि मनलाग्दी मन्त्री बनाउँदैनन् होला भन्ने धेरैले सोचेका थिए, जुन गलतसावित भएको छ।
 
पछिल्लो समय खोप खरिदमा राज्यले अर्बौं रुपैयाँ लगानी गर्ने भएकाले पनि व्यापारीहरूको रोजाइमा उक्त मन्त्रालयमा परेको हुनसक्ने देखिएको छ। 
 
अहिले पनि स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल नगरेका व्यक्तिलाई राज्ममन्त्रीमा नियुक्त गर्नुले पुरानो र नयाँ सरकारमा के भिन्नता देखियो त?  व्यापारी र राजनीतिज्ञको केमेस्ट्री मिल्ला त ? यी लगायत अन्य स्वास्थ्य क्षेत्रका सवालबारे वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरदराज वन्तसँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

व्यापारिक घरानाका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले दिन खोजेको सन्देश के हो ?

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापारिक घरनाका उमेशजीलाई राज्यमन्त्रीमा नियुक्त गरेर के सन्देश दिन खोजे, त्यो मैले बोल्न नमिल्ला, किनकि त्यसको आधार मसँग छैन। तर, हामीले भन्नसक्ने एउटा कुरा के हो भने अहिले पनि मुलुकमा धेरै मुद्दाहरु छन्, त्यसमध्ये पनि केन्द्रबिन्दुमा रहेको मुद्दा चाहिँ स्वास्थ्यकै हो।

अहिले जुन तरिकाले महामारी फैलिरहेको छ, तेस्रो भेरियन्ट आउने प्रबल सम्भावना रहेको अवस्थामा स्वास्थ्य मन्त्रालय खाली हुनुचाहिँ दुर्भाग्यपूर्ण हो। यतिखेर स्वास्थ्य मन्त्रालयले जुन नेतृत्व लिनुपथ्र्यो त्यो लिन सकेन। हामीलाई त अहिले स्वास्थ्य क्षेत्र जानेको, नेतृत्व लिन सक्ने, स्वास्थ्यबारे एउटा दिशा बोध गर्न सक्ने नेतृत्वको अपेक्षा गरिरहेका छौं।

आमजनताले, स्वास्थ्यकर्मीले, स्वास्थ्यसम्बन्धी जानकारले अनि पत्रकारहरुसमेतले गरेको अपेक्षा चाहिँ त्यस्तो एउटा नेतृत्व, जसले अहिलेको यो चुनौतीलाई सामाना गर्न सकोस्।

त्यसका लागि सामान्य रुपमा हाम्रो सोच के हो भने स्वास्थ्यमा एउटा सही दृष्टिकोण र स्पष्टता, स्वास्थ्यको मामिलामा जटिल प्रक्रियाहरू छन्, त्यसलाई नेतृत्व दिन सक्ने क्षमता भएको, प्रतिबद्धता र इमानदारिताका काम गर्न सक्ने यी सबै कुराको हामी अपेक्षा गछौं।  जहाँसम्म अहिलेको यो नियुक्तिको सन्दर्भमा चाहिँ म के भन्न सक्छु भने, पहिलो कुरा चाहिँ राज्यमन्त्री कतिको अधिकारसम्पन्न व्यक्ति हो भन्ने रहन्छ।

हामीले बुझेअनुसार राज्यमन्त्री भन्नाले मन्त्रीको सहयोगी भन्ने गरिन्छ। हामीलाई त अहिले अधिकारसम्पन्न स्वास्थ्य मन्त्रीकै आवश्यकता हो। अब स्वास्थ्य राज्यमन्त्रीकै नियुक्ति चाहिँ पूर्ण हो जस्तोे लाग्दैन। 

दोस्रो कुरा मलाई जहाँसम्म थाहा भए अनुसार राज्यमन्त्रीजीको स्वास्थ्यको मामिलामा संलग्नताबारे म अनविज्ञ छु। उहाँका दृष्टिकोणहरू, उहाँको स्वास्थ्यमा हुने नेतृत्वको सीप, क्षमता र उहाँमा स्वास्थ्यको जटिलताको स्पष्टताबारे म अहिलेसम्म अनविज्ञ छु।

म उहाँलाई व्यवसायीका रुपमा मात्र चिन्दछु। त्यसबाहेक स्वास्थ्यको क्षेत्रमा नेतृत्व दिने भूमिका निर्वाह गरेको मेरो जानकारीमा छैन। त्यो हिसाबमा म एउटा जनस्वास्थ्य क्षेत्रको व्यक्ति हुँ, मेरै अपेक्षा पनि पूर्ण भएको छैन।

महामारीले आक्रान्त पारेको यो अवस्थामा सरकारले स्वास्थ्य मन्त्रालय नै मन्त्रीविहीन राख्नुले कस्तो असर गर्छ?

पक्कै पनि यसबीचमा सरकारले अरु जे–जे भए पनि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालयलाई पूर्णता दिनुपथ्र्यो, नयाँ सरकारले त्यो ठूलो गल्ती गरिरहेको छ। जसको कारण नयाँ सरकारको राम्रो सन्देश जान सकिरहेको छैन।

हामीले अहिलेसम्म धैर्यता राखेका छौं सरकारले गर्छ कि भनेर। तर, अझै महत्वपूर्ण मन्त्रालय खाली रहनु गम्भीर त्रुटि गरिरहेको छ सरकारले।

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापारिक घरनाका उमेशजीलाई राज्यमन्त्रीमा नियुक्त गरेर के सन्देश दिन खोजे, त्यो मैले बोल्न नमिल्ला, किनकि त्यसको आधार मसँग छैन। तर, हामीले भन्नसक्ने एउटा कुरा के हो भने अहिले पनि मुलुकमा धेरै मुद्दाहरु छन्, त्यसमध्ये पनि केन्द्रबिन्दुमा रहेको मुद्दा चाहिँ स्वास्थ्यकै हो।

यो महामारीमा स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन हुनु कुनै अर्थमा पनि स्वीकार्य होइन। अहिले जुन सशक्त नेतृत्वको खाँचो छ, त्यसको अभाव हामीले महसुस गरिरहेका छौं। त्यसको पूर्ति अहिलेको नियुक्तिले होला? यी र यस्तै कार्यले हामीलाई आशावादी बनाउँदैन, अनि सरकारप्रति हामीले गर्ने विश्वास हट्छ।

अहिले पनि हामीले स्वास्थ्य मन्त्री नियुक्ति गर सरकार भन्ने बेला हो र, त्यसको सान्दर्भिकता र आवश्यकता अहिले पनि हामीले बुझाइदिनुपर्ने अवस्था हो र?

यो त देखिएकै कुरा हो त? यस्तो संकटबाट गुज्रिरहेको अवस्थामा नेतृत्वमा बस्नेले यति कुरा त बुझ्नुपर्याे नि होइन। सरकारप्रति अझै हाम्रो भरोसा छ, हामीले धैर्यता राखेका छौं, सरकारले सुरुआतमै जुन तरिकाको उद्घोष गरेको छ, जसरी खोप, खोप, खोप भनेर हामीलाई आश्वासन बाँडेको छ, हामी त त्यसैलाई विश्वास गरेर बसेका छौं। 

तर, राज्यमन्त्रीको नियुक्तिले हामीले गरेको विश्वासलाई केही खण्डित त गर्यो, चाँडै स्वास्थ्य मन्त्री नियुक्त गरेर सरकारले हाम्रो अपेक्षा पूरा गरिदिनु पर्छ।

जुन आपतकाल हामीसँग छ नि, तत्काल एक्सन लिन हामीसँग समय साह्रै थोरै छ, हामीसँग पर्खिराख्ने सुविधा छैन। त्यसैले सरकारलाई कमजोरी गर्न छुट छैन्। अब पनि कमजोरी भयो भने ठूलो मूल्य हामी चुकाउँछौं, जुन हामीले अहिलेसम्म सोचेका छैनौं।

सरकारले अहिले के कुरामा प्राथमिकता दिनुपर्ला, तेस्रो लहरको सम्भावना पनि त्यतिकै छ, सरकारले केमा फोकस हुनुपर्छ ?

सुरुमा त सरकारले स्वास्थ्य मन्त्री नियुक्त गर्नुपर्यो, स्वास्थ्यमा एउटा सही दृष्टिकोण र स्पष्टता भएको, स्वास्थ्य क्षेत्रको जटिल मामिलालाई चिर्नसक्ने, स्वास्थ्य क्षेत्रलाई नेतृत्व दिनसक्ने क्षमता भएको, प्रतिबद्ध र इमानदार भएर काम गर्न सक्ने मन्त्री चाहियो।

अन्य चुनौंतीहरु त यसअघि हामीले पटक–पटल बोलेको–लेखेकै हो। ती चुनौंती अहिले पनि जस्ताका त्यस्तै छन्। हामीसँग थप चुनौती रहेको भनेको, खोपको उपलब्धता नै हो।

अब प्रकोपलाई सम्बोधन गर्ने भनेको खोपले नै हो। अब हामीसँग हिजोको जनस्वास्थ्य विधि त छ नै, त्यसमध्ये पनि तमाम विधिभन्दा हामीलाई चाहिने महत्वपूर्ण वस्तु खोप नै हो।

यद्यपि, खोपले मात्रै यो प्रकोपलाई सम्बोधन गर्न सक्दैनौं, खोपसँगै जनस्वास्थ्यको सम्पूर्ण विधि त अपनाउनै पर्यो।

त्यसमाथि खोप नै अहिले सरकारले दिनुपर्ने प्रमुख प्राथामिकताभित्र पर्छ। त्यसो भन्नुको मतलब अन्य विधि अपनाउनै पर्दैन भन्नेचाहिँँ होइन। ती सबैलाई अपनाउँदै खोप लगाउनुपर्छ। अहिले पनि विश्वमा आपूर्तिभन्दा माग बढी छ खोपको। अब सरकारले अधिकतम प्रयास गर्नु पर्यो खोप ल्याउन। 

म चाहिँ अहिले नै हाम्रा शतप्रतिशत नागरिकले खोप पाउछन् भन्नेमा विश्वस्त छैन। तर, सरकारले यसतर्फ प्रयास गरेको छ कि छैन भन्नेबारे चाहिँ मूल्यांकन गरिनुपर्छ। यदि त्यो प्रयास गरेको छ भने आज नभए भोलि हुन्छ तर, प्रयास चाहिँ गर्नुपर्यो।

सरकारले म चाहिँ तीन काम गरोस् भन्छु खोपको सन्दर्भमा–

१– आर्थिक प्रबन्ध सरकारले गरोस्
२–खोप ल्याउन कूटनीतिक कदम चालोस् 
३–खोप आएपछिको आन्तरिक व्यवस्थापन चुस्त होस्

यी तीन कार्य गर्न सरकार अहिलेदेखि नै लाग्नुपर्छ। अहिले पनि खोप सहयोग र खरिदबाट आइरहेको छ, यिनीहरूको व्यवस्थापन, लक्षित वर्ग छनोटदेखि तमाम कुरा मिलाउन सरकारले सकिरहेको छैन। यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ।

Skip This
Skip This
Logo