राति ८ बजेपछि गाडी बन्द गर्ने निर्णय पुनरावलोकन हुनसक्छः प्रजिअ पराजुली (भिडियाेसहित)

राति ८ बजेपछि गाडी बन्द गर्ने निर्णय पुनरावलोकन हुनसक्छः प्रजिअ पराजुली (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । उपत्यकाका जिल्ला प्रशासनहरुले मंगलवार बिहीवारबाट लागू हुनेगरी राति ८ बजेबाट अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरेका छन् । यसले आम मानिसमा कोरोनाको तेस्रो लहर आएको हुन सक्ने अनुमान लगाउँदै त्रास पैदा भएको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीसँग गरिएको समसामयिक भलाकुशारीः
 
मंगलवार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुले गर्नुभएको निर्णय के हो ?

 हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ । भदौ ८ गतेसम्म केही क्षेत्रहरुलाई हामीले सीमित गरेका छौँ । सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भीडभाड गर्नु नहुने, केही क्षेत्रहरु खोल्न नपाइने छन् । 

पछिल्लो चरणमा कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ । निको हुने दर घटेको छ । मृत्युदर पनि बढ्न थालेको अवस्था छ । अस्पतालमा बिरामीहरुको चाप अहिले बढेको छ। संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरु पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो । अधिकांश साबिक बमोजिमकै निर्णय छन् ।
 
अनि बेलुका ८ बजे पछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?

रात्रीकालीन व्यवसायको कारणले होटल, रेष्टुरेण्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरु आए । मानिसहरु बाहिरै बसेर खाइरहेका छन् । रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटलका मानिसहरुले पनि स्वास्थ्य प्रोटोकलहरु पालना गरेको देखिँदैन भन्ने गुनासो आए । त्यसपछि हामीले भीडभाडजन्य गतिविधिहरु रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ ।

अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउँछन् । गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरुको ढुवानी गर्न राती दिइएको छ ।  बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरु पनि चल्न पाउँछन् । सबै निजी र सार्वजनिक सवारीसाधनहरु ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनाइको अर्थ रात्रीकालीन व्यवसायमा, माहोलमा भीडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो । 

काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको छ । अहिले जारी गरेको आदेश जुनसुकै वखत पनि पुनरावलोकन हुन सक्छ । हामी दिन प्रतिदिन चिकित्सकहरुसँग स्वास्थ्य मन्त्रालय अधिकारीहरुसँग समन्वयमा छौँ । हाम्रो मुख्य उद्देश्य अवस्था भयावह नहोस् भन्ने नै हो ।
 
अनुगमन गर्दा पनि सेवाग्राहीहरुले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन, यसमा के भन्नुहुन्छ ?
 
अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरुलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु । अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु । प्रहरीको गाडि जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेष्टुरेण्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन । हामीले अनुगमन गर्ने भन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ । यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

सेवाप्रदायक संस्थाहरुले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्यो । नागरिकहरुले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्यो । मास्क कसरी लगाउने, भरसक सम्भव भएसम्म भीडभाडजन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ ।  

काठमाडौं उपत्यकामा राजनीतिक दलहरुबाट भइरहेका अवरोध तथा नारा जुलुसहरुलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?
 
हामीले अहिले राजनीतिक दलहरुलाई पनि अनुरोध गरेका छौँ । यो बीचमा मैले एउटा स्टेटमेण्ट पनि निकालेँ । सभाजुलुस नगर्नु भनेर । त्यसपछि अलि कम भएको छ । अहिले जुलुस सभा गर्ने अनुमति कसैलाई दिएका छैनौँ ।

कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आ–आफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । 
 
कोरोना महामारी बढ्दै गयो भने त्यसको विरुद्ध लड्न कस्तो तयारी छ ?
 
अब अहिले त प्रमुख अक्सिजन नै हो । अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकोले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ । 

प्रमुख समस्या भनेको अहिले खोपको हो । खोपको मात्रा कम आइरहेको छ । त्यो भएको हुनाले भीडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो । त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ ।

अहिले हामीले लापरवाही गर्दै गयौँ, हेलचेक्राँइ गर्दै गयौँ भने बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिहरुको निधन भयो, त्यो अवस्था आउन नदिन हामी आफू पनि सचेत हुनुपर्यो । 

पराजुलीसँग गरिएकाे कुराकानीकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला 

 

Skip This
Skip This
Logo