अब केही दिनमै माधव नेपाल समूहको छुट्टै पार्टी गठन हुन्छ : राजेन्द्र पाण्डे

अब केही दिनमै माधव नेपाल समूहको छुट्टै पार्टी गठन हुन्छ : राजेन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला माधव नेपाल समूहका नेता एवं बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आगामी साता नेपाल समूहले नयाँ पार्टी घोषणा गर्ने दाबी गरेका छन्।

त्यसो त उनले यस्तो अभिव्यक्ति शनिबार नुवाकोटमा आयोजित माधव समूहका नेताहरूसँगको भेटघाट र काठमाडौंमा भएको अर्को छुट्टै कार्यक्रममा पनि राखिसकेका छन्। त्यहाँ पनि उनले नयाँ पार्टीको घोषणा हुने र सूर्य चिन्हको ठाउँमा अर्कै चिन्ह राखेर पार्टीलाई अगाडि बढाउने बताएका थिए।

नेता पाण्डे एमालेका प्रभावशाली नेतामध्येमा पर्छन्। उनै पाण्डेसँग उनले माधव पक्षको पछिल्लो तयारी, नयाँ पार्टी गठन र एमाले विवादले प्रदेश सरकारमा पर्ने असरबारे केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

एमालेभित्रको विवाद त झन् पेचिलो भएर गइरहेको छ, के पाक्दैछ पार्टीमा अहिले ?

अब पार्टीको त खै के कुरा गर्नु, त्यतिकै बेपत्ताजस्तो छ अहिले।  प्रदेशले पनि खोजेको छैन। हाम्रो प्रदेशको चाहिँ भदौ १ गते बैठक भनेर बोलाएको रहेछ। अरु त्यस्तो केही छैन। यो अन्यत्रको हेर्दा जसरी लुम्बिनी र गण्डकीमा पहिरो गयो अब यतातिर पनि विस्तारै पहिरो जान सक्छ। 
अब अहिलेको संस्थापन पक्ष भनौं न, उनीहरू अहिले कानमा तेल हालेर बसिरहेका छन्।
हामीले यहाँ नीति तथा कार्यक्रम र बजेट पास गर्दिहाल्यौं। अहिले उहाँहरूले हामीलाई खोज्नुपर्ने अवस्थै सिर्जना भएको छैन।

पार्टी एक हुने अवस्था कति देख्नुभएको छ?

हाम्रो नेता माधवकुमार नेपाल हुनुहुन्छ।  हामी माधव–झलनाथ खनाल पक्षका मान्छे हौं प्रष्टरुपमा देखिने गरी। अब हामी संस्थापनइतर पक्षका नेता भएका कारण केपी शर्मा ओली र उनको समूहबाट पेलान भइरहेको छ, पल्लो छेउमा पुर्याउने काम भइरहेको छ। 
त्यसो भएको हुनाले हाम्रो नेताले हिजै पनि भनिसक्नु भएको छ।  एकताको लागि हामी हदैसम्म लचिलो भएका छौं, कोसिस गरेको गर्यै छौं। अब अर्को पक्षले अहिलेसम्म एकताको हात बढाएको छैन।

अब एकताको हात बढाएन भने के हुन्छ त?

एउटा समाधान त निकाल्नुपर्यो, त्यस समस्याको सामाधान भनेको थपक्क पार्टी छोड्ने अर्को पार्टी गठन गर्ने, अहिलेको अवस्था यस्तै रह्यो भने अबको एक सातामा केही नयाँ कुरा पाउनुहुन्छ, डेढ महिनामा अर्को पार्टी गठन हुन्छ। 
तर, हामी हदैसम्म लचक भएर एकता गर्न खोजिरहेका छौं। माधव नेपालले पनि त त्यही भनिराख्नुभएको छ।  उहाँको लाइन नै हाम्रो लाइन हो नि।

तपाई चाहिँ के सम्भावना देख्नुहुन्छ, पार्टी एक हुने सम्भावना अझै बाँकी छ?

खै, ओली ब्याक हुन्छन्, गल्ती महसुस गर्छन् जस्तो मलाई चाहिँ लाग्दैन। अहिलेको जस्तो दम्भ देखाए भने त विकल्प नअपनाइ कहाँ भयो र?

कहिलेसम्ममा तपाईंहरू अलग हुनुहुन्छ, मिति भन्न सक्नुहुन्छ?
कस्तो कुरा गर्नुहुन्छ, भुइँचालो आउँदा खबर दिएर आउँछ? त्यस्तै हो पार्टी फुट्ने भनेको। मन नलागे भोलि नै हिँड्छौं हामी।

माधव पक्षभित्रै दुई धार देखिएको छ, दोस्रो तह र तेस्रो तहका नेताहरूबीच नै कुरा मिलेको छैन। यो अवस्थामा पार्टी फुटाउन कति सहज होला ?

होइन, अब अहिले हेर्दाखेरि पदका कारण नेता कोही दोस्रा र केही तेस्रा भए।
रह्यो कुरा दुई धारको, हामीबीच संवाद भएको पक्कै हो। के गर्ने भनेर मत फरक–फरक आएकै हो। तर, माधव नेपालले जे कदम चाल्नुहुन्छ, हामी सबै मान्छौं, सम्पूर्ण जिम्मा माधव नेपालको हातमा दिएका छौं, उहाँले गर्नुभएको निर्णय नमान्ने आजसम्म मैले समूहमा कोही देखेको छैन। बरु ओली पक्षका थपिनुहुन्छ हेर्दै जानुहोस्।

प्रदेश राजनीतिमा तपाईंहरूको रोल कस्तो हुन्छ अब? अहिलेसम्म त टिकाइ राख्नुभएको छ? अब के गर्नुहुन्छ ?

प्रदेश नम्बर ३ बागमतीमा पनि पहिरो जान्छ। त्यही लेखिदिनुहोस्, फेरि भन्छु पहिरो जान्छ, जाँदैछ। जुरेबाट सुरु भएको पहिरो मेलम्ची आइपुग्यो, अब हेटौंडामा जान्छ। पहिरो रोक्ने कोसिस नै भएको छैन, पहिरो नरोकेपछि निरन्तर समस्या आउनु त स्वभाविक हो नि।

के भयो भने तपाईंहरू पार्टी एकता गर्न तयार हुनुहुन्छ?

हामीले त्यो कुरा पटक–पटक भनिरहेका छौं, पहिलो त पुस ५ र जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकोप्रति आत्मालोचना गर्नुपर्यो, मैले गल्ती गरेँ भनेर माफी माग्नुपर्यो। यति भने पनि एकताको आधार तयार हुन्छ। त्यसपछि बाँकी त छदैछ, त्यति माफी नमागी पार्टी एक हुँदैन।
नभए भोलि माधव नेपाल र केपी ओली एउटै मञ्च चढ्ने र मञ्चबाट एक जनाले संसद् भंग संवैधानिक र अर्काले असंवैधानिक  भनेपछि के होला हाला, विचार गर्नुहोस् त।
त्यही भएर हामी  अडानमा अडिग छौं। यी नै हुन् एकता हुने सूत्र, नभए एकता हुँदैन। 

 

Skip This
Skip This
Logo