नयाँ पार्टी गठन भएमा ओली समूहका धेरै साथीहरूले नेपाल समूहलाई साथ दिन्छन्ः भवानी खापुङ

नयाँ पार्टी गठन भएमा ओली समूहका धेरै साथीहरूले नेपाल समूहलाई साथ दिन्छन्ः भवानी खापुङ

केन्द्रबिन्दु
0
Shares

माधव नेपाललाई नयाँ पार्टी फुटाउन सजिलो हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश तयार पारेपछि सबैतिर चर्को आलोचना भएको छ। माधव समूहले आफ्नो पक्षमा २४ जना सांसद पुगेको दाबी गर्दै आएको छ र, अध्यादेश जारी हुनेबित्तिकै नयाँ पार्टी गठन हुने जनाइएको छ। यसैबीच, देउवा सरकारलाई विश्वास मत दिने माधव समूहका २२ जना सांसदलाई एमाले निष्कासन गर्ने निर्णय गरिसकेको छ।  

एमालेभित्र आन्तरिक कलह चर्किदै गएका बेला सुरुदेखि माधव समूहमा रहेका तेह्रथुमका सांसद भवानी खापुङले एमालेले गरेको कारबाहीको कुनै तूक नभएको बताएका छन्। ओलीले एकताका लागि लचकचा नअपनाए आखिर पार्टी विभाजन हुने उनको जिकिर छ। अध्यादेश, नयाँ पार्टी गठन, एकता साम्भावनालगायत विषयमा सांसद खापुङसँग केन्द्रबबिन्दुकर्मी विकास आचार्यले गरेको कुराकानीः  
   
एमाले पार्टीले तपाईं लगायत १४ जनालाई सोमबार कारवाही गरिसकेको छ? यससम्बन्धी तपाईंको छोटो प्रतिक्रिया के?

यो कारबाही भनेको नेकपा एमालेभित्र धेरै अगाडिदेखिको विवाद चल्दै आएको कुरा सबैलाई थाहा भएको कुरा हो। अर्कोकुरा सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेलाई २०७५ जेठ २ मा पुर्याइदियो।

अब विधिवतरुपमा पार्टीले जेठको कमिटी परिचालन गर्नुपर्ने हो, त्यो नगरि केपी ओलीले आफ्ना गुटका मान्छे राखेर यो नै केन्द्रीय कमिटी हो भन्दै अनेक निर्णय गर्दै आएका छन् र अब यो कारवाही पनि पहिलो कुरा त पार्टीनै वैधानिक छैन, त्यसैले त्यो कारवाहीको कुनै अर्थ छैन।

दोस्रो कुरा भनेको प्रधानमन्त्रीले संविधान मिचेर संसद पटक–पटक भंग गरेको हुनाले त्यसलाई बचाउन, संविधानलाई जोगाउन र लोकतन्त्रको रक्षाका लागि हामी सर्वोच्च अदालतमासमेत निवेदन गरेका हौं, त्यही अनुसार अदालतले फैसला गरेको छ र त्यो फैसलाबमोजिम संविधानको धारा ७६(५) बमोजिम गरिने संसदका क्रियाकलापमा कुनै पनि पार्टीले कुनैपनि ह्वीप लाग्दैन भन्ने सर्वोच्चको आदेश छ। यो कारवाही भनेको सर्वोच्चको फैसलाविपरीत र गैरकानुनी छ।

तपाईंहरूलाई कारवाही त ७६(५) अन्तर्गत ह्वीप उल्लंघन गर्दाको भन्दा पनि ओलीले ७६(३) अन्तर्गत सबैभन्दा ठूलो दलको नेताको रुपमा प्रधानमन्त्री बनेको बेला विश्वासको मत नदिएका कारण पो भन्ने छ यस विषयमा के भन्नुहुन्छ?

अब कारवाही पत्रमा के लेखिएको छ मैले बुझेको छैन, कारवाही पत्र मेरो हातमा परेको छैन। तपाईंले जुन कुरा अहिले गर्नुभयो त्यो त ५ महिना अघिको कुरा हो। 

यो त धेरै अगाडिको कुरा हो, त्यही विषयलाई लिएर कारवाही गरिनुपर्थ्यो भने यस अगाडि नै कारवाही गरिसक्नु पर्थ्याे तर, यो चाहिँ ५ महिना अगाडि के के भयो भनेर सम्झिएर अहिले गरिएको कारवाही चाहिँ पूर्वाग्रह साँध्ने कुराको केही अर्थ छैन।

अब के गर्नुहुन्छ, यता तपाईंहरूलाई पार्टीले कारवाही गर्यो, उता सरकारले तपाईंहरूलाई अलग बनाउने उद्देश्यस्वरुप अध्यादेश ल्यायो, पार्टी फुटाउने नै हो त तपाईंहरू? 

होइन हामी छलफलमै छौं, सकेसम्म हामी अन्तिमसम्म यो पार्टीको एकताका लागि प्रयासरत छौं। सकेसम्म पार्टी एकता होस् भन्ने हाम्रो चाहाना छ। अब पार्टीलाई एक ढिक्का बनाएर राख्ने नराख्ने अध्यक्ष ओलीको गतिविधिमा निर्भर पर्छ।

अब विधिवतरुपमा पार्टीले जेठको कमिटी परिचालन गर्नुपर्ने हो, त्यो नगरि केपी ओलीले आफ्ना गुटका मान्छे राखेर यो नै केन्द्रीय कमिटी हो भन्दै अनेक निर्णय गर्दै आएका छन् र अब यो कारवाही पनि पहिलो कुरा त पार्टीनै वैधानिक छैन, त्यसैले त्यो कारवाहीको कुनै अर्थ छैन।

अब अन्तिमसम्ममा पनि पार्टी एकता हुने भएन भने केपी ओलीले आफ्ना गतिविधि नसच्याउने हो भने अब हामी अर्को पार्टी दर्ता गरेर अगाडि जान्छौं।

कहिलेसम्ममा नयाँ पार्टी गठन गर्नुहुन्छ ? अध्यादेश तपाईंहरूको सहमतिमा आएको हो?

अध्यादेशको बारेमा म केही भन्दिन अहिले। नेताहरूबीचमा छलफल भएर अध्यादेश आएको हो कि होइन मलाई थहाँ भएन्। नयाँ पार्टी कहिले गठन गर्नुहुन्छ डेटलाइन कहिले हो भन्ने प्रश्नमा चाहिँ, सकेसम्म हामी अन्तिमसम्म पार्टी एकता गर्ने प्रयत्न गर्छौं।

आजसम्म पनि माधव पक्षमा खुलेका एमालेका प्रभावशाली मानिएका नेताहरू नै अध्यादेशको विरोध गरिराख्नु भएको छ, पार्टी फुटाउन त्यति सजिलो छ माधव नेपाललाई?

हामी उहाँहरूसँग पनि कुरा गरिरहेका छौं। हाम्रो छलफल उहाँहरूसँग बसेर पटक–पटक भएको छ हिजोसम्म पनि। लामो समयदेखि उहाँहरू पनि पार्टी एकता होस् भनेर नै लागि परिराख्नु भएको छ।

यदि केपी ओली पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउन चाहानुहुन्न भने त्यो सबै टिम एक ठाउँमा हुन्छ।

त्यो टिममा ओली पक्षमा खुलेकाहरू पनि हुन्छन् कि तपाईंहरूको मात्र टिम बन्छ?

यो बारे अहिले नै म केही भन्न सक्दिन किनकि मसँग भेट भएर कुरा भएको छैन । ओली पक्षमा लागेका नेताहरूको लामो समयदेखि तर, नेताहरूको कुरा अनुसार चाहिँ निकै सांसदहरूसँग कुरा भइरहेको छ र सम्भावना छ भन्ने कुरा आइरहेको छ।

हिजो त्यही अध्यादेश ओलीले ल्याउँदा तपाईंहरूले विरोध गर्नु भयो, आज त तपाईं लगायतका नेताहरू त चुइँक्क बोल्नु भएको छैन । किन त्यहि काम देउवाले गर्दा अग्रगमन ओलीले गर्दा प्रतिगमन हो?

अब यो विषयमा त मैले अघि नै भनिसकें । म कही बोल्दिन यो विषयमा, यो अध्यादेशको बारे त्यति छलफल भएर आयो भन्ने मलाई थाहा छैन ।

पार्टी एकता गर्न तयार भन्ने तपाईंहरू अनि त्यसको विरोध चाहिँ नगर्ने तपाईंहरू द्वेध चरित्र भएन र ?

मैले भनिसकें त, मुलुकलाई स्थिरता दिनुपर्छ, सहि ढंगले नेतृत्व गरेर अघि बढाउनु पर्छ, सिद्धान्ततः यसमा कुनै विवाद छैन।

जहाँसम्म अहिले एमालेमा भइरहेको विवादकै कारण गठबन्धन सरकारले चाहिँ त्यसलाई अगाडि सार्यो, तथापि राष्ट्रपति कार्यालयबाट त्यसको प्रमाणिकरण भएको छैन।

अब त्यो चाहिँ गठबन्धनले जान्ने कुरा हो। गठबन्धनको सरकारले उक्त अध्यादेश अघि बढाएको हो, नेताहरूसँग कुरा भयो भएन मलाई थाहा भएन । तथापि पनि अलि अगाडिदेखि एमालेमा पनि र जसपामा पनि विवाद बढेको कारण उक्त अध्यादेश आयो होला।

जसपाका केही साथीहरूले त गठबन्धन सरकारलाई भेटेर पटक–पटक सुझाव दिएका भन्ने कुरा छ अध्यादेश जारी गर्न।

हेरौं अब के हुन्छ, राष्ट्रपतिबाट सदर भएको त छैन् तर उहाँले बाध्य भएर सदर त गर्नु नै पर्यो, त्यसपछिको खेल कस्तो हुन्छ हेरौं।

तपाईंहरूले पार्टीको नाम, चुनाव चिन्ह, झन्डा पनि तयारी अवस्थामा राखेर पार्टी दर्ता प्रक्रिया अगाडि बढाइसक्नु भयो भन्ने आरोप छ, के हुन्छ त पार्टीको नाम यति भनिदिनुस् न?

मैले अघि पनि भनें, अन्तिमसम्म हामी पार्टी एकता गर्ने प्रयत्न गर्छौं, पार्टीलाई जोगाउनु पर्छ भन्ने हाम्रो कोसिस छ अन्त्यसम्म पनि।

अब त्यस्तो भएन भने त हुने बाटो त त्यही हो नि। नयाँ पार्टी गठन हुन्छ।

Skip This
Skip This
Logo