सभामुखले माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ?: केपी ओली (भिडियोसहित)

सभामुखले माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ?: केपी ओली (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट छुट्टिएर माधव नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ । यसै सम्बन्धमो पार्टीको अबको भावी योजनाका बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरिएको कुराकानीः 

एमाले टुक्रिएको छ । तपाईंले पार्टी विभाजन रोक्न चाहनुभएन भन्ने आरोप छ । यसबारे के भन्नुहुन्छ ?

पहिलो कुरा ‘टुक्रियो’ भन्ने शब्द लगभग ठीकै शब्द हो, यो विभाजित भएको होइन । टुक्रिनु र विभाजित हुनु फरक कुरा हो । विभाजित होइन, टुक्रो, चोइटो, अलिकति उछिट्टिनु या त्यसबाट अलग हुनु अर्को कुरा हो । केही मानिसहरु पार्टीबाट अलग भएको हो । 

विभाजन रोक्न चाहनुभएन भन्ने कुरा गलत हो । मैले ५१ वर्षअगाडि जतिबेला कम्युनिष्ट पार्टी स साना टुक्रा टुक्रामा विभाजित थियो । खास पार्टी जस्तो पार्टी कुनै पनि थिएन । त्यसबेला एउटा नयाँ आन्दोलन शुरु गर्ने नयाँ एकीकरणको अभियान शुरु गर्ने त्यो काममा थिएँ । त्यसै आन्दोलनबाट अगाडि बढेर एउटा एकताको आह्वान ३१ सालमा गरिएको थियो । त्यसै आह्वान अन्तर्गत ३२ सालमा कोर्डिनेशन केन्द्र बन्यो । केही जिल्लाका अगुवा साथीहरु मिलेर त्यसपछि विभिन्न समूहहरु त्यसमा समाहित हुँदै गए । अनेक समूहहरु समाहित भएर माले बन्यो । नेकपा माले, २०३५ सालमा । 

त्यसपछि अनेक समूह हुँदै गएर पार्टी बिस्तार र एकीकरण र एकताका प्रयासहरु खासगरी अन्तिम रुपमा सफल मेरो नेतृत्वमा भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रलाई पनि मेरै नेतृत्वमा मिलाएर एउटै कम्युनिष्ट पार्टी जस्तो बनाइएको थियो । दुई तिहाइको स्थिति निर्माण गरिएको थियो । 

यसरी एकीकरणको अभियान सञ्चालन गरेर आएको मान्छेले पार्टी निर्माण गर्न, बचाउन कोशिश गरिन भन्ने कुरा गलत हो । यसबीचमा पनि अकारण पार्टी फुटाइएको छ । के कारण थियो र पार्टी फुटाउनु ? पार्टीभित्र बिनासित्ति नचाहिँदो ढंगले अन्तरविग्रह शुरु गरेको छ । पार्टी प्रतिको विश्वास कम गराउनक अनेक कुप्रचार पार्टी भित्रबाट गरेको छ । त्यस्तो हुँदा पनि सहेर एकताका प्रयास गरेको हुँ ।

प्रदेश प्रदेशमा पार्टीभित्र अन्तर्घात गरिएको छ । आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत माग्दा बहिष्कार गरेर बाहिर गएर सरकार ढाल्ने कोशिस भएको छ । संसद जोगाउँ भन्दा जोगाउनलाई विश्वासको मत नदिने र विघटन तिर जाओस् त्यस्ता प्रयास गर्ने र सबै कुरा नेकपा एमालेलाई कमजोर पार्ने, देशमा अस्थिरता कायम गर्ने प्रयास गर्ने गुटहरु चलेका छन् । यति हुँदाह्ँदै पनि कार्यदल बनाएर, आफैँले फोन गरेर, भेटेर, कुराकानी गरेर, त्यति प्रयास गरेको छु । अनि त्यसमाथि मैले नै प्रयास गरिन भन्ने ? त्यसकारण म माथिको यो अनुचित आरोप हो ।

तपाईंले अलि बढी दम्भ देखाउनु भयो भन्ने आरोप माधव कुमार नेपालको छ । यसमा स्पष्ट पारिदिनुस् न ?

तपाईंले मसँग कतै दम्भ देख्नुभयो त ? माधव नेपालले त अर्गेल्याईं गर्नुछ । अर्गेल्याईं गर्नेेले निहुँ खोज्छ । यस्तो हो, उस्तो हो अनेक कुरा भन्छ, मैले दम्भ देखाएको कतै देख्नुभएको छ ? मैले त निष्ठाको कुरा गरेको छु, मैले आफ्नो स्वार्थका लागि कुनै देशलाई घात गर्ने काम, पार्टीलाई घात गर्ने काम देख्नुभएको छ ? कहिल्यै मैले विपक्षीसँग मिलेर पार्टीकाविरुद्ध घात गरेको देख्नुभएको छ ? माधव नेपालले त विपक्षीसँग मिलेर पार्टीविरुद्ध घात गरेको त तपार्इं हामी सबैले चश्मा लगाउन पर्दैन नि । खालि आँखाले देखेका छौँ । अब मैले थप जवाफ दिइराख्नु पर्ला र ?

तर सबैतिरबाट अपजसको भागी त तपाईं अध्यक्ष नै बन्नुभएको छ नि ?

राजनीतिमा पक्ष विपक्ष हुन्छ, कस्तोसम्म पक्ष विपक्ष हुँदो रहेछ भने महात्मा गान्धीलाई त गोली हाने । हाने नि त, प्रतिपक्ष विपक्ष भनेको त्यस्तो हुँदो रहेछ । सुकरातलाई त विष ख्वाएर मारेका थिए । विपक्षी हुन्छन् र विपक्षीले हदैसम्मको उपद्रो गर्न सक्छ । झुटा आरोप लाञ्छना लगाउन सक्छन् । यदि भीमसेनले नै पनि गदा युद्धमा सजिलैसँग दुर्योधनलाई जित्थे भने कृष्णले इसारा गरेर यहाँ हान्, त्यहाँ हान् भनिरहनु पर्ने थिएन होला । अनफेयर त्यसले खेल्छ, जो कमजोर छ । जो यसै जित्छ, उसले अनफेयर खेल्न पर्दैन । जो निष्ठाका साथ राजनीति गर्छ, उसले अनफेयर खेल्दैन । हार्छ, जित्छ, तर अनफेयर खेल्दैन । फेयर कुरा, स्वस्थ कुराले, निष्ठापूर्वक खेलिएका कुराले अन्ततोगत्वा जित्छ ।

माधव नेपाललाई कसले हान्न सिकायो त ? 

मैले कृष्णको कुरा गरेको द्वापर युगको महाभारतको प्रसंगमा मात्रै हो । मलाई अहंकारी भन्छन् नि भन्नुभयो, मैले माधव नेपाललाई भेटौँ न भन्दा भेट्दिन भन्ने । अहिलेसम्म माधव नेपालले कम्तिमा २ वर्ष भयो होला फोन गर्नुभएको छैन । मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, म प्रधानमन्त्रीकहाँ आएर भेट्दिन, यहाँ भेट्दिन भन्दा म आफैँ भनेको ठाउँमा गएको छु । 

मलाई के लाग्छ भने माधव नेपाल एक्लो होइन, एउटा दक्षिण ध्रुवको छ, अर्को उत्तर ध्रुवको छ, एउटा चुम्बकका दुई वटा पोल एक ठाउँ आउँदै आउँदैन । तर यहाँ चुम्बकका दुई वटा पोल जस्ता शक्तिहरु अनेक दुई वटा पुलहरु एकै ठाउँमा ल्याइएको छ । कसरी ? त्यो भन्दा बढी बलवान शक्ति भयो भने त्यसलाई त्यहाँ राख्छ । बलका अगाडि बन्धनको केही लाग्दैन । जस्तै बन्धन भए पनि त्यसलाई टुटाउन सक्ने गरी तागत लाग्यो भने माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी त्यहाँबाट छुटाउने गरी, चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लाग्दैन । केही लागेन होला । त्यो हुन सक्छ ।

हाल पार्टीको अन्तरकलहले नै प्रतिपक्षी बन्नुपरेको हो ?

अन्तरकलह पनि होइन यो । कलह दुई पक्षको हुन्छ । यहाँ एक पक्ष माधव नेपाल पक्षको निहुँ खोजाइ मात्रै हो । हामी पार्टी बनाउने पक्षमा छौँ, किनभने देश बनाउनु छ । देश बनाउनका लागि राम्रा नीतिहरु, राम्रो व्यवहार, राम्रो अभ्यासका साथ अगाडि बढ्नु छ । हामीले कहीँ कतै अन्तरघात, कतै बेइमानी गरेको छैन । तपाईहरुले के भन्न सक्नुहुन्छ भने कडा बोली भयो । अब कसैले पार्टीका विरुद्ध प्रहार गर्यो भने प्रहार गर्नुभयो भन्नु त पर्यो । पार्टीका विरुद्ध प्रहार गर्नु राम्रो कि नराम्रो भन्दा नराम्रो त भन्नुपर्यो ।

पार्टीलाई ध्वस्त पार्ने, देशका हितलाई नोक्सान पार्ने, देशलाई अस्थिरतामा धकेल्ने देशको अमूल्य समय, विकास निर्माणमा लाग्नुपर्ने समय अहिले हेर्नुस् त बजेट रोक्का छ । हामीले जेठ १५ मा किन बजेट जारी गर्छौं । किनभने जेठ र असारभित्र बजेटका तयारीसम्बन्धी काम सबै सकियोस् र साउन १ गतेबाटै विकास निर्माणको काम शुरु होस् भन्नका लागि हो । यस्तो स्थितिबाट देशलाई मुक्त गर्नका लागि हामीले गर्यौं ।

अहिले त बजेट रोकिदिएको छ । बजेट रोकेर कर्मचारीलाई तनखा ख्वाउनेबाहेक केही पनि नगरेर रोकिदिएको छ । अहिले सरकार भत्काउन लागेको छ, बिगार्न, फाँडफुँड गर्न लागेको छ, दमन गर्न लागेको छ । अहिले त शान्तिपूर्ण बिरोध प्रदर्शन पनि असह्य भइसक्यो । शान्तिपूर्ण बिरोध प्रदर्शन सुन्नै सक्दैन । 

सुकुम्बासी, भूमिहीनहरुको समस्या समाधान गर्ने आयोग भत्काउन लागेको छ । यस्तो अवस्थामा देशको समय बर्बाद गर्ने, यो काममा लागेपछि यस्तो भएपछि, यो राम्रो भएन, यो देशका, जनताकाविरुद्ध अपराध पूर्ण काम भयो । ल्याइदिएको भ्याक्सिन पनि राम्ररी लगाएको छैन । यो राम्रो भएन । अहिले विकास निर्माणका काम गर्ने, सुशासनका काम गर्नुपर्ने ठाउँमा कुशासनतर्फ, दमनतर्फ, बिरोधी दबाउने मास्नेतर्फ त्यतातिर सरकार गइरहेको छ । 

विकास निर्माणको कुरै छैन । देशमा द्वन्द्व बढाउने तर्फ, परस्परमा विद्रोह र घृणा बढाउने तर्फ, देशलाई भीडन्तमा लाने तर्फ लागिराखेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ र प्रचण्ड पथमा हिँडिरहेको छ । विचित्रको स्थिति छ । यो स्थिति राम्रो भएन, यो जनबिरोधी क्रियाकलाप भयो, नगर्नुस् । यो देशका बिरुद्ध भयो । यसलाई तपाईले के भन्नुहुन्छ ? मिडियामा मलाई आरोप छ, यो चर्को बोल्छ । यो चर्को बोलेको होइन, यथार्थ हो ।

राष्ट्रिय राजनीतिमा सन्तुलन बिग्रिएसँगै अब प्रदेशतिर सरेको छ।  आगामी स्थानीय निर्वाचनमा पनि देखिनेछ । यसले नेकपा एमालेको संस्थापन पक्षको शक्ति क्षयीकरण हुने देख्नुहुन्न ?

राजनीतिमा कुनै पनि कुरा एकदम पूर्व निर्धारित जस्तो हुँदैन । कसले कस्तो काम कसरी गर्छ भन्ने कुरा हो । नेपाली कांग्रेस २०१५ सालमा दुई तिहाई ल्याएको पार्टी हो । ०४८ मा बहुमत र ०५६ मा पनि बहुमत ल्याएको पार्टी हो । अहिलेको प्रणाली बहुतै अफ्ठ्यारो प्रणाली रहेछ । समानुपातिकले गर्दा स्थिरता गाह्रो छ । साह्रै ठूलो वेभ सिर्जना भयो भने कहिलेकाहीँ कुनै पार्टीको बहुमत आउला । तरिका मिलाइयो भने, जस्तो नेकपा एमालेको हिजो तीन वर्षसम्म बहुमतको सरकार रह्यो । बहुमतको सरकार त रह्यो, एकपटक बन्यो नि देशमा । तरिकासँग बन्यो । त्यो तरिकाले मात्रै बन्या हो । नत्र साधारणतया भन्ने हो भने बहुमत आउँदैन । 

अहिले पनि नेकपा एमालेका बिरोधीहरु एमालेको कमजोरी के हो त्यो देखाउन सक्दैनन्, झुटा कमजोरीको चर्चा गर्छन् । अर्को आफ्ना कुरा उनीहरुसँग भन्ने कुरै केही छैन । यो, त्यो गर्छु भन्ने कुरै केही छैन । उनीहरुसँग भिजन छैन । उनीहरु यो हाम्रो गन्तव्य भन्न सक्दैनन् । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो, हाम्रो गन्तव्य हो भन्ने मैले भने । त्यति भन्न उनीहरु सक्दैनन्, किनभने उनीहरुको चित्त यत्ति साँघुरो छ, यसबारेमा बोल्ने हिम्मत छैन । राष्ट्रिय आकांक्षाका बारेमा के नेपाल समृद्ध बनाउने हाम्रो आकांक्षा होइन र ? के सम्पूर्ण नेपाली जनतालाई सुखी बनाउने हाम्रो आकांक्षा होइन र ?उनीहरु समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा किन भन्न सक्दैनन् ?  

यसपल्ट नेकपा एमालेको सरकार ढालियो । एमालेलाई अल्पमतमा पारियो । त्यसपछि जसपाले समर्थन गरेको थियो, त्यसले बहुमत हुन्थ्यो । त्यसभित्र संकट खडा गरियो । नेकपाबाट माओवादी केन्द्र र एमाले छुट्याइसकेपछि एमालेभित्रै भयानक संकट खडा गराइयो । त्यो संकट खडा गराएर एमालेलाई सरकारबाट हटाउने तारतम्य मिलाइयो । त्यसमा विल्कुल विचारहीन, राजनीतिहीन, उद्देश्यहीन, केही पनि नभएको स्वार्थहरुको गठजोड गरेर एउटा तथाकथित गठबन्धन । के उद्देश्यको गठबन्धन हो त ? त्यो न्यूनतम साझा कार्यक्रम भन्ने हेर्नुभयो होला । केही छ त्यसमा ? कहाँ पुग्ने, कुन बाटो हिँड्ने कसो गर्ने ? छलछाम छ । त्यसमा जालझेल छ । 

अब झट्ट हेर्दा एमाले सरकारबाट त हट्यो भने यो कमजोर हुँदै जाने हो कि भन्ने । कमजोर हुँदै जाने पनि एउटा सिलसिला हुन्छ । मैले अक्सर भन्ने गर्छु नि, हात्ती दुब्लायो भने त्यसको तौल घट्ने र दुब्लाउने पनि हद हुन्छ । कति घट्छ त त्यसको तौल त्यसको पनि सीमा हुन्छ । जत्ति घटे पनि हात्तीको तौल हात्तीको तौल हो । बाख्राको तौल बाख्राकै तौल हुन्छ । अरु पार्टीले आफ्नो हैसियत विचार शुन्यताको कारणले, अकर्मण्यताको कारणले, अरु थुप्रै कारण छन् । ती अनेक कारणले आफ्नो हैसियत के बनाएका छन् त्यो हेर्नुपर्छ । 

प्रदेशमा पहिले नै त्यसको असर परिसकेको छ । बाँकी दुइटामा असर पर्यो भने पनि केही छैन । अहिले नेकपा एमालेको स्थिति दुईवटा प्रदेशमा एक्लै मेजेरेटीमा छ । माधव नेपालको प्रयास हुनेछ, कहीँ पनि एमालेको मेजेरेटी नहोस् र खत्तम पारौँ । आजदेखि होइन नि, यो आजदेखिको कुरा हो र ? प्रत्यक्ष निर्वाचनमा २४० सीटमध्ये ३३ सीटमा एमालेलाई झारेर अब एमालेलाई सिध्याइयो भनेर राजीनामा गरेको होइन माधव नेपालले । उहाँको एमाले कमजोर पार्ने कर्तव्य पदमा रहेर वा नरहेर उहाँले त पूरा गर्नुभएको छ । उहाँले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्नुभयो । उहाँलाई कसैले माइनिटीमा पारेको थिएन । नेपाली कांग्रेसले पनि सपोर्ट गरिरहेको थियो । हामी सबै पार्टी भित्रबाट सपोर्ट गरिरहेका थियौँ । उहाँले अचानक बालुवाटारमा हामी कसैलाई थाहा नदिइकन कांग्रेसलाई राजीनामा दिनुभयो । त्यतिबेला पनि उहाँले आफ्नो कर्तव्य टुप्पामा बसेर पूरा गर्नुभएको हो। सरकारको टुप्पामा बसेर एमालेको सरकार सञ्चालन गर्ने कुनै क्षमता रहेनछ भन्ने कुरा प्रमाणित गराएर उहाँलाई पुगेसम्म अब एमाले उठ्दैन है यति भएपछि भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो । 

अहिले सरकारमा नहुँदा अन्तरविग्रह, अन्तरघात र विपक्षीसँग भित्रभित्र मिलेर विपक्षीलाई एकजुट पार्ने भूमिका खेलेर सिध्याउने कुरा गर्नुभयो । यो त एउटा च्याप्टर त क्लोज भयो नि अब । अब यसै कारणले नेकपा एमाले कमजोर हुन्छ । त्यो कुरा होइन ।

अहिलेको फुटको असर स्थानीय निर्वाचनमा पर्छ कि पर्दैन ?

नेकपा एमालेको तागत घटेको होइन, त्यसभित्र अन्तरघात भएको हो । अन्तरघात भन्ने कुरा सधैँ हुँदैन । केही मान्छेले अन्तरघात गर्दा एक समय बिरोधीसँग मिलेर अन्तरघात गर्दा अलिकति धक्का पर्छ । त्यसले उनीहरुले एकाध ठाउँमा भत्काउने एकाध ठाउँमा इटा खुस्काउने गर्न सक्छन्, त्यो अपूरणीय क्षति होइन । त्यो टाल्दा भइहाल्ने कुरा हो । त्यो व्रह्माण्डै ध्वस्त हुने कुरा होइन । 

नेकपा एमाले अहिले पनि प्रमुख पार्टी हो नि देशको । त्यही भएर नेकपा एमालेसँग अर्को तुलना हुँदैन । हुने स्थिती छैन । माओवादी र कांग्रेस २ वटा स्थानीय तहका निर्वाचनमा मिलेर चुनाव लड्दा नेकपा एमाले प्रमुख हैसियतमा आएको होइन र पहिला पनि । अहिले  त नेकपा एमालेले त यसबीचमा धेरै काम गरेको छ नि । 

उहाँहरुसँग त्यो कार्यक्षमता छैन, किनभने यति समय त उहाँहरुको कुरा गर्दा गर्दै बितिसक्यो, बधाईहरु यताउति, बिरोधीहरुको आलोचना र बिरोध गर्दागर्दै, बिरोधीहरुलाई धम्क्याउँदै बितिसक्यो डेढ महिना त गइगयो नि । अब अरु समय पनि त्यसैगरी जान्छ । 

आउँदो निर्वाचन त आउनै बाँकी छ । त्यसले के निर्माण गर्दछ । भोट ल्याउने गरी काम, नेपाली जनताको मन जित्ने गरी र नेपाली जनताबाट विश्वास आर्जन गर्ने गरी तिमीले शासन गर योग्य रहेछौँ भनेर जनादेश पाउने गरी काम , कसैले त्यस्तो विचार अघि सारेको छ ? कसैले त्यस्तो काम अगाडि सारेको छ, त्यस्तो काम गरेको छ ? देख्नुभएको छ कहीँ । त्यो छैन भने मैदानमा त एकल एमाले छ त । अरु त खुट्टा तान्ने हुन् । एमालेको बिरोध आलोचना गर्ने हुन् । पहाडमा सुरुङ्ग खनेर पानी निकाल्दिन्छु भन्ने क्षमता अरुसँग छैन एमालेसँग मात्रै छ । यो नदी थुनिदिन्छु, ड्राइभर्सन गरेर तराई सिँचाइ गरिदिन्छु भन्ने अरुसँग छैन नि त ।

देउवालाई धन्यवाद दिनुपर्छ कि तपाईले ? अध्यादेश ल्याएर खिल निकालिदिनुभयो नि हैन ?

त्यो होला, नहोला, यसो होला, उसो होला, जसो भएपनि उहाँले संवैधानिक काम गर्नुभएन । नेकपा एमालेलाई विभाजित गर्न कति संख्या राख्यो भने २५, २०, ३०, ३५ प्रतिशत सुन्नुभयो होला, त्यो सबै हिसाव हो । कुनै कारण प्रतिपक्ष माथि निशाना गरेर गलत बद्नियतका साथ कुनै कानून त्यसरी ल्याइन्छ ? ल्याइन्थ्यो भने संसद चलिरहेको थियो संसदमा ल्याउनुपथ्र्यो । 

अराजनीतिक, प्रतिष्पर्धाको क्षमता नभएको राजनीतिका नाममा कुटिलताबाट विपक्षलाई समाप्त पार्ने, कमजोर पार्ने नियतवश प्रष्ट बदनियत देखिन्छ । यहाँ माधव नेपाललाई अति जरुरी पर्यो भनेर कानून ल्याइने होइन । देशका लागि जनताका र राष्ट्रका हितहरु त्यसमा जोडिएको हुनुपर्छ । यो अध्यादेशसँग राष्ट्रका हित कहाँ जोडिएको छ ? लोकतन्त्रलाई नौटंकी प्रणाली बनाउने अलोकतान्त्रिक प्रणाली बनाउने यो क्रियाकलाप जनहितसँग कहीँ जोडिएको छ ? 

प्रश्न के हो भने मेरो घरमा झगडा हुन सक्छ । त्यसो भनेर मैले देशको कानून नै फेर्दे भन्ने ? मेरो घरमा झगडा पर्यो, त्यसकारण संसद अन्त्य गर्देउ र अर्को चिज गर्देउ भन्ने ? अनि त्यो कुरा सरकारले मान्य गर्ने ? सरकार बिस्तार गर्न पाएन के भन्या त्यो ? मान्छेको पद जान्छ भनेर मन्त्री हुन पाएन ? मन्त्री हुने बित्तिकै पार्टीले निकाल्छ । मन्त्री पनि खाने, सांसद पनि रहने, पार्टीबाट पनि निष्काशित नहुने यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जताको, पदलोलुप्ताको, आशक्तिको, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ ? अदालतको फैसला बिपरित् अदालतको अपहेलना गर्दै राष्ट्रिय आवश्यक्ता जनताको आवश्यक्ता होइन, तत्काल नगरी नहुने कुनै काम थिएन, नेकपा एमालेका बिरुद्ध प्रहार गर्न बदनीयत पूर्ण ढंगले आकास्मिक रुपमा अधिवेशनमा षड्यन्त्रपूर्ण ढंगले अन्त्य गरेर तत्काल अध्यादेश ल्याउने काम भयो ।

अध्यादेशले कसलाई फाइदा भयो, कसलाई बेफाइदा, कसलाई नाफा, कसलाई नोक्शान भयो भन्ने कुरा भन्दा यो एमालेका विरुद्धको अलोकतान्त्रिक, अमर्यादित, षड्यन्त्रपूर्ण, बास्तवमा यो अनैतिक काम हो । अर्को पार्टी फुटाउनका लागि यस्ता खालका क्रियाकलाप गर्ने अनैतिक काम हो यो । जुन काम नेपाली कांग्रेसको नेतृत्वमा भयो, जुन कुरा अलि अगाडिसम्म उहाँहरु अध्यादेशबाट देश चलाउन पाइँदैन भन्नुहुन्थ्यो । अहिले त १२ बजे अन्त्य गरेर १० नबज्दै उहाँहरु त अध्यादेश ल्याउँदै हुनुहुन्छ त । 

अध्यादेशले शासन चलाउन पाइन्छ ? संसद छल्न पाइन्छ ? त्यतिबेला संसद छलेको होइन, संसद अन्त्य भएको हो । मैले स्थिरताको पक्षलाई ध्यानमा राखेको थिएँ । तर पार्टीहरुले केन्द्रीय सदस्य थप्दै जाने कसैका ७ हजार केन्द्रीय सदस्य तपाई हामीले सुन्यौँ होला । कसैले १५ सय केन्द्रीय सदस्य पुर्याएको सुन्यौँ होला, केन्द्रीय सदस्यको ४० प्रतिशत भनेर त्यो प्रावधान पनि र उता सांसदको पनि राख्ने हो भने त बँधुवा मजदुर जस्तो हुने भयो । संवैधानिक स्थिरता त्यो होइन । 

मेरो पालामा मध्यरातमा अन्त्य गरेर भोलिपल्ट बिहानै अध्यादेश जारी गरिएको थिएन । तर पनि उहाँहरु छतमा टाउको ठोक्किने गरी उफ्रिनुभयो । अहिले मलाई ताजुव लाग्छ फेरि केही मिडिया, केही नागरिक समाजका अगुवा, केही बुद्धिजीवि जो त्यतिबेला एकदमै उफ्रिए, अहिले ध्यानमग्न । इमान अर्काका लागि होइन, इमान त आफ्ना लागि कायम गर्नुपर्ने हो नि । मेरो आग्रह के हो भने हरेकले आफ्नो इमान कायम राखौँ न ।

पार्टीभित्रै असन्तुष्ट अनि माधव नेपाललाई नि छाडेका नेताहरुलाई कसरी मिलाउनुहुन्छ ?

माधव नेपालले जति अल्मल्याउनुभयो, भ्रममा पार्नुभयो, ती मान्छे उहाँसँग लागे होला । हिजो त्यहाँ लगेर उहाँले पेश गरेका नामहरु, देखाएका हस्ताक्षरहरु ती सही होइनन् भन्ने वक्तव्य विभिन्न व्यक्तिले दिएको सुनिहाल्नुभयो । ती साथीहरु मसँग सम्पर्कमा नि हुनुहुन्न । उहाँले पेश गरेका मान्छे पनि उहाँसँग रहेनछन् । केही मान्छे जानुभयो, केही नगएका मान्छेको नाम राखियो । तर उहाँहरुबाट त होइन भन्ने वक्तव्य आयो । अरु आउने सिलसिला जारी छ । जो उहाँसँग गएनन् पार्टीमै छन्, त्यो त स्वतः स्पष्ट भयो । कहाँ अन्तरिक्षमा गए त ? जो अर्कोतिर लागेनन्, पार्टी छोडेनन्, ती पार्टीमै छन् । पार्टीका नेता, कार्यकर्ता जो जहाँ थिए त्यहीँ छन् । 

मेरो के भूमिका हुन्छ, जे भूमिका थियो त्यहीँ छु । कोही कोही भूमिका फेरिन्छ पनि । जस्तो वाग्मती प्रदेशबाट डोरमणिजीले राजीनामा गर्नुभयो । अष्टजीले चिफ मिनिस्टरको पदभार सम्हाल्नुभयो । भूमिकामा केही परिवर्तन त्यसरी हुँदो रहेछ । पार्टीको काममा होलान् साथीहरु । हिजो पार्टी एकता हुनुपर्छ भन्ने अभियानमा लागेका थिए । कसैको मनमा त कोही पस्न सक्दैन । मनमा पस्न नसक्या बेला को कता को कता देखियो होला । त्यसलाई हिसाव गरिरहनु हुँदैन । 

यस बीचमा सभामुखको निकै आलोचना गर्नु भयो नि ?

सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत उहाँहरुलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो । सरिता गिरीलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो, उहाँको चाहनामा । अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ । नेकपा एमालेले हटाएका मान्छेहरु नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न ? ट्रेडिशन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला पहिला । यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु भन्ने । 

सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन, न्यायाधीश होइन सभामुख । निष्काशन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पार्टीमा सूचना टाँस गर्नेसम्मको काम हो । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो । उहाँ केलाई पर्खिरहनुभएको होला । उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ । र, कायमै रहेको पदमा एमाले बिरोधी मान्छे संसदमा उपस्थित गराउने भन्ने । 

अग्नि सापकोटा जीलाई म सोध्न चाहन्छु, संसद चलाउनु छ कि छैन उहाँलाई ? गैरकानूनी ढंगले मनपर्दी ढंगले संसद् चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन । सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन भने छोडिदिए हुन्छ । उहाँले कार्यकर्तामा फर्किने वा सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्छु भनेर सोच्नुपर्छ । यो अटेरी, जिद्दी तालले गैरकानूनी, असंसदीय तालका क्रियाकलाप उहाँले रिपिडेट्ली देखाउनुभएको छ । माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन ।

पार्टीका कार्यकर्तालाई केही अपिल छ कि ?

मैले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कुनै भ्रम अन्योलमा नपर्न, अलमलमा नपर्न, कसैको पद वा अन्य कुनै कुराको प्रलोभनमा नपर्न अनुरोध गर्छु । पार्टीप्रति निष्ठावान भएर काम गर्ने हाम्रो परम्परा छ । आम नेता कार्यकर्ताहरु निष्ठावान हुनुहुन्छ । तर भ्रममा पारेर निष्ठावान पार्ने कोशिस हुन सक्छ । त्यसकारण कुनै भ्रममा नपरेर पार्टीप्रति निष्ठा, दृढताका साथ, पार्टीबिरोधी विचारलाई अस्वीकार गर्न र पार्टीको एकता, पार्टी बिस्तारका काममा जुट्न भन्छु । नेपालमा राजनीतक हिसावले विजयी हुने अर्को कुनै शक्ति छैन । हामीले विजयी हासिल गर्दै जानुपर्छ । त्यो विजयी यात्राका लागि त्यस अभियानमा सबैलाई जुट्न म हार्दिक आग्रह गर्दछु ।  

Skip This
Skip This
Logo