नेपाल कम्युनिस्ट पार्टी (एमाले) आधिकारिक रूपमा विभाजित भएपछि को कता समाहित हुने भन्नेमा नेताहरूबीच रस्साकस्सी छ।
पहिले माधव नेपालसँग रहेका एमालेका दोस्रो तहका अधिकांश नेताले एमाले रोजेका छन् भने केही भने नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन्। केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि प्रतिनिधिलाई दल छान्न सकस छ यतिबेला।
त्यस्तै, केन्द्रका कतिपय नेताहरूले माधव नेपालसँग जाने चाहना राखे पनि निर्वाचन आयोग बाधक बनेकाले उनीहरू एमालेमै बस्न बाध्य भएका छन्। एमाले केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डेलगायत ६ जना नेताहरूले आखिरी घडीमा नेपाल समूहमा जाने इच्छा देखाए पनि आखिर निर्वाचन आयोगले अनुमति दिएन। त्यही भएर उनीहरू अहिले प्राविधिक रूपमा एमालेमै रहेका छन्।
एमाले केन्द्रीय कमिटी सदस्य पाण्डेसँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको संवादको सम्पादित अंशः
दल छान्न तपाईंलाई पो सकस भयो, एमाले बस्न तपाईंको मनले नमानेजस्तो देखिन्छ र, एकीकृत समाजवादी रोजौं भन्दा सांसद पद जान्छ, के गर्नुहुन्छ अब?
हामी ६ जना, तीन सांसद र तीन केन्द्रीय सदस्य ९ भदौमा निर्वाचन आयोग गएका थियौं। हामीले त्यस दिन सनाखत गर्न पाएनौं। त्यस दिन हामीले दिएको निवेदन आयोगमै छ।
अब कानुनी रूपमा के हुन्छ हेरौं। तर, अहिले कानुनी रूपमा हेर्दा हामी एमालेमै भएजस्तो देखिन्छ।
हाम्रो निवेदनमाथि कुनै निर्णय भएको छैन। हामीलाई कुनै खबर छैन। आयोगले एउटा निर्णय गरिदिए हामीलाई सहज हुने थियो।
पुरानो रेकर्डका हिसाबले अहिले हामी नेकपा एमालेमै छौं। हामीले अहिले केही निर्णय ग¥यौं भने कानुनी जटिलता आउँछ, आयोगले निवेदनलाई छिटो टुंगो लगाउँछ भन्ने लाग्छ।
तपाईंको चाहना चाहिँ के हो त? एमाले कि एकीकृत समाजवादी ?
त्यस विषयमा हामीले अहिलेसम्म कुनै निर्णय लिएका छैनौं। हामी आफ्नो निर्णय गर्छौं। तर, आयोगको निर्णयलाई पर्खिरहेका छौं।
म आफू पार्टी विभाजन नहोस् भनेर अन्तिमसम्म लागेको व्यक्ति हुँ। म र रघुजी पन्तले त भदौ ७ गते राति अध्यक्ष केपी शर्मा ओलीसँग लगभग दुई घन्टासम्म कुराकानी गरेका थियौं। राति एक बजेसम्म कुराकानी चलेको थियो।
हामी ६ जना, तीन सांसद र तीन केन्द्रीय सदस्य ९ भदौमा निर्वाचन आयोग गएका थियौं। हामीले त्यस दिन सनाखत गर्न पाएनौं। त्यस दिन हामीले दिएको निवेदन आयोगमै छ।
अन्तिममा जब एकताको कुनै सम्भावना देखिएन, त्यसपछि हामी उठेर हिँड्यौं।
हामी अन्तिमसम्म पनि पार्टी एकता हुनुपर्छ भनेर लाग्यौं। अहिले पनि मेरो प्रयत्न त्यही रहन्छ।
मेरो प्रयत्नलाई अवसरवादी भनेर पनि भनियो, केही हाम्रा साथीहरूलाई पनि चित्त बुझेको थिएन्, कतिले ठिक गर्नुभयो भन्नुभएको छ। तर, केही छैन। म मेरो कामप्रति खुसी छु। तर, पार्टी एकता नै एउटै विकल्प हो, कम्युनिस्ट आन्दोलन जोगाउनका लागि।
अब चाहिँ कसरी अघि बढ्नुहुन्छ त ?
मैले अघि पनि भनेँ एकपटक निर्वाचन आयोगसँग छलफल गर्छु, त्यसपछि बल्ल निर्णय लिन्छु।
तर, मेरो ध्यान चाहिँ पार्टी एकता गर्न नै अघि बढ्छ। विभाजन त भइ नै सक्यो, पार्टी दर्ता भइसक्यो, पार्टी दर्ता भए पनि हामीलाई चाहिँ के लाग्छ भने मेरो आस चाहिँ नेताहरूबीच एकपटक संवाद/छलफल गर्ने गल्ती कमी–कमजोरी सुधार्ने र पार्टी एकता गर्नेतर्फ लाग्छ भन्ने छ।
हिजो नेकपा एमाले र नेकपा माओवादी केन्द्र त एक हुन सक्यो भने एउटै मोर्चा अनि एउटै आन्दोलनबाट आएका र एउटै लक्ष्य बोकेका नेताहरू नजिक भएर एकता गर्न सक्दैनन् भन्ने हुँदैन। तर, अहिले चाहिँ मेरो आफ्नो कुरा छैन। एक–दुई दिनमै निर्णय लिन्छु।
अन्तिम घडीमा दोस्रो तहका नेताहरूको निर्णयप्रति तपाईको टिप्पणी के छ? उहाँहरूले ठिकै गर्नुभयो ?
अन्तिम घडीमा मात्र एक्लै माधव नेपाल यो अवस्थामा आएका होइनन्, हेर्नुहोस्। यही टिमले एमाले फुटाएर माधव नेपाल नेतृत्वको नयाँ पार्टी गठन गर्नका लागि विधान तयार गर्ने, दुईजना नेताहरूले त पार्टी दर्ता गर्नका निम्ति मान्छे तयार गरेर दुईवटा पार्टी दर्ता गरिसकिएको छ। यस बीचमा त्यो सबै काम दोस्रो तहका नेताहरूले गरेका हुन्।
हाम्रा स्थायी कमिटीका साथीहरू, जो अहिले केपी ओलीसँग लाग्नुभयो उहाँहरूको भूमिका रहेको छ।
उहाँहरूको त्यो कार्यदेखि म अगाडिदेखि नै असहमत थिएँ, उहाँहरूको घरमा गएर मैले पार्टी विभाजन गर्न उत्साही गर्ने किसिमको काम नगर्न भनेको थिएँ।
वैशाख–जेठको कुरा गर्नुहुन्छ भने बैठकमै कुरा नमिलेर उठाउठको स्थित पनि आएको हो। र, माधव नेपाल एक्लै होइन, यो टिम (स्थायी कमिटी सदस्य) ले केपी ओलीलाई सरकारबाट हटाउन सुरुमा पनि सर्वसम्मत निर्णय गरेको छ, माधव नेपालले एक व्यक्ति एक पद भन्दा, होइन, दुवै पदबाट हटाउनुपर्छ भनेर स्यायी कमिटीले सल्लाह दियो।
त्यसैअनुसार माधव नेपाल अगाडि बढ्नुभयो, अहिले मलाई दुःख लागेको कुरा चाहिँ के हो भने कि त स्थायी कमिटीका १० जनाले माधव नेपाललाई पार्टी विभाजन गर्नबाट रोक्नुपथ्र्यो, कि माधव नेपाललाई साथ दिनुपर्थ्याे। यी सबै हुनुमा माधव नेपाल एक्ला दोषी होइनन्।
स्थायी कमिटीका सदस्यमध्ये पनि अलि बढी दोषी चाहिँ को हो नि?
मेरो चित्त दुखाइ मुख्यतः भीम रावलप्रति नै हो। सनाखत गर्नेदेखि हस्ताक्षर गर्नेसम्म सबै काममा उहाँ अग्रसर बन्नुभयो। यसमा सबैभन्दा एग्रेसिभ भीम रावल हो।
अब फेरि पार्टी एकता हुने सम्भावना छ?
होइन, पार्टी एक नभइ त हुँदै हुँदैन। त्यो कहिले हुन्छ, थाहा छैन। तर, कम्युनिस्टहरू एक हुनैपर्छ।
प्रतिक्रिया