दसैँ भन्ने बित्तिकै नयाँ नोट र नयाँ लुगाकाे सम्झना आउँछः राई इज किङ (राजेश पायल राई/भिडियाे)

दसैँ भन्ने बित्तिकै नयाँ नोट र नयाँ लुगाकाे सम्झना आउँछः राई इज किङ (राजेश पायल राई/भिडियाे)

केन्द्रबिन्दु
0
Shares

दसैँ भन्ने बित्तिकै गायक राजेश पायल राईलाई नयाँ नोट र नयाँ लुगा सम्झनामा आउँछ। बाल्यकालमा यिनै कुराहरूले लोभ्याएकाले पनि नयाँ नोट र नयाँ लुगा सम्झनामा आउने उनी बताउँछन्। 

व्यवसायिक सांगितिक यात्रा सुरु गरेपछिको धेरै जसो दसैँ उनको विदेशतर्फ नै बित्ने गरेका छन्। एकताका उनलाई चाडबाड नै नआओस् जस्तोसमेत लाग्थ्यो। उनी भन्छन्, ‘चाडबाडमा परिवारलाई समय दिन नसक्दा चाडबाड नै नआओस् जस्तो पनि लाग्थ्यो। तर कोभिडपछिको दसैँ तिहार भने परिवारसँगै मनाउँदै आएको छु।’

यो वर्षको दसैँ तिहार भने उनी परिवारसँगै मनाउने योजना रहेको बताउँछन्। करिब दुई दशकपछि बाल्यकालको जस्तै रमाइलो हुने उनको विश्वास रहेको छ। किरात समुदायमा हुर्किएका राईले दसैँमा सेतो टीका लगाउने गरेका छन्।

यस्तै राई इज किङको उपनामले प्रख्यात गायक राईले फरक प्रसंगमा आफ्नो लभ गर्ने उमेर आउन बाँकी रहेको बताएका छन्। उनले विभिन्न कलाकार तथा पत्रकारहरूसँग आफ्नो नाम जोडिएर आए पनि आफू अहिलेसम्म सिंगल नै रहेको प्रस्ट गरेका छन्। 

केन्द्रबिन्दुसँगको कुराकानीका क्रममा उनले भने ‘यो क्षेत्रमा लागेपछि विभिन्न किसिमले नाम जोडिएर आउने रहेछ। तर म सिंगल नै छु। मेरो लभ गर्ने उमेर हुँदैछ। बुबाआमाले रोज्नुभएको व्यक्ती म सहर्स स्वीकार गर्छु।’

विवाह गर्ने बित्तिकै जीवन सुन्दर हुन्छ भन्ने नभएकाले पनि आफूलाई विवाह गर्न हतार नभएको उनको बुझाइ छ। राईका लागि विवाह गर्न कुनै जात, भूगोल वा धर्म बाधक बन्न सक्दैन। उनी जुनसुकै धर्म, जाती वा भूगोलकी युवतीसँग विवाह गर्न तयार रहेका छन्। समय आएपछि आफू पनि विवाह गर्ने उनी बताउँछन्। 

 हेरौँ  गायक राईसँग केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले गरेको कुराकानी यो भिडियोमा:

 

Logo