‘सुरजसिंह ठकुरीबाट टेलिभिजन कर्मको अफर आयो, मैले हुन्छ भनें’: माल्भिका सुब्बा (भिडियाेसहित)

‘सुरजसिंह ठकुरीबाट टेलिभिजन कर्मको अफर आयो, मैले हुन्छ भनें’: माल्भिका सुब्बा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

२० वर्ष अघि सन् २००१ मा टेलिभिजन यात्रा सुरु गरेकी माल्भिका सुब्बा एक कुशल टेलिभिजनकर्मीका साथै पूर्वमिस नेपालसमेत हुन्। उनले सन् २००२ मा मिस नेपालको उपाधि जितेकी थिइन्। तर उनी आफूलाई मिस नेपाल भन्दा पनि सञ्चारकर्मीकै रूपमा चिनाउन चाहान्छिन्। 

उनले दिव्य दृष्टि नामक कार्यक्रमबाट आफ्नो टेलिभिजन यात्रा सुरु गरेकी थिइन्। तत्कालीन समयमा दिव्य दृष्टि शनिवार र आइतबार बिहान नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो। स्नातक तहमा अध्ययन गर्दै गरेकी सुब्बालाई एक दिन अचानक सुरज सिंह ठकुरीबाट टेलिभिजन कर्मको अफर आयाे। त्यसपछि उनले तत्कालै हुन्छ, आफू तयार छु भनेर आफ्नो यात्रा आरम्भ गरेकी थिइन्।

त्यसो त त्यसअघि नै उनी रेडियोकर्मका लागि छानिएकी थिइन्। तर घरबाट काम गर्ने अनुमति नपाएका कारण उनको यात्रा टेलिभिजनबाटै सुरु भयो । उनी भन्छिन्, ‘घरबाट दिनुभएको भए संचारकर्ममा रेडियोबाट सुरुवात गर्ने थियो। पढाइ बिग्रन्छ पढाइ सकेर मात्र कम गर्नु भन्दै हुनुहुन्थ्यो। टेलिभिजनमा त जबरजस्ती कम गरेकी हुँ।’

उनलाई पुराना दिनहरू सम्झँदा लाज लाग्छ। पुराना यादहरूलाई सम्झिएर मुस्कुराउँदै उनी भन्छिन् ‘त्यो समयमा राम्रोसँग बोल्न पनि आउँदैनथ्यो। क्यामेरा फेसिङ, टेक्निकल पाटो केहि थाह थिएन। पछि आफैंले आफैंलाई टेलिभिजनमा हेर्दा त धेरै लाज लाग्यो। सम्झँदा अझै पनि लाज लाग्छ।’

सुब्बाले सञ्चारकर्म सम्बन्धी कुनै तालिम वा औपचारिक शिक्षा लिएकी थिइनन्। उनी एकै पटक टेलिभिजन पर्दामा देखिएकी हुन्। त्यसकारणले पनि आफ्नो सुरुवाती चरणका प्रस्तुतिहरू परिपक्व हुन नसकेको उनको बुझाइ छ।

काठमाडौंमा जन्मिएकी सुब्बाका आमा बुबा दुवै सरकारी जागिरे हुन्। उनका बुवा नेपाल प्रहरीका कर्मचारी थिए भने आमा स्वास्थ्यकर्मी हुन्। बुवा आमा नै सरकारी जागिरे भए पनि तत्कालीन समयमा सरकारी जागिरबाट पुग्दो पैसा नहुँदा आफ्नो बाल्यकाल सामान्य तरिकाले नै बितेका सुब्बालाई सम्झना आउँछ। उनी भन्छिन् ‘हामीले महँगा महँगा खेलौनाहरू कहिल्यै पनि पाएनौं। त्यो बेलामा त काठमाडौं सहर पनि जंगल जस्तै नै थियो। स्यालहरू कराउँथे। त्यस्तै ठाउँमा खेल्थ्यौं। जंगल, कान्लाहरूमा गँगटाहरु समात्न जान्थ्यौं। डन्डी बियो पनि खेल्थ्यौँ। बाल्यकाल त्यसरी नै बित्यो।’

सानैदेखि परिवारमा पढ्ने वातावरण भएकाले माल्भिकाको पनि पढाइमा रुचि थियो। उनी सानै उमेरबाट पत्रपत्रिका मात्र हैन उपन्यासको पनि राम्रो पाठक भइसकेकी थिइन्। उनले आफ्नो विद्यार्थी जीवनमै धेरै कथा कविता र लेखहरू लेखिसेकेकी छिन्। त्यस बखत उनलाई आफू लेखक बन्छु होला जस्तो लाग्थ्यो। तर समयसँगै उनको लगाव टेलिभिजन तर्फ बढ्यो। यतिबेला उनी हिमालय टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम मेरी उनीबाट आफ्नो सञ्चार कर्ममा सक्रिय छिन्।

सञ्चारकर्मी तथा पूर्व मिस नेपाल मालविका सुब्बाले केन्द्रबिन्दुसँग कुराकानी गर्दै आफ्नो सञ्चारकर्म तर्फको यात्रा र अनुभव रोचक ढंगले सुनाएकी छन्। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले उनीसँग गरेको कुराकानी हेरौँ यो भिडियोमाः

 

 

 

Logo