रुमुको खण्डकाव्य : मनपोखरीमा अस्ट्रेलिया

रुमुको खण्डकाव्य : मनपोखरीमा अस्ट्रेलिया

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी –

रुमु न्यौपाने नेपाली साहित्य क्षेत्रमा उदीयमान नक्षत्र हुन् भन्दा फरक पर्दैन । नेपाली भाषासाहित्यका कविता, निबन्ध लगायतमा उनको कलम सशक्त भएर उभिने गरेको छ । लामो समय प्रवासमा रहेर पनि नेपाली साहित्यलाई उनले ठूलो गुन लगाएकी छिन् । यसअघि उनीबाट साहित्य क्षेत्रले २ वटा कृति पाइसकेको छ । बिहानीको किरण कविता संग्रह र आफ्नै छायासँग कविता संग्रह प्रकाशित गरिसकेकी न्यौपानेले आफ्नो तेस्रो साहित्यिक सन्तानका रूपमा मनपोखरीमा अस्ट्रेलिया (खण्डकाव्य) लाई जन्म दिएकी छिन् । यसमा उनले आफ्नै जीवन भोगाइका विषयलाई लयात्मक र कथात्मक पारामा उतारेकी छिन् ।

लेखक वि.सं.०६५ सालमा अस्ट्रेलियाको सिड्नीमा पुगेपछि त्यहाँ आफूले पाएको दुःख, कष्ट तथा नेपालका सम्झनाले सताइएको विषयले पुस्तकमा स्थान पाएको छ । आफू जहाँ पुगे पनि आफ्नो परिवार, बाल्यकालमा बिताएका पलहरू, नेपालका डाँडाकाँडा, प्रकृति र विशेष गरी आफूलाई जन्म दिने आमाको सम्झनामै लेखकले खण्डकाव्य दौडाएकी छिन् । लेखकहरूले विषयवस्तुहरू कहींबाट टिपेर ल्याउँदैनन् । आफ्नै भोगाइले पनि उनीहरूलाई ऊर्जा दिन्छन् । भोग्नेले जस्तो पीडा भोगे पनि पढ्नेका लागि ती रोचक र शिक्षाप्रद लाग्छन् । यहाँ पनि त्यस्तै पाइन्छ । खण्डकाव्य पढ्दै जाँदा जो कसैका पनि आँखा रसाउँछन् तर लेखकले आफ्ना भोगाइलाई केवल दुःख र कष्टका रूपमा नलिएर पुस्तकको आकार दिएकी छिन् । त्यसैले त उनलाई साँच्चैको यथार्थवादी लेखक बनाएको छ ।

आमाको माया, बाबाको साथ याद आउँछ बेसरी
भाइका साथ खेलेका ठाउँ बिर्सनू कसरी ।
समय वेगमा दौडिन्छ आमा, दिन त्यसै ढल्दै छ
चटारो कामको, पढाइको चाप शरीर गल्दै छ ।

यी हरफहरूले बताएका छन् कि विदेशमा अरूको डरमा बसेर काम गर्न सजिलो कहाँ छ र ? आफ्नो देश, परिवार लगायत सबैको सम्झनामा बसेर पनि ती सबैलाई मनभित्रै लुकाएर काममा हिँड्नुपर्दा शरीरले थकानको अनुभव दिलाउँदा कति कठिन हुन्छ त्यो समय । लेखकले यस्तो पीडालाई समेत रोचक पाराले उतारेर पुस्तकलाई पठनीय बनाएकी छिन् । आमाको न्यास्रो लाग्दा स्काइपमा आमालाई भेटेको विषयले प्रविधिको प्रयोगलाई पनि दर्शाएको छ । अस्ट्रेलियाका गगनचुम्बी भवन, समुद्र र त्यहाँको रेल देखेर उनले नेपालकै नदीनाला तथा झुपडीलाई सम्झिएकी छिन् । विदेशमा गएपछि त पैसाकै थुप्रोमा हात हाल्न पाइन्छ भन्ने भ्रमलाई चिर्दै उनले भनेकी छिन् ,

स्वदेशमा बस्ने आफन्त सबै डलर छ भन्दछन्
डलरको मेरो यो कमाइलाई रुपियाँमा गन्दछन् ।

आखिरमा विदेशमा जति कमाए पनि बचाउन नसकिने रहेछ भन्ने निष्कर्ष उनको लेखाइमा पाइन्छ । खण्डकाव्यको शुरुदेखि अन्त्यसम्म नै आमालाई सम्बोधन गरिएको छ । दोस्रो खण्डमा भने आफ्नो जीवनको अर्को पाटोलाई प्रवेश गराएर अझै रोचक बनाउन लेखक सफल भएकी छिन् । छोरीको उमेर पुगेपछि आमाबाबुलाई बिहेको चिन्ताले सताउँछ । लेखकले आफ्नो हकमा पनि त्यो बाध्यात्मक नियम लागेको र बिहे गरेको प्रसंगका साथै जन्मघर छोडेर पराइघर जाँदा पनि आमाबुबा तथा जन्मघरकै यादलाई सँगाल्न पुगेको रोचक प्रसंग पनि यसमा पाइन्छ । तर सोचेजस्तो नहुने जिन्दगीको कथा अर्कै मोडमा पुगेपछि अहिले चलचित्रको कथाजस्तो बनेको विषय पनि छ यस खण्डकाव्यमा ।

समग्रमा पुस्तक पठनीय छ । रोचक छ तर साह्रै सानो छ । आधा घण्टाजतिको समय दिने हो भने जोसुकै पाठकले पनि पढिसक्ने आकारको यो पुस्तक जम्मा ३२ पेजको छ । आकारका हिसाबले सानै भए पनि विषयवस्तुको खँदिलो प्रवेशले ‘मनपोखरीमा अस्ट्रेलिया’ साँच्चै नै उत्कृष्ट र संग्रहणीय खण्डकाव्य बनेको छ । नइ प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य १ सय रुपैयाँ रहेको छ ।

Logo