श्रीहरि फुयाँललाई ७ प्रश्न

श्रीहरि फुयाँललाई ७ प्रश्न

केन्द्रबिन्दु
0
Shares

श्रीहरि फुयाँल महाकाव्यकार हुन् । विशेष गरी नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचना गर्ने फुयाँल छन्दकाव्य प्रचार अधियानमा समेत संलग्न छन् । उनको चिनारी यतिमै मात्र सीमित छैन, बहुआयामी छन् उनी । उनी विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध छन् । उनले विभिन्न मानसम्मान एवं पुरस्कार प्राप्त गरेका छन् । उनै फुयाँलसँग यसपटक केन्द्रविन्दुले पुस्तकका विषयमा केन्द्रित रही सात प्रश्न गरेको छ ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

‘राष्ट्रकवि : एक सय एक कविको आँखामा’ कविता संग्रह पढेँ ।

२. उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

नेपाली शिक्षा परिषद्ले प्रकाशित गरेको उक्त पुस्तक हरेक कविका लागि पठनीय छ भन्ने लाग्यो, त्यसमा एक सय एकजना कविहरूले राष्ट्रकविप्रतिको स्वभावना व्यक्त गरेकाले उक्त पुस्तक छनोट गरेको हुँ ।

३. उक्त पुस्तकको सार के थियो ?

प्रायः कवितामा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वभाव, चरित्रजस्ता कुरा उल्लेख गरिएका छन् भने सबैजसोमा उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरिएको छ । साथै राष्ट्रकविले लेख्दै गरेको महाकाव्य ‘ऋतम्भरा’ हेर्न पाइयोस् भन्ने आशय व्यक्त छ ।

४. पुस्तकको कुन कुराले तपाईंलाई आकर्षित गर्‍यो ?

राष्ट्रकवि अहिलेसम्म बाँच्नु गर्वको विषय हो । नेपाली साहित्यमा उनको योगदान, उपलब्धि, सम्मान आदिका विषयमा व्यक्त हरेक विचारले मलाई भित्रसम्म छोयो ।

५. पुस्तकमा सुधार गर्नुपर्ने पक्ष के के छन् ?

सबै कविता छन्दमा छन्, ३–४ वटा लोकलयमा छन् । गद्य पनि भएको भएको वेश हुन्थ्यो । अनि एकजना कविले राष्ट्रकविलाई अझ १०० वर्षसम्म बाँच भनेका छन् । त्यसो भन्नुचाहिँ श्राप हो कि शुभकामना हो भनेर एकछिन घोरिएँ । राष्ट्रकवि त रचनामार्फत युगौंसम्म बाँच्दछन् तर भौतिक शरीरमै बाँच्नुचाहिँ त कठिन भयो नि ! तर कामना गर्न त पाइन्छ नै ।

६. पुस्तकलाई नम्बर दिनुपरे २० पूर्णांकमा कति दिनुहुन्छ ?

यसलाई रेटिङ गर्नुपरे २० मा १८ दिन्छु ।

७. पुस्तक छनोट गर्नका लागि कस्तो सुझाउ दिन चाहनुहुन्छ ?

नैतिक दृष्टान्त अघि सारिएका कविता तथा समाजलाई सही बाटोमा लाने खालका नैतिक चरित्रमा सुधार ल्याउने कृतिहरू छनोट गर्नुपर्छ । यस्ता खालका कृतिहरू पढ्दा जीवनको बाटो बिराउने सम्भावना रहँदैन ।

Logo