मेचे समुदायको संस्कृतिमा आधारित उपन्यास ‘माखाल’को लोकार्पण

मेचे समुदायको संस्कृतिमा आधारित उपन्यास ‘माखाल’को लोकार्पण

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सीमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास ‘माखाल’को लोकार्पण गरिएको छ ।

उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको ‘माखाल’ अर्थात् आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ ।

तेजप्रकाश श्रेष्ठले लेखेको उपन्यासलाई परिचय पब्लिकेसनले प्रकाशन गरेको हो । पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीका स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति समेत हुनपुगेको टिप्पणी गरिन् । मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरूका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको उनको भनाइ छ ।

त्यसैगरी समीक्षक ठाकुर शर्माले मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरू समेत राखेर सरल र सहज तरिकाबाट तयार पारिएको उपन्यास नवीनतम् सांस्कृतिक उपन्यास बन्न सफल भएको बताए । पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिनाभन्दा बढी समय बिताएर त्यस समुदायका अगुवाहरूसँग कुराकानी गरेका आधारमा सिर्जनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेको बताए ।

परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भाष्कर ज्ञवालीले सीमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मूलधारमा स्थापित गर्न यो उपन्यास प्रकाशन गरेको बताए ।

Logo