ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको विमोचन

ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको विमोचन

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको राजधानीमा लोकार्पण गरिएको छ ।

विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मीलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको छ ।

यी प्रसङ्गहरूमा विश्वामित्र ऋषि र वशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ । उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानताका साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताए । उनले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गरे ।

यसैगरी समीक्षक डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गरे । वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उनको भनाइ थियो ।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गरेका डा ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए ।

लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरूलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताए । लोकार्पण समारोहमा समीक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिएका थिए । परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य ५५० रुपैयाँ रहेको छ ।

Logo