एक्लो मत

एक्लो मत

केन्द्रबिन्दु
0
Shares

यौटा रोग अवश्य लुक्छ जिउमा ज्यादै गरे औषध ।

यौटा भोग अवश्य बढ्छ सुरुमा ‘हो’’हो’ गरे निश्चय ।।

यौटा स्वत्व अवश्य गुम्छ गुरुमा निर्धक्क जिम्मा भए ।

यौटा यत्न अवश्य टुट्छ विधिमा वास्ता कमै भैदिए ।।

 

यौटा मानिस वन्य बन्छ वनमा मात्रै लगी छोडिए ।

यौटा राग विराग बन्छ जनता रागै नबुझ्ने भए ।।

यौटा यौटा नीति अनीति बन्छ नबुझी त्यस्सै सकार्ने भए ।

यौटा ज्ञान अफाप बन्छ जगमा अन्जान भेला भए ।।

 

यौटा भावक क्रूर बन्छ अरुको आवेश खोज्ने हुँदा ।

यौटा नायक बिग्रनेछ नगमी नेतृत्व गर्ने हुँदा ।।

यौटा धर्म विर्धम बन्छ नबुझी आँखा यसै चिम्लिए ।

यौटा दानव बन्छ मानव-व्यथा बिर्सेर स्वार्थी भए ।।

 

यौटा सत्य छ भन्दछन्, गहिरिँदा त्यो झूठको साथ छ ।

यौटा भाग्य छ भन्दछन्, बुझिदिए त्यो शक्तिमै सीमित ।।

यौटा बुद्धि छ हो, तथापि मनको स्वामीत्व स्वीकार्दछ ।

एक्लो चीज रँदै रहेनछ यहाँ के काम एक्लो मत ।।

Logo