‘प्रेमालय’ प्रति पाठकको अपार माया

‘प्रेमालय’ प्रति पाठकको अपार माया

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ कात्तिक ।

युवा लेखक अश्विनी कोइरालाले लेखेको पछिल्लो उपन्यास ‘प्रेमालय’ ले नेपाली आख्यान बजारमा उत्साहवर्धक उपस्थिति देखाइरहेको छ । पाठकहरूबाट न्यानो माया र बजारबाट प्रेमिल मागले गर्दा उपन्यासले प्रकाशित भएको एक महिनामै नेपाली आख्यान बजारलाई तरंगित पारिदिएको छ ।

एक महिनापहिले असोजमा आजकै दिन ‘प्रेमालय’ को घुम्टो उघारिएको थियो, राजधानीमा । सार्वजनिक भए यताका तीस दिनमा यो उपन्यास पाँच हजार प्रति बिक्री भइसकेको छ । उपन्यासको प्रकाशन गर्ने संस्था बुकहिलका पवन आचार्य भन्छन्, ‘हामी ‘प्रेमालय’ ले पाइरहेको बजार रेस्पोन्स देखेर उत्साही भइरहेका छौँ । पहिलो महिनामै पाँच हजार प्रति बिक्री हुनु भनेको लेखक–प्रकाशक सबैका लागि खुसीको कुरा हो ।’

मुलुकको साहित्य बजारमा पछिल्लो छिमलमा उपन्यास, यात्रालेखन, आत्मकथा, संस्मरण र जीवनी समेटिएका पुस्तकहरूको माग बढ्दो छ । यी विधामा सिर्जिएका पुस्तकहरूले राम्रै बजार पाइरहेका छन्, औसत खालकाले पनि । यही कारण पनि हुनसक्छ, सम्भावना बोकेका कतिपय लेखन्तेहरू अन्य सबै कार्यव्यापार छाडेर साहित्य लेखनकर्ममै होमिएका छन् । मुलुकमा साहित्यको बजार विस्तारिँदो छ ।

                        अश्विनी कोइराला

यो अवस्था बुझेका लेखक अश्विनी पनि दंग छन् । भन्छन्, ‘मेरा यसअघिका दुई पुस्तक ‘उनी’ र ‘जुकरबर्ग क्याफे’ ले पनि पाठकहरूबाट राम्रो माया र सम्मान पाएका थिए । त्यस आधारमा ‘प्रेमालय’ ले पनि पाठकको माया पाउने कुरामा म ढुक्क थिएँ । सोचेजस्तै भयो पनि । म पाठकहरूको उच्च कदर गर्दछु ।’

अश्विनीलाई लाग्छ, ‘प्रेमालय’ मा युवाहरूलाई मनपर्ने कथानक र भाषा छ भने वयस्क एवम प्रौढहरूले मन पराउने प्रेमसम्बन्धी, अझ जीवनसम्बन्धी दर्शन छ । त्यसकारण यसले सबै उमेर समूहबाट माया पाइरहेको छ ।

‘एउटा लेखकका लागि योभन्दा खुसीको कुरा के हुन सक्छ र ?’ उत्साहित अश्विनी भन्छन् ।

अश्विनी मात्र होइन, प्रकाशक पवन पनि उत्तिकै आशावादी छन्– ‘प्रेमालय’ ले आगामी दिनमा पनि बिक्रीको राम्रो रेकर्ड कायम गर्नेछ ।

प्रेमालय अर्थात् प्रेम–पिरतीको घर । यसले निश्चय पनि रागात्मक साहित्यका अनुरागीहरूलाई आफूतिर निरन्तर तानिरहने अपेक्षा गर्न सकिन्छ ।

Skip This
Skip This
Logo