पुस्तक समीक्षा : “नेपालको भाषानीति र योजना आधार”

पुस्तक समीक्षा : “नेपालको भाषानीति र योजना आधार”

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली पुस्तकको भण्डारमा एउटा नवीन विषयमा लेखिएको पुस्तक प्राप्त भयो– “नेपालको भाषानीति र योजना आधार” । वास्तवमा सङ्घीय पद्धतिमा माध्यम भाषा र मातृभाषाको रक्षार्थ हाम्रो देश सचेत हुनु आवश्यक छ । नेपालले बहुभाषिक गरिमाका लागि अर्थात् भाषिक राष्ट्रवादलाई कायम राख्ने गरी भाषानीति र योजनालाई तय गर्नु अपरिहार्य हुन्छ । यिनै विषय सन्दर्भलाई समेटेर त्रिभुवन विश्व विद्यालयका प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र आदर्श बहुमुखी क्याम्पसका रमेश भट्टराई ‘सहृदयी’ ले लेख्नु भएको यस पुस्तकलाई इन्टेलेक्चुअल्ज बुक प्यालेस कीर्तिपुरले बजारमा ल्याएको छ ।

यस पुस्तकको बाहिरी पृष्ठमा लेखिएको नामबाटै थाहा हुन्छ यो एउटा नवीन विषय सन्दर्भमा लेखिएको पुस्तक हो । त्यसो त यो साहित्यिक पुस्तक नभएर भाषिक विषयमा लेखिएको एउटा सन्दर्भ सामग्री हो । हाम्रो देशले नीति, ऐन, कानुन तथा संविधानतः भाषाको संरक्षण, संवद्र्धन र विकास गर्न पहल नगर्ने हो भने कुसुन्डा भाषा जसरी भाषिक गरिमा लोप हुने खतरालाई यस पुस्तकमा सुझाइएको छ ।

नेपालको बहुभाषिक समाजलाई एउटै मालामा गाँस्ने आधारका बारेमा सोच्ने हो भने हाम्रो मुलुकले प्रभावकारी भाषानीति र योजनाका तहमा ठोस कदम चाल्नु आवश्यक छ । भाषाको महत्वलाई कति मानिसले बोध गर्लान् ? जहाँ पैसा कमाइ हुँदैन त्यसलाई मान्छेले वास्तै गर्दैन । तथापि, भाषाको मूल्य पैसा भन्दा मास्तिर पहिचानका सन्दर्भमा निहित हुन्छ । भाषा जोगाउनु भनेको मुलुकको गरिमा र स्वाभिमानको रक्षा गर्नु हो । भाषिक गरिमालाई हरेक नागरिकले हृदयबाट मन नगर्ने परिवेशलाई राज्यले तय गर्नुपर्छ । यसर्थ १२९ वटा भाषाको धनी हाम्रो मुलुकले बहुभाषिक गरिमालाई सोच्नुपर्छ । यद्यपि यो पुस्तकले १२९ भाषा मध्ये थुप्रै विदेशी भाषालाई मातृभाषाकै कित्तामा राख्नुलाई त्रुटि भएको भनेर ठहर गरेको छ ।

आठ वटा एकाइमा पृथक–पृथक सन्दर्भलाई गाँसिएको यो पुस्तक साहित्यिक धारको नभएर भाषिकधारमा आधारित पुस्तक हो । यद्यपि यसमा उठाइएको सन्दर्भलाई नेपालले भाषिक सम्पदा रक्षाका कोणबाट मूल्याङ्कन गर्नु पर्छ । पुस्तकको एकाइ पाँचमा भाषा आयोगको स्थापना, कार्य र आवश्यकताका विषयले स्थान पाउनु अझै नवीनकार्य हो । नेपालको सङ्घीय पद्धति अनुरूप मातृभाषाको रक्षार्थ भाषावेत्ता र सरोकारहरू एकै छानामुनि बस्नलाई अभिप्रेरित गरिएको यस पुस्तकले भाषा आयोग, तथ्याङ्क विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा अनुसन्धान केन्द्रहरू, प्रादेशिक निकाय तथा स्थानीय सरकार लगायत भाषाका सरोकारवालालाई झक्झक्याउन खोजेको देखिन्छ । भाषाका अध्येता, भाषिक विषयमा चिन्ता र चासो राख्ने वा सरोकार राख्ने तमाम वर्गका लागि यो पुस्तक लाभदायक रहेको देखिन्छ ।

पुनश्च :
पुस्तक : नेपालको भाषानीति र योजना आधार
लेखक : प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र रमेश भट्टराई ‘सहृदयी’
प्रकाशक : इन्टेलेक्चुअल्ज बुक प्यालेस, कीतिपुर
पृष्ठ : २८३
मूल्य : ४२५ रुपैयाँ

Logo