हेल्थ टिप्सः जनै खटिराबारे जान्नै पर्ने कुरा

हेल्थ टिप्सः जनै खटिराबारे जान्नै पर्ने कुरा

केन्द्रबिन्दु
42
Shares

जनै खटिरा नेपालीको जनजिब्रोमा उच्चाहरण भैरहने एउटा रोगको नाम हो। यो गाउँले बोलीको भाषा हो। वास्तवमा यसको वैज्ञानिक नाम ‘हर्पिस जोस्टर’ हो। धेरैजसो जनै लगाउने ठाउँमा आउने भएको हुनाले यो खटिरालाई जनै खटिरा भनिएको हो। हुन त जनैसँग यसको खासै सम्बन्ध छैन। साथै जनै लगाउने ठाउँबाहेक अन्य ठाउँमा पनि यो खटिरा निस्किन्छ। शरीरको जुनसुकै भागमा निस्किए पनि यो जनै खटिराकै नामबाट परिचित छ।

यो ‘भ्यारिसेला जोस्टर’ नामक भाइरसको संक्रमणका कारण छालामाथि ठेउला आएजस्तै गरी साना, राता, रस भरिएका र झुप्पा–झुप्पा भएर आउने अनि साह्रै दुख्ने खटिरा हो। धेरैजसो यो छातीको दाँया र बाँयापट्टि कोखातिरबाट शुरु भएर एउटै रेखामा सीधा बढ्दै जान्छ र जनैको रुप लिन्छ। छालामाथि धेरै संख्यामा उत्पन्न साना खटिराहरु बिस्तारै फुट्छन् र सुकेर जान्छन्। कहिलेकाहीँ यिनीहरुमा पीप भरिने र पाक्ने पाक्ने हुन्छ। यिनीहरु सुकेर गएपछि छालामा दाग बस्छ । बाहिरबाट हेर्दा ठीक भएको जस्तो देखिए पनि यो रोग ठीक भएको हुँदैन । यो खटिरा छालाभित्र नसाहरुको जरासँगसँगै भित्रभित्रै फैलिँदै जान्छ। यसले नसाका जराहरुलाई असर पार्ने हुनाले साह्रै पीडा गराउँछ । नसाहरुमा पर्ने असर धेरै लामो समयसम्म रहिरहन्छ। कहिलेकाहीँ ६ महिनादेखि १ वर्षसम्म पनि यसको दुखाइ रहिरहन्छ। जनै खटिरा हेर्दा सामान्यजस्तो देखिए पनि पीडाका कारण ज्यादै दुःख दिने रोगहरुमा पर्दछ। प्रत्येक मान्छेलाई आफ्नो जीवनकालमा एकपल्ट यो खटिराले प्रायः दुःख दिन्छ।

शरीर कमजोर भएको बेला, प्रतिरक्षात्मक शक्ति घटेको बेला, धेरै मानसिक तनाव भएको बेला, धेरै शारीरिक चोट लागेको बेला र शरीरको प्रतिरक्षात्मक शक्तिलाई कमजोर गराउने औषधिहरु सेवन गरेको बेला जनै खटिराको संक्रमण हुने सम्भावना बढी हुन्छ। उमेरका हिसाबले ५० वर्ष काटेका र वृद्धवृद्धाहरुलाई यसले अझ बढी सताउँछ। वृद्धवृद्धाहरु जनै खटिराको नामै सुनेर डराउँछन्। किनकि यसले गराउने पीडा उनीहरुका लागि असह्य हुन्छ। कहिलेकाहीँ यो खटिरा मुख, आँखा वा कानको वरिपरि आउन सक्छ। टाउकोभित्र पसेर मगजलाई असर पार्न सक्छ। यसरी मुख, आँखा, कानमा आएका जनै खटिरा खतरनाक प्रकृतिका हुन्छन्, जसले अन्धोपना, बहिरोपना र मुखको प्यारालाइसिस गराउन सक्छ। घाँटीभन्दा माथि आउने जनै खटिराबाट अत्यन्तै होसियार हुनुपर्छ।

यो खटिराको मुख्य विशेषता भनेको दुख्नु हो। खटिरा निस्किनुअगाडि पनि दुख्छ। किनकि यसको भाइरस पहिलेदेखि नै छालामुनि नसाका जराहरुमा निष्क्रियरुपमा बसिराखेका हुन्छन्। वास्तवमा यी ठेउला रोग गराउने ‘भ्यारिसेला भाइरस’ नै हुन्। तर विशेष अवस्थामा यी भाइरसहरु पुनः सक्रिय भएर आउँछन्। यिनीहरु सक्रिय हुनेबित्तिकै नसाका जराहरुलाई खान्छन्। यसकारण खटिरा देखिनुभन्दा केही दिनअगाडिदेखि नै दुख्न थाल् । पछि दुखेको ठाउँबाट खटिरा निस्किन्छ। खटिरा फुटेर सुकेपछि फेरि नसालाई असर पार्छ र पुनः झन् बढी दुख्न थाल्छ। यसकारण जनै खटिराको विशेषता खटिरा नभई पीडा हो। खटिरा आउँछ जान्छ तर पीडा लामो समयसम्म रहिरहन्छ।

जनै खटिराको खासै उपचार छैन। भाइरसका कारणले लाग्ने रोग भएका कारण एन्टिबायोटिकले काम गर्दैन । भाइरस फैलिनबाट रोक्ने औषधि दुख्न शुरु भएको ३ दिनभित्र शुरु गर्न सक्यो भने खटिरा धेरै फैलिनबाट रोक्न सकिन्छ। यो औषधि ढिला शुरु गर्‍यो भने कुनै फाइदा छैन। खटिरा चिलाउने हुनसक्छ। कन्याएर खटिरा फुटाउनु हुँदैन। 

यी खटिराहरु आफैं फुट्छन् र २ देखि ४ हप्तामा आफैं सुकेर जान्छन् । खटिरालाई जति चलायो त्यति बिग्रिन्छ । यसकारण खटिरालाई चलाउने, मलम पट्टी गर्नेभन्दा पनि व्यक्तिगत सरसफाइ र पोषणमा ध्यान दिनुपर्छ। खटिरामा हलुकासँग क्यालामिन लोसन लगाउन मिल्छ तर छोपेर बाफिने गरी राख्नु हुँदैन। खुला छोड्दा बेस हुन्छ। नदुख्ने र नचिलाउने औषधिले यी लक्षणहरु कम गर्न सहयोग गर्छ।नेपाल समाचारपत्रबाट

Logo