प्रसारण लाइन निर्माण नहुँदा तामाकोशीबाट उत्पादित ४५६ मेगावाट विद्युत वितरणमा समस्या

प्रसारण लाइन निर्माण नहुँदा तामाकोशीबाट उत्पादित ४५६ मेगावाट विद्युत वितरणमा समस्या

केन्द्रबिन्दु
0
Shares

प्रशारण लाइनको अभावले गर्दा माथिल्लो तामाकोसीबाट उत्पादित ४५६ मेगावाट विद्युत वितरणमा समस्या भएको छ।

रणनीतिक महत्वको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुन नसक्दा माथिल्लो तामाकोशीको (४५६ मेगावाट) विद्युत धनुषास्थिति ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावले पश्चिम नपालतर्फ वितरण गर्न नसकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

पूर्वी नेपालतर्फ विद्युत् बढी भएको र पश्चिम नेपालमा विद्युत् अभाव अपुग भएकाले प्रशारण लाइन विस्तार गरी तामाकोशीको विद्युत् पश्चिमतर्फ वितरण गर्न प्राधिकरण लागि परेको छ। हाल ढल्केबरबाट पश्चिमतर्फ १३२ केभी प्रसारण लाइन मात्रै रहेकाले क्षमता अभाव हुदाँ वितरण गर्न नसक्दा विद्युत खेर गईरहेको समेत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यसरी विद्युत खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था भएकाले यो प्रशारण लाइन जतिसक्दो छिट्टो निर्माणमा सबैले सहयोग गर्न घिसिङले अनुरोध गरे।

मुआब्जा तथा क्षतिपूर्तिका विषयमा छलफल गरेर विवाद टुंग्याउनतर्फ लाग्नु पर्ने भएकाले हामीले सबैमा अनुरोध गरेका हौं’, घिसिङले भने। नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्गत प्रसारण लाइनको निर्माण भइरहेको हो। यसबाट मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार सहज हुने अपेक्षा गरिएको छ। घिसिङले प्राधिकरणले आयोजना प्रभावित क्षेत्रमा सहुलितपूर्ण ऋण प्रवाह शुरु गरेको र विश्व बैंकले सहजकर्ता नियुक्त गरेकाले विवाद समाधान हुने विश्वास व्यक्त गरे।

नेपाल–भारतबीचको विद्युत व्यापारका लागि समेत प्रयोग गरिने हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना आठ वर्ष अघिबाट निर्माण सुरु भएको आयोजना हालसम्म सम्पन्न हुन सकेको छैन। प्रसारण लाइनको मार्ग परिवर्तन गर्नु पर्ने, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादन आयोजना निर्माण हुन नसक्नुको मुख्य कारण भएको प्राधिकरणले जनाएको छ।

प्रसारण लाइन निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादवको टोलीले केही दिन अघि अवरोध स्थलको अवलोकन गरि प्रभावितहरुसँग छलफल गर्दै राष्ट्रिय महत्वको प्रसारण लाइन निर्माणमा सहयोग गरिदिन आग्रह गरेका थिए। पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २८८ किलोमिटर प्रसारण लाइनका लागि ७९२ वटा टावर निर्माण गर्नु पर्नेमा ६५९ टावरको जग हालिएको र ६३३ मात्र खडा गरिएको प्राधिकरणले जनाएको छ। रुख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरुको निर्माण हुन नसक्दा आयोजनाहरुबाट उत्पादित विद्युत वितरण गर्न समस्या भएको प्राधिकरणले जनाएको छ।गाेरखापत्रबाट

Logo