सरकार गठनकाे अन्तिम गृहकार्यमा दलहरु, आज पूर्णता पाउने सम्भावना

सरकार गठनकाे अन्तिम गृहकार्यमा दलहरु, आज पूर्णता पाउने सम्भावना

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारलाई पूर्णता दिन एवं मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन सम्वद्ध दलका शीर्षनेताहरु मन्त्रीहरुको नाम छनोट गृहकार्यमा जुटेका छन्।

राजनीतिक दल सम्वन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारका लागि शीर्षनेताहरु आन्तरिक गृहकार्य तथा छलफलमा जुटेका हुन्। बुधबार साँझसम्ममा नयाँ मन्त्रीहरु नियुक्त भइसक्ने सम्भावना छ।

नेकपा (एकीकृत समाजवादी) ले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएको छ। मन्त्रीको लागि पार्टीबाट नाम सिफारिस भएकाहरुमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ रहेका छन्।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मिडियामा सार्वजनिक भएका ब्यक्तिहरुको नाम मन्त्रीका लागि सिफारिस भएको स्वीकारे। तनुहँका सांसद किसानकुमार श्रेष्ठ र अछामका सांसद शेरबहादुर कुँवर भने यसपटक मन्त्रीमा समेट्न नसकिएको उनले बताए।

त्यस्तैं, एकीकृत (माओवादी केन्द्र) नेपालले पनि थप तीनजना मन्त्रीको नाम सिफारिसका लागि आन्तरिक गृह कार्य भइरहेको जनाएको छ। माओवादी केन्द्रका नेता देबबहादुर गुरुङले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई दिएको बताए।

‘कस्को नेतृत्वमा को–को जाने हो भन्ने कुराको टुङ्गो त लागि सकेको छैन, उनले भने–छलफल भइरहेको छ। अब छिट्टै निर्णय हुन्छ। अध्यादेश पनि खारेज भयो, मन्त्रिपरिषद् गर्न बाटो खुल्यो। माओवादी केन्द्रबाट यसअघि नै सरकारमा दुईजना मन्त्री सहभागी छन्।

अब कसकाे नेतृत्वमा को कस्लाई पठाउने भन्ने विषयमा माओवादी केन्द्रले बुधबार टुङ्गो लगाउने अपेक्षा गरिएको छ। नेता गुरुङले भने–नाम नै नखुले पनि तीनजनाको सिफारिस हुन्छ। मन्त्रीका लागि देवेन्द्र पौडेल र बीना मगरको नाम पनि चर्चामा रहेको छ।

नेपाली कांग्रेसबाट थप तीनजना मन्त्रीको नाम सिफारिस गर्न प्रधानमन्त्री देउवाले यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। तर, कांग्रेसमा पनि मन्त्रीका आकांक्षीहरुको संख्या धेरै भएकाले नाम सिफारिस हुन सकेको छैन।

त्यस्तैं, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मन्त्रीहरुको नाम छनोटका लागि आन्तरिक गृहकार्य जारी रहेको जनाएको छ। जसपाका नेता राजेन्द्र श्रेष्ठले भने–सरकारमा सहभागी हुन बाटो खुलेपछि पार्टीले कसै न कसैको नाम पठाउँछ।

गत असार २९ गते गठित वर्तमान सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट ६–६ जना मन्त्री वाँडफाँट गरिएको छ। सत्ता गठबन्धनका पाँच दल मध्ये संयुक्त जनमोर्चा नेपाल भने सरकारमा सहभागी नहुने जनाइएको छ।गाेरखापत्रबाट

Logo